नुवाकोट । जिल्लाको शिवपुरी गाउँपालिका ५ माथिल्लो घ्याङमा पहिरोले एक घर पूर्णरुपमा क्षति र १२ घर उच्च जोखिममा परेका छन् । बर्खा र साउन तेस्रो साताको भीषण वर्षापछि आँगे गहिरो-गाविस भवन र टोड्के भञ्ज्याङहुँदै पञ्चकन्या जोड्ने ग्रामिमण सडक भासिने र बस्तीमा धाँजा फटेपछि स्थानीय अर्जुनबहादुर लामा, टुकपेन लामा, समर लामा, लालबहादुर लामालगायतका घरहरु जोखिममा परेका हुन् ।
२०७२ सालको शक्तिशाली भूकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको घर फेरि पहिरोले भत्किएपछि स्थानीय अर्जुनबहादुर लामाको परिवार छिमेकीको शरणमा बस्नु परेको छ । लामा परिवारलाई गाँसबास समस्या रहेकोले तत्काल व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पहिरोस्थल पुग्नुभएका नेकपा माओवादी केन्द्र शिवपुरी ५ का अध्यक्ष विनोद तामाङले ग्लोबल मिडियालाई जानकारी दिनुभयो ।
माथिल्लो घ्याङको १२ घर बगेमा चिलाउने घ्याङमा २२ घर तामाङ बस्तीसमेत प्रभावित हुने जोखिममा रहेको अध्यक्ष तामाङले बताउनुभयो ।
पहिरोको जोखिमस्थलबारे जानकारी गराएपछि वडाध्यक्ष रेशमबहादुर तामाङ केही साताअघि निरीक्षणमा पुग्नुभएको थियो । तर, पहिरो रोकथामका लागि केही थान प्लास्टिक दिनुबाहेक पहलकदमी नगरेको भन्दै पीडितहरुले गुनासो गरेका छन् ।
स्थानीय नेता दावा छिरिङ लामाले भन्नुभयो, 'पहिरो नियन्त्रण र जोखिमपूर्ण घरको विषयमा वडाध्यक्ष रेशमबहादुर तामाङलाई जानकारी गराइसकेका हौं । उहाँले स्थलगत अनुगमन त गर्नुभयो तर विशेष चासो दिनुभएन । प्लास्टिकमात्र दिनुभयो । उहाँले किन पहल र जोडदिनु भएन हामी अलमलमा छौं । यहाँ जनता दिनरात्र त्रसित छन् ।'
उक्त सडकमा अहिले गाडी गुड्ने अवस्था छैन । ५ ठाउँमा क्षति पुगेको र त्यसले स्थानीयलाई जोखिममा पारेको लामाले ग्लोबल मिडियालाई बताउनुभयो । पहिरो र भूक्षय नियन्त्रणका लागि करोडौं बजेट लाग्ने अवस्था रहेको पनि उहाँको भनाइ छ ।
अध्यक्ष तामाङले विस्थापितको गाँसबास र जोखिमयुक्त बस्तीको अध्ययन गरी आवश्यक देखिएमा तत्काल स्थानान्तरण गर्न स्थानीय, प्रदेश र संघ सरकारको समेत ध्यानाकर्षण गराउनुभयो । नागरिक विपदले तड्पिरहँदा पनि स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समितिलगायत बेखर बनेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
शिवपुरी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा गोविन्द थपलिया र माओवादी केन्द्रबाट उपाध्यक्षमा वीरबहादुर तामाङ निर्वाचित हुनुभएको छ ।