सिन्धुली । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा सिन्धुलीका इन्चार्ज राजन दाहालले केही व्यक्ति पार्टी छाडेर जाँदैमा कुनै फरक नपर्ने बताउनुभएको छ । बुधबार नेकपा एमालेले आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य मिथिला फुयाल, जिल्ला संयोजक रामकुमार पौडेल र मरिण गाउँपालिकाका निर्वतमान अध्यक्ष गोपाल बुढाथोकीलगायतका नेता तथा कार्यकर्ताले माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।
केन्द्रीय सदस्य फुयाल बाहेकका दुई नेतालाई भने वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमै माओवादी केन्द्र सिन्धुलीले कारबाही गरिसकेको इन्चार्ज दाहालले बताउनुभयो । उहाँका अनुसार निर्वाचनको समयमा पार्टीलाई असहयोग गरेको र पार्टी विपरीतको गतिविधि गरेको भन्दै बुधबार एमालेमा प्रवेश गर्ने नेताहरूलाई कारबाही गरिएको बताउनुभयो ।
“एमालले टिकट दिन्छु भन्ने जस्ता प्रलोभन देखाएपछि जानु भएको हो, त्यो उहाँहरूको विद्रोह होइन, विचलन हो,' इन्चार्ज दाहालले भन्नुभयो, “पार्टीले पहिला नै कारबाही गरिसकेको छ, विचारमा, संगठनको कार्यविभाजन, भूमिकामा असहमति राखेर जानुभएको भए फरक कुरा हुन्थ्यो तर जिल्ला संयोजक अनि स्थानीय निर्वाचनमा एमालेलाई भोट माग्ने साथीहरू जानुभएको छ यसमा पार्टीको कुनै पनि आपत्ति छैन ।”
प्रतिगामी, वर्तमान व्यवस्थालाई अस्वीकार गर्ने पार्टी एमाले भएको भन्नुहुँदै इन्चार्ज दाहालले भन्नुभयो, 'गम्भीर वैचारिक विचलन, कामै नलाग्ने व्यक्ति जाने ठाउँ भनेकै एमाले हो ।' मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समस्या पार्ला नि भन्ने प्रश्नमा इन्चार्ज दाहालले पार्टीमा बेलाबेलामा शुद्धिकरण हुन जरुरत भएको बताउनुभयो । जिल्लाका केही व्यक्तिले पार्टी परित्याग गर्दा निर्वाचन प्रक्रिया र परिणाममा झन् गति पैदा गर्ने उहाँको दाबी छ ।