काठमाडौं । नेकपा एमाले पाँचथरबाट प्रतिनिधिसभा सदस्य रहनुभएका वसन्तकुमार नेम्वाङ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राँके–रवि–भेडेटार’ सडकखण्डको शिलान्यास गर्नुभएको साढे १० महिनापछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्नुभएको थियो । तेस्रो पटक सांसद हुँदा मन्त्री बन्ने मौका पाउनुभएका नेम्वाङ ओलीले सडक शिलान्यास गर्ने कार्यक्रमको सञ्चालक हुनुहुन्थ्यो, रविमा । शिलान्यास भएको २१ पुस २०७५ मा हो । नेम्वाङसामु ‘पोडियम’मा उभिएर त्यसबेलै ओलीले भन्नुभएको थियो, ‘यो सडक तीन वर्षमा बनिसक्छ ।’
ओलीले सोही सडकसमेत निर्माण गराउने भौतिक मन्त्रालयको जिम्मेवारी रघुवीर महासेठबाट खोसेर ६ मङ्सिर २०७६ मा नेम्वाङलाई दिनुभएको थियो ।
नेम्वाङ लगातार २८ असार २०७८ सम्म (करिब २० महिना) मन्त्री हुनुभयो । तर, उहाँले राँके–रवि–भेडेटार सडक निर्माण गराउन सक्नुभएन । उक्त सडकको हकमा दुई पटक स्थलगत अनुमगन गरी निर्देशन दिँदा कार्यकाल बित्यो । उहाँले पहिलो पटक २६ पुस २०७६ र दोस्रो पटक ७ मङ्सिर २०७७ मा राँके–रवि–भेडेटार सडकको अनुमगन गर्नुभएको थियो । यद्यपि, ठेकेदार कम्पनी एफ्को इन्फ्राको प्रा.लि.ले नेम्वाङको निर्देशनलाई टेरेन । अर्थात् नेम्वाङले ठेकेदार कम्पनीलाई काम गराउन सक्नुभएन ।
सडक निर्माण सम्पन्न गर्नुपर्ने अवधि तीन वर्ष हो । ओलीले २१ पुसमा २०७५ मा शिलान्यास गर्नुभएको हुँदा सम्पन्न हुनुपर्ने मिति २१ पुस २०७८ मा हो । तर, नेम्वाङ २८ असार २०७८ सम्म मन्त्री हुँदा सडकको भौतिक र वित्तीय प्रगति २० प्रतिशत पुगेन । जबकि तीन वर्षे अवधि हुँदाले उक्त अवधिसम्म कम्तीमा ८० प्रतिशत प्रगति हुनुपर्ने थियो ।
काम नगरेपछि नेम्वाङले त्यसबेलै ठेका रद्द गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लान सक्नुहुन्थ्यो । प्रस्ताव पास हुने सम्भावना पनि थियो । किनभने ओली नेतृत्वमा तत्कालीन नेकपाको एकल सरकार थियो । फेरि, नेम्वाङ ओलीका ‘किचन क्याबिनेट’का सदस्य हुनुहुन्थ्यो । तर, ठेक्का रद्दसम्बन्धी प्रस्ताव नेम्वाङले लानुभएन । सोही कारण काम नगर्ने ठेकेदार कम्पनीको मनोबल अझै बढ्यो । अहिलेसम्म सडक निर्माणको कामले गति लिएको छैन । सडकको हालत हिलाम्मे छ । हिउँदमा धुलाम्मे हुन्छ ।
पाँचथर र इलामको सीमावर्ती क्षेत्रवासीले प्रधानमन्त्री ओलीले शिलान्यास गर्नु र उक्त सडकको समेत विभागीय मन्त्रालयलाई नेम्वाङले सम्हाल्दा समयमै सडक निर्माण कार्य हुने अपेक्षा गरेका थिए । यद्यपि, अपेक्षा पूरा गराएनन् ।
अब ४ मङ्सिरमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव एकैपटक हुँदैछ । पाँचथरबाट एमालेको उम्मेदवार नेम्वाङ नै हुने सम्भावना बढी छ । किनभने उहाँ पाँचथरमा एमालेका सर्वाधिक बलिया दाबेदार हुनुहुन्छ । नातामा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका भाइ । यी कारणले पनि सम्भावित उम्मेदवार उहाँ पछिल्ला समय चुनावकेन्द्रित भएर बोल्न थाल्नुभएको छ ।
आफैं मन्त्री हुँदा भौतिक र वित्तीय प्रगति खासै नभएको फिदिम रङ्गशाला निर्माणबारे १ भदौमा प्रतिनिधिसभा बैठकमा चर्कोगरी भाषण ठोक्नुभयो । यसबाट के प्रष्टिन्छ भने नेम्वाङ मन्त्री हुँदा देखिनेगरी विकासको नेतृत्व नगर्ने तर मन्त्री पद खुस्केपछि मतदाताको आँखाको छारो हाल्ने प्रयासमा हुनुहुन्छ । उहाँले चुनावी एजेन्डा नै बनाउने सम्भावना छ, ‘राँके–रवि–भेडेटार’ सडक आयोजना । तमोर नदीस्थित लुबु घाटमा वर्षौंदेखि अलपत्र मोटरेबल पुल निर्माण सम्पन्न गराउने अर्को चुनावी एजेण्डा पनि नेम्वाङले बनाउनु सक्नुहुन्छ ।
तर, मन्त्री हुँदा प्रभावकारी र मतदाताले अनुभूत हुनेगरी काम गराउन नसकेकै कारण यदि ती एजेन्डाहरू उठान गरे भने पनि मत प्रभावित गर्ने नेम्वाङ प्रयासको रुपमा पाँचथरवासीले बुझ्ने निश्चित छ ।