गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आज बिहीबारदेखि गण्डकी प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदैछन् ।
गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो । छनोट प्रतियोगिता पोखरा रङ्गशालामा हुन लागेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा ११ जिल्लाका महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र व्यवस्थापक सहभागी हुँदैछन् । प्रादेशिक छनोटपछि प्रदेशको टोलीलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ ।
सदस्य सचिव गुरुङका अनुसार जिल्ला छनोटमा पाँच हजार ६७७ खेलाडी सहभागी भएका थिए । प्रत्येक खेलमा एउटा प्रशिक्षक र एउटा व्यवस्थापक राखिएको छ । प्रादेशिक छनोटमा कास्कीले ३५ वटै खेलमा सहभागिता जनाउने भएको छ भने मनाङले पाँच खेलमा मात्र प्रतिस्पर्धा गर्नेभएको छ । यही भदौ ८ देखी १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट प्रादेशिक प्रतियोगिताका लागि खेलाडी छानिएका हुन् । प्रदेश स्तरीय प्रतियोगितका लागि खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कास्कीबाट छ सय ७३, मुस्ताङबाट एक सय ६६, म्याग्दीबाट दुई सय ८३, बागलुङबाट तीन सय ६१, पर्वतबाट दुई सय २३, स्याङ्जाबाट तीन सय ४७ र तनहुँबाट तीन सय तीन खेलाडी छनोट भएका छन् ।
यसैगरी लमजुङबाट दुई सय १३, गोरखाबाट दुई सय ३०, मनाङबाट ४६ र नवलपुरबाट तीन सय ७८ खेलाडी छनोट भएका छन् । गण्डकीले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ वटै खेलमा सहभागिता जनाउने भएको छ । नवौँ राष्ट्रियमा गण्डकीबाट सात सय नौ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा चार सय चार स्पर्धामा चार सय ११ पुरुष र दुई सय ९८ महिला सहभागी हुन लागेको परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिनुभयो । “जिल्ला, प्रदेश छनोट र बन्द प्रशिक्षणसम्म कूल रु सात करोड ८५ लाख खर्च हुने अनुमान छ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद्ले यही भदौको २५ गतेभित्रमा सवै प्रदेशलाई खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नाम दर्ता गर्न समयसीमा तोकेको छ । नवौँ राष्ट्रिय खेलकुदमा तीन विभागीय, सात प्रदेश र एनआरएनएका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र ६०० कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
बैतडीबाट प्रदेशका लागि १५६ खेलाडी छनौट
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सुदूरपश्चिम स्तरीय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट एक सय ५६ खेलाडी छनौट भएका छन् । छनौट भएका खेलाडीले प्रदेशमा १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार यही भदौ १० देखि १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशका लागि खेलाडी छनौट भएका हुन् । क्रिकेट(महिला/पुरुष), तेक्वान्दो(महिला/पुरुष), टेबल टेनिस (महिला/पुरुष), बुद्धिचाल, भारत्तोलन (पुरुष), कराते, तेक्वान्दो (महिला/पुरुष), भलिबल (महिला/पुरुष), कबड्डी(महिला/पुरुष), एथ्लेटिक्स (महिला/पुरुष), फुटबल, बक्सिङ (पुरुष)लगायतका खेलका खेलाडी छनौट भएका हुन् ।
छनौट प्रतियोगितामा सहभागी हुन खेलाडीका लागि आवेदन आह्वान गरिएको थियो । छनौट प्रतियोगितामा तीन सय २९ खेलाडी सहभागी रहेको जोशीले बताउनुभयो । यसैबीच प्रदेश स्तरीय पुरुष क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि धनगढीमा सुरु भइसकेको छ भने अन्य प्रदेशस्तरीय छनौट प्रतियोगिता केही दिनमा सञ्चालन हुने बताइएको छ । प्रदेशमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छानिने छन् ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने तय भएको छ ।