चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट देशैभरी विकास र समृद्धिको नयाँ सन्देश दिने आफ्नो संकल्प रहेको बताउनुभएको छ ।
भरतपुरमा शनिबार बिहान नेपाल विद्युत प्राधिकरणद्वारा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शिलान्यास समारोहमा प्रचण्डले विकास र समृद्धि अगाडि बढाउने कुरालाई, चितवन जिल्ला, भरत महानगरपालिका समग्रमा मोडेलको रुपमा विकास गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो, 'यहाँबाट देशभरी नै विकास र समृद्धिको एउटा नयाँ सन्देश दिने मेरो संकल्प छ । यो संकल्पलाई चितवनवासी दाजुभाइ, दिदीबहिनीहरुको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्न चाहन्छु ।'
मुलुकमा संविधान जारी भइसकेपछि आफूहरुको ध्यान विकास र समृद्धिमा केन्द्रित रहेको उहाँले बताउनुभयो । 'हामीले राष्ट्र निर्माणको सन्दर्भमा राजनीतिक उतारचढाहरुको बीचबाट संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेपछि स्थायित्व र मुख्य त विकास र समृद्धितिर नै ध्यान छ । सिंगै राष्ट्रको निम्ति त्यो आवश्यक छ,' उहाँले अगाडि भन्नुभयो, 'चितवनको विकास खाली चितवनको निम्तिमात्रै होइन । देशको मध्यभागमा रहेको चितवन जिल्लाको गति त्यसको तीव्रता, त्यसले हासिल गर्ने उचाईको सन्देश देशभरि सबभन्दा प्रभावकारी ढंगले प्रसारित हुने गर्दछ ।'
विकास, सुरक्षा र समृद्धिको महान् यात्रा चितवन भरतपुर महानगरमा सुरु भएको दाबी गर्नुहुँदै अध्यक्ष प्रचण्डले त्यसलाई जनताले राम्रै महसुस गरेको तथ्य पनि गएको स्थानीय तहको निर्वाचनमा जनताले प्रमाणित गरेर देखाएको उल्लेख गर्नुभयो । आउने प्रदेश र संघको निर्वाचनमा पनि विकास र समृद्धि अगाडि बढाउने शक्तिलाई चितवन जिल्ला, भरत महानगरपालिकाले सहयोग गर्ने उहाँको विश्वास थियो ।