चितवन । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकारकै पालाको नागरिकतासम्बन्धी अध्यादेशलाई नै विधेयकको रुपमा अगाडि बढाउँदा राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही पनि नभएको टिप्पणी गर्नुभएको छ ।
चितवन भरतपुरस्थित विमानस्थलमा बुधबार बिहान पत्रकारसँगको साक्षात्कार कार्यक्रममा प्रचण्डले अहिले अगाडि बढाइएको नागरिकता विधेयकको सार आमाबुबा दुवै नेपालका नागरिक भएका छोराछोरीले नागरिकता पाउने कुरामात्रै रहेकोले राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरु केही नभएको बताउनुभएको हो ।
'विल्कुल गलत ढंगले गलत उद्देश्यले प्रचार गरिएको छ । एउट त आमाबुबा दुवै नेपालका नागरिक भएका छोराछोरीले नागरिकता पाउने कुरामात्रै हो अहिलेको विधेयकको । सार तत्व भनेको त्यत्तिमात्रै हो,' उहाँको भनाइ छ, 'आमाबुबा दुइटै नेपाली छन् । उनका छोराछोरीले नागरिकता नपाएर झन्डै ६, ७ लाख मान्छेहरु सबै अवसरबाट बञ्चित हुने जो स्थिति भयो । त्यो स्थितिको अन्त्य गर्ने विधेयक हो । त्यसकारण यसलाई राष्ट्रघाती भन्नु नै पाखण्डबाहेक केही पनि हुँदैन ।'
प्रचण्डले केपी ओली गुटले आफू प्रधानमन्त्री हुँदा अघि सारेको अध्यादेशलाई नै विधेयकको रुपमा आफूहरुले ल्याउँदा विरोध गरिएकोमा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, 'यो त्यो विधेयक हो । जो केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशको रुपमा लगिएको थियो । यसकारण पनि ती मान्छेहरु जसले यही विधेयक अध्यादेशका रुपमा लग्या थे । यही विधेयक संसद्मा ल्याउँदा राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकता अरु केही पनि हुँदैन ।'
पहिले राज्य व्यवस्था समितिबाट ७ वर्षे वैवाहिक अंगीकृत नागरिकताको प्रावधान पारित भएर सदनमा लैजाऔं भन्दा नमान्ने केपी ओली र एमाले गुट नै भएको स्मरण गराउनुहुँदै प्रचण्डले यत्ति छर्लङ्ग विषयलाई जनतामाझ भ्रम दिन सकिन्छ, राष्ट्रवादको मुखुण्डो लगाएर भोट बटुल्न सकिन्छ भन्ठाने दुस्साहस भए पनि जनता सचेत भइसकेकाले यस्तो पाखण्डी प्रचारबाट कोही भ्रमित नहुने विश्वास व्यक्त गर्नुभयो ।