काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आइतबार बिहान ट्वीट गर्दै “गिरीको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ”, भन्नुभएको छ । राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा गहिरो समवेदना पनि प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भन्नुभएको छ, “नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।”
उहाँले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले दिवंगत नेता गिरीको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।
केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताउनुभएको छ ।
उहाँले सामाजिक सन्जालमा लेख्नुभएको छ, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।’
अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।
अध्यक्ष दाहालले आज एक शोक सन्देश जारी गर्दै नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं कांग्रेसका नेता गिरीको निधनले स्तब्ध बनाएको बताउनुभएको हो ।
उहाँले गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा ‘एक गहिरो अभाव’को अनुभूति गर्दै स्व गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
शनिबारमात्रै अध्यक्ष दाहालले उहाँ उपचाररत अस्पताल पुगेर पछिल्लो अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । नेता गिरीको शनिबार राति निधन भएको हो ।
रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा रहनभुएका पौडेलले शनिबार राति शोक वक्तव्य जारी गर्दै गिरीको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गर्नुभएको छ ।
समाजवादी चिन्तक गिरीको दर्शन, विचार सदैव अमर रहने जनाउँदै वरिष्ठ नेता पौडेलले गिरीको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
नेता गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको हो । प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका उहाँ लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपश्चात नेपाल फर्किनुभएको थियो । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका उहाँ गत ९ साउनमा मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो ।