काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले चरम लोडसेडिङ व्यहोरेको नेपालीले विद्युतीय सवारीसाधन चलाउने अवस्थामा पुग्नु क्रान्तिकारी सुरुवात भएको बताउनु भएको छ । मंगलबार नेपाल विद्युत प्राधिकरण परिसर रत्नपार्कमा चार्जिङ स्टेशन उद्घाटन गर्दै चार्जिङ स्टेशन र इन्डक्सन चुल्होको प्रयोग गर्ने अवस्थामा पुग्नुलाई ‘क्रान्तिकारी कदम’ को सङ्ज्ञा दिनुभएको हो ।
उहाँले कुनै बेला चर्को लोडसेडिङ भोगेका नेपालीका लागि उहाँले भन्नुभयो, “हिजो हामी चरम लोडसेडिङमा थियौँ । बिजुलीको एक झल्को पाउनु पनि हाम्रा लागि ठूलो कुरा थियो । आज हामी बिजुली बिक्री गरिरहेका छौँ भने विद्युतीय सवारीसाधनसमेत चलाउने अवस्थामा पुगेका छौं । यो आफैँमा क्रान्तिकारी सुरुआत हो ।”
उहाँले लोडसेडिङको अन्त्यदेखि बिजुली निर्यातको अवस्थासम्म पुग्नु आफैँमा महत्वपूर्ण उपलब्धि भएको भन्दै यसलाई थप विस्तार गर्दै लैजाने योजनामा मन्त्रालय रहेको बताउनुभयो । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री भुसालले सरकारले विद्युतीय सवारीसाधन मात्रै खरिद गर्ने निर्णय गरेको र त्यसमा निजी क्षेत्रले समेत साथ र सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पेट्रोलियम पदार्थको खरिदका लागि मात्रै वार्षिक रु तीन खर्ब बराबरको रकम विदेशिने गरेको भन्दै त्यसलाई रोक्न पनि विद्युतीय सवारीसाधनको उपयोग र स्वदेशी बिजुलीको खपत नै उत्तम विकल्प भएको बताउनुभयो ।
मंगलबारबाट सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । देशभर यस्ता ५१ वटा स्टेसन बनिरहेको र एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च लाग्ने प्रबन्ध निर्देशक घिसिङले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय कार चार्ज गर्दा औसतमा प्रतिकिलोमिटर ७० पैसा बराबरको खर्च लाग्ने बताएको छ । एसयूभी लागि ८० पैसा, माइक्रोबसका लागि ९० पैसा र ठूला बसले एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर बराबर खर्च लाग्ने प्राधिकरणले जनाएको छ ।