सिन्धुपाल्चोक । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु, हेल्पिङ्ग ह्यान्ड्स जापान, सिन्धुपाल्चोक समाज जापानलगायत विभिन्न संघ संस्थाहरुले सिन्धुपाल्चोक बाढीपीडितलाई सहयोग हस्तान्तरण गरेका छन् ।
ती संघसंस्था तथा व्यक्तिले संकलन गरी पठाएको रकम असार १ गतेको मेलम्ची बाढीले बेपत्ता हेलम्बु गाउँपालिका वडा नं २, का गणेश जोतीका परिवारलाई ३१ हजार ३ सय ५५ हस्तान्तरण गरिएको हो । गणेशका श्रीमती, दुई छोरी, एक छोरा र आमा छन् ।
मेलम्चीघ्याङ माविमा कक्षा दशमा अध्ययनरत गणेशका छोरी सुमित्राले भनिन्, ‘अनलाइन कक्षा सुरु गर्ने भनिएको छ, नेट चल्ने मोबाइल नहुँदा कक्षा लिन सक्ने अवस्था थिएन । यो रुपियाँले मोबाइल किनेर अनलाइन कक्षा लिन्छु ।’
बाढीमा परी बेपत्ता परेकाहरुलाई मृतककै रुपमा लिइएको छ । मृतकका प्रत्येक परिवारमा ३१ हजार ३ सय ५५ रुपैयाँ उपलब्ध गराउने निर्णय अनुसार शनिबार ज्ञानेन्द कक्षपतीका छोरा उपेन्द्र र टिकामाया खड्काकी बुहारी मैयाका साथै गणेश जोतीकी श्रीमती कान्छीलाई रकम हस्तान्तरण गरिएको स्थानीय संयोजक बुद्धिकृष्ण लामिछानेले जानकारी दिए ।
मंगलबार मेलम्ची नगरपालिका वडा नं. ११ को वडा कार्यालयमा गीता थापा, सुदीप थापा र धर्म दुलालको परिवारलाई रकम प्रदान गरियो । सहयोग रकम प्रदान गर्दै वडाध्यक्ष रुद्र दुलालले सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । वडाध्यक्ष दुलाले रेडियो मेलम्चीलाई रु. २५ हजार रकम हस्तान्तरण गर्नुभयो । मंगलबार नै भूमेश्वरी मावि, किउलमा अन्य परिवारका सदस्यलाई रकम हस्तान्तरण गरिएको छ । चौतारा साँगाचोकगढीका सुरेन्द्र नेपालको परिवारलाई नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
एनआरएनए, क्युसु, सिन्धुपाल्चोक समाज–जापान, हेल्पिङ ह्यान्ड्स जापान, फुकुओका नेपाल सोसाइटी, नेपाल–जापान फ्रेन्डशिप लायन्स क्लब, तामाङ समाज क्युसु लगायतको सक्रियतामा रकम संकलन गरिएको हो । यस कार्यमा क्युसु क्षेत्रीय कार्यसमितिका निवर्तमान महिला उपसंयोजक हेमा पाण्डे (सपना), कोषाध्यक्ष केशवकुमार लामिछाने, नेफिन क्युसु महिला उपाध्यक्ष नानीमैया तामाङ, विकास श्रेष्ठ, हेल्पिङ ह्यान्ड जापानका केपी ओली, वेसलेयान युनिभर्सिटीका विद्यार्थी विष्णु रोकायाको विशेष सक्रियता रह्यो ।
आर्थिक संकलन कार्यलाई प्रभावकारी बनाउन एनआरएन जापानका केन्द्रीय सदस्य रामकृष्ण श्रेष्ठ, तामाङ समाज क्युसु, यामातो ग्रुप, एनआरएनए क्युसुका निवर्तमान संयोजक देवराज उप्रेती, नेपाल–जापान फ्रेन्डसिप लायन्स क्लब, फुकुओका नेपाल सोसाइटी, सिन्धुपाल्चोक समाज–जापानका अध्यक्ष रामकृष्ण भण्डारी, विवेक बुढाथोकी, भीम गुरुङ, राज पुरी, जनक बञ्जरा लगायतको सक्रियता रहेको एनआरएन क्युसु क्षेत्रीय कमिटी संयोजक अर्जुन थापा र सचिव कृष्णहरि पाठकले जानकारी दिए ।
जापानका विभिन्न भूभाग टोकियो, नागासाकी, नागोया, सागा, सिजुओकाका नेपालीहरुले बाढी प्रभावितहरुका लागि आर्थिक सहयोग गरिएको थियो ।