नुवाकोट । नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य हितबहादुर तामाङ सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ ।
क्षेत्रीय कमिटीको आइतबार अबेर सम्पन्न बैठकले निर्वाचन क्षेत्र १ मा सांसद हितबहादुर तामाङलाई प्रत्यक्षतर्फ पुन: उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको क्षेत्रीय ईञ्चार्ज तथा पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले ग्लोबल मिडियालाई जानकारी दिनुभयो । तामाङ २०७४ मा नेपाली कांग्रेसका उम्मेदवार डा रामशरण महतलाई पराजित गरेर निर्वाचित हुनुभएको थियो ।
यस्तै संघ समानुपातिकतर्फ शिव खाती, बिमला सुवेदी र गमला श्रेष्ठ सिफारिस हुनुभएको जिल्ला संयोजक पुष्प लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार आकांक्षी धेरै भएकोले समानुपातिकतर्फको नाम थपघट हुन सक्नेछ ।
१ (क) प्रदेशसभा सदस्यको प्रत्यक्षकतर्फ वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ सर्वसम्मत र १ (ख) मा माओवादी केन्द्र जिल्ला संयोजक पुष्प लामिछाने सिफारिस हुनुभएको छ ।
१ (क) को समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट एलिशा थापा, रत्न बिक, लालबहादुर तामाङ, कृष्णबहादुर तामाङ, प्रमोदलाल श्रेष्ठ, पदमबहाहदुर तामाङ र पार्वती पण्डितसहित ६ जना सिफारिस हुनुभएको छ ।
१ ख को समानुपातिकतर्फ सुवास तामाङ, रामहरि श्रेष्ठलगायत ८ जना सिफारिस हुनुभएको छ ।