काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र निर्वाचनका लागि सिट बाँडफाँटमात्रै नभई संघ र प्रदेशका क्षेत्र टुंग्याउने विषयमा छलफल भइरहेको जानकारी दिनुभएको छ ।
निर्वाचन केन्द्रित पार्टीको कार्यक्रमका लागि सम्बोधन गर्न शुक्रबार बिहान सुर्खेत पुग्नुभएका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै सन्तुलित ढंगले सिट र क्षेत्र बाँडफाँटमा गठबन्धनमा छलफल केन्द्रित रहेको जानकारी दिनुभएको हो । 'संख्यामात्रै टुंग्याउने भन्दा पनि कुन-कुन प्रदेश र कुन-कुन क्षेत्र भन्ने टुंग्याउनका लागि हामीले हिजो (बिहीबार) रातिसम्म बसेका हौं,' उहाँले भन्नुभयो, 'गठबन्धनभित्र कुनै त्यस्तो असहमतिको स्थिति छैन । खाली यसलाई प्रभावकारी कसरी बनाउने भन्नेतिर नै छलफल केन्द्रित छ ।'
कर्णालीको कार्यक्रम सकेर गठबन्धनकै बैठकमा जानेर विषयलाई टुंग्याउनेतिर लाग्ने उहाँको भनाइ थियो । 'आज हामी कार्यक्रमलाई सम्बोधन गर्ने काम सकिएपछि फर्किएर बाँकी काम सकाउनेतिर हामी लाग्छौं,' उहाँले भन्नुभयो । सिट बाँडफाँटबारे गठबन्धन कार्यदलसहित शीर्ष नेताहरुको बैठक बिहीबार ८ घण्टाभन्दा बढी चलेको थियो ।
कुन दलले कति सिट लिने भन्दा पनि जुनसुकै दलको प्रभाव क्षेत्रमा सन्तुलित ढंगले क्षेत्र विभाजनको गृहकार्य भइरहेको पनि प्रचण्डले बताउनुभयो । 'संघतर्फका १६५ र प्रदेशतर्फका ३३० निर्वाचन क्षेत्रमा सन्तुलन मिलाउने । दलगत प्रभाव र एक्लै जित्ने ठाउँ भए पनि प्रदेशमा समायोजन गरेर परिणाम कसरी राम्रो ल्याउन सक्छौं भन्नेमा पनि हाम्रो जोड छ,' उहाँले भन्नुभयो ।
आउँदो मंसिर ४ गतेका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा आबद्ध पाँच दलीय गठबन्धन तालमेलसहित चुनावमा जाने तयारीमा रहेका छन् । दलहरुले १६५ निर्वाचन क्षेत्रमा आ-आफ्नै दाबी राखेपछि भागबन्डा मिल्न सकेको छैन ।