सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा दुईदिने धर्म देशना (प्रवचन) कार्यक्रम सम्पन्न भएको छ ।
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा यही भदौ ११ शनिबार र १२ गते आइतबार प्रवचन कार्यक्रम भएको हो । धर्म देशनाको समापन समारोहलाई सम्बोधन गर्दै नाप्टा रिम्पोछेले मानव जीवन कर्म, हेतु र फलमा आधारित रहेको बताउनुभयो । उहाँले बौद्ध धर्म दर्शनको अभ्यास, चिन्तन मनन गर्नुपर्ने र त्यसपछि व्यवहारमा लागू गरी सम्पूर्ण प्राणी जगतको कल्याणको आफ्नो समय खर्चिनुपर्ने बताउनुभएको थियो । उहाँको आशीर्वचनलाई खेन्पो ङ्वाङ लेन्डुपले अनुवाद गर्नुभएको थियो ।
यस्तै गुम्बाका अध्यक्ष नुर्बु ठिले शेर्पाले गुम्बामा धार्मिक प्रवचन हुँदै आएको तर सरकारीस्तरबाट यस भेगमा पहिलो पटक भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले स्थानीय समुदाय स्वयं धर्मका लागि समर्पित हुनुपर्ने बताउँदै यो कार्यक्रम प्रभावकारी भएको बताउनुभएको थियो ।
कार्यक्रममा वडा नं ३ का अध्यक्ष नुरु जाङ्बु शेर्पा, गुम्बाका अध्यक्ष नुर्बु ठिले शेर्पा, समितिको सदस्य पासाङ नुरु शेर्पा, प्रवचक खेन्पो ङ्वाङ लेन्डुप ढपेमा छोलिङ बौद्ध विद्यालयका प्रधानाध्यापक, आचार्य नुर्बु शेर्पा, तेख्वाङ्वा गुम्बाका अध्यक्ष पासाङ सोनाम शेर्पा,चौरीखर्क मध्यवर्ती क्षेत्रका अध्यक्ष आङ नुरु शेर्पा, खेन्पो मिङमार गेलु, लोपेन कार्साङ नुर्बु, लोपेन ङ्वाङ ग्याजो, उज्जे छ्योलिङ गुम्बाका प्रमुख लामा ङ्वाङ दोर्जे शेर्पाले मन्तव्यमा बौद्ध दर्शनलाई अनुशरण गर्नु मानव सृष्टिका लागि जीवन्त हुने बताउनुभएको थियो ।
प्रवचनमा स्थानीय गुम्बाका प्रमुख लामा, अन्य लामा धर्म गुरुहरू, स्थानीय जनसमुदायसहित २ सयभन्दा बढी सहभागी थिए । समापन समारोहमा रिम्जुङ र टकटोक टोल विकास समितिका कलाकारहरूबाट मौलिक भेषभुषामा सजिएर मौलिक गीतमा शेर्पा नृत्य प्रस्तुत भएको थियो ।
यसैगरी समितिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले धन्यवादसहित कार्यक्रम समापन गर्नुभएको थियो । उहाँले यस क्रममा मानव मन नै सबै कुराको जड रहेको भन्दै बौद्ध दर्शनको अन्तर्यलाई अनुशरण गरी समस्त प्राणी जगतको हितार्थ अग्रसर रहनुपर्ने बताउनुभयो ।