ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको निर्वाचन क्षेत्र १ अरु दललाई दिने कुरा नभएको बताउनुभएको छ ।
आफ्नो निवास खुमलटारमा मंगलबार बिहान पुगेका नुवाकोटका केन्द्रीय तथा प्रदेशस्तरका नेताहरुलाई आश्वस्त तुल्याउँदै प्रचण्डले वाग्मती प्रदेशका बलियो (राम्रो) निर्वाचन क्षेत्रहरुमध्येका नुवाकोट १ छाड्ने कुरा आफूले नगरेको बताउनुभएको हो । 'हामी समसामयिक विषय छलफलका लागि अध्यक्ष प्रचण्डकहाँ गएका थियौं । साथीहरुले आफ्ना कुरा र म निर्वाचित भएको क्षेत्र नम्बर १ छाड्न नहुने कुरा पनि उठाउनुभयो,' प्रचण्डको भनाइ उद्धृत गर्दै संघीय सांसद हितबहादुर तामाङले ग्लोबल मिडियासँग भन्नुभयो, 'भेटघाटमा प्रकाशशरण महतजीले त्यो इच्छा जाहेर गर्नुभएको हो । तर हामीले जितेको ठाउँ, तुलनात्मक प्रदेशभित्र राम्रो निर्वाचन क्षेत्र । हुन्छ, भन्ने कुरा हुँदैनथ्यो । जिल्ला पार्टी, नेताहरु, हितबहादुरजीसँग कुरा भइरहेको छ । दिन्छु भन्ने कुरा भएन । दिन्छ भनेर सोच्न सक्ने कुरा पनि होइन ।'
नुवाकोट १ मा प्रकाशशरण महतले निर्वाचन टिकट लाँदैछ भन्ने हल्ला चलेको बेला नुवाकोटका नेताहरुले सत्ता गठबन्धन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेर यथार्थ बुझ्ने र आफ्नो निर्वाचित क्षेत्रहरु कायम राख्न आग्रह गरेका हुन् । केही दिनअघि प्रचण्डलाई भेट्न पुगेका महतलाई सल्लाह गरौंला भनेर फर्काउनुभएको थियो ।
प्रचण्डले नुवाकोट निर्वाचन क्षेत्र १ का विषयमा जिल्ला पार्टी र यसअघि जितेको नाताले पनि आफूसँग सल्लाह नगरी निर्णय नलिई नबोल्ने बताएको सांसद तामाङले प्रस्ट पार्नुभयो । आउँदो मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्र सिट बाँटफाँटको गृहकार्य भइरहेको छ । दलहरुबीच आआफ्नै दाबीले भागबन्डा मिलेको छैन । यद्यपि नुवाकोटमा संघतर्फ दुई निर्वाचन क्षेत्रमा १/१ वटा कांग्रेस र माओवादी केन्द्रबीच बाँडफाँट हुने देखिन्छ । अन्य दलको प्रभाव नरहेकोले प्रदेशतर्फ पनि ती पार्टीहरुले दुई/दुई क्षेत्र लिने देखिएको छ । माओवादीबाट वाग्मती प्रदेशसभाको उपसभामुखको जिम्मेवारीमा रहनुभएका राधिका तामाङ र प्रदेश सांसद हिरानाथ खतिवडाले दोहोरिने संकेत दिइसक्नु भएको छ ।
२०७४ को निर्वाचनमा नेकपा एमाले-माओवादी केन्द्र गठबन्धन हुँदा निर्वाचन क्षेत्र १ मा माओवादीका हितबहादुर तामाङ र क्षेत्र २ मा एमालेका नारायणप्रसाद खतिवडाले जित हात पार्नुभएको थियो । प्रदेशतर्फ १ 'क' राधिका तामाङ, १ 'ख' बद्रीप्रसाद मैनाली तथा २ 'क' हिरानाथ खतिवडा र २ 'ख' केशवप्रसाद पाण्डे विजयी हुनुभएको थियो ।
एकीकृत नेकपा माओवादी केन्द्रका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनपछि जिल्लामा सिनियर नेता तामाङले पछिल्ला वर्ष आफ्नो निर्वाचन क्षेत्रसहित जिल्लामा पार्टीलाई बलियो बनाउन भूमिका खेलेको उहाँ निकटस्थहरुको भनाइ छ । क्षेत्र नम्बर १ मा रहेका ७ पालिकामध्ये अघिल्लो स्थानीय तह निर्वाचनमा पञ्चकन्या र ककनी गाउँपालिकामात्रै प्रमुख जितेको माओवादीले यसपटक दुप्चेश्वर थप गरेको छ । ती पालिकाहरुमध्ये ५ जना उपाध्यक्ष माओवादी केन्द्रबाट जितेका छन् । ४५ वटा वडामध्ये १८ कांग्रेस र १८ माओवादीले जित्दा ७ वडा मात्रै एमालेले जित हात पारेको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा जनताले आफूलाई चुनावमा प्रतिस्पर्धा नगराइ नछाड्ने र आफू पनि जिल्लाको विकास र प्रतिबद्धता पूरा गर्न पुन: प्रत्यक्षमा चुनाव लड्ने योजनामा रहेको सांसद तामाङले जानकारी दिनुभयो । जिल्लामा निर्वाचन लड्ने वातावारण मिलाउन पहल गरिदिने विषयमा भदौ ९ गते कांग्रेस प्रवक्तासमेत रहेका महतले सांसद तामाङसँग भेट गर्नुभएको थियो । 'म नुवाकोटबाट चुनाव लड्न चाहन्छु । वातावरण बनाउन पर्यो,' सांसद तामाङसँग नेता महतले भन्नुभएको थियो । सांसद तामाङले 'त्यसरी सम्भवै छैन, डाक्टर साव ! कथंकदाचित मैले छोड्न खोजे पनि जनताले छाड्दैनन्' भन्ने जवाफ महतलाई दिनुभएको थियो ।
नुवाकोटमा संघमा माओवादी नेताहरुबीच खासै टिकटको लुछाचुँडी नहुने देखिन्छ । तर, कांग्रेसमा रामशरण महत, प्रकाशरण महतबीच नै क्षेत्र नम्बर १ मा टिकटका विषयमा तँछाडमछाड हुनेछ भने क्षेत्र नम्बर दुईमा अर्जुननरसिंह केसी, जगदीशनरसिंह केसी र संस्थापनइतरका बहादुरसिंह लामाले समेत टिकटका लागि दाबी गर्नुहुने कांग्रेसकै नेताहरुले बताएका छन् ।
प्रचण्डलाई भेट्न सांसद तामाङ, संविधानसभा सदस्य तथा माओवादी केन्द्र नुवाकोट इञ्चार्ज विमला सुवेदी, वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ, प्रदेश सांसद हिरानाथ खतिवडा, माओवादी केन्द्र वाग्मती प्रदेशका उपाध्यक्ष रामप्रसाद ढुंगाना, नुवाकोट संयोजक पुष्प लामिछाने र युवा नेता डीबी तामाङ खुमलटार पुग्नुभएको थियो ।