काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टी पुनर्गठन दिवस मनाएको छ ।
नयाँ बानेश्वर थापागाउँमा बिहीबार एक समारोह आयोजना गरी एकीकृत समाजवादीले पुनर्गठन दिवस मनाएको हो । कार्यक्रममा केही नेकपा एमालेको कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टी अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी भए तापनि आफूले गरेको कार्यको मूल्यांकन मापन र कमजोरी सुधार गर्ने भएकाले नेकपा एकीकृत समाजवादी पार्टी अगाडि बढेको बताउनुभयो । उहाँले स्थानीय तह चुनावमा नयाँ पार्टी भए पनि पोखरा, हेटौंडाजस्ता महानगरपालिकारउपमहागरपालिका पनि जित हासिल गर्न सफल हुनु महत्वपूर्ण भएको बताउनुभयो । तर गठबन्धनमा रहेका दलहरुले इमान्दारिताका साथ सहयोग नगर्दा र मत रद्द भएको कारण कम सिट प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले एकल महिला, अपाङ्ग, वृद्धहरुलाई उपलब्ध हुँदै आएको भत्ताको पहल आफूबाट भए तापनि प्रचार भने नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ुकाम गरेर मात्र होइन, कामको प्रचार गर्न पनि जन्नु पर्ने रहेछ । उहाँले आउँदो चुनावमा आफ्नो पार्टी साथ दिन आह्वानसमेत गर्नुभयो ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको भरोसा गरेर अगाडि बढ्न खोज्दा पार्टीको विकास नभएको बताउनुभयो । खनालले गएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमाथि भरोसा गर्दा आफूहरूको बिल्लीबाठ भएको बताउनुभयो । गएको निर्वाचनमा पार्टीले आफ्नो स्वतन्त्र नीति लिएर अगाडि बढ्न नसक्दा सोचेजस्तो विजयी हासिल गर्न नसकेको उहाँको भनाइ छ ।
एमालेसँग असन्तुष्ट नेपाल समूहले आजकै दिन गत वर्ष पार्टी पुनर्गठन गरेको थियो ।