काठमाडौं,रासस । लाइसेन्स छाप्ने ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्स चेन्नइ इन्डियाले सम्झौताअनुसार काम नगर्दा समस्या उत्पन्न भएको छ । सम्झौताअनुसार काम नभएपछि यातायात व्यवस्था विभागले पटक–पटक ताकेता गरेको भए पनि उक्त कम्पनीले ताकेताको बेवास्ता गर्ने गरेको विभागको आरोप छ । विभागका अनुसार हाल उक्त कम्पनीले सफ्टवेयरको छ वटा काम पुरा गर्न नसकेको जनाएको छ । सम्झौताअनुसार काम नगर्दा जनताले दैनिक सास्ती भोग्दै आएको विभागको दाबी छ ।
विभागका कारण उक्त कम्पनीले ९० प्रतिशत अर्थात् ७० करोड भुक्तानी लिई सकेको भए पनि प्रतिवद्धताअनुसार काम गर्न छाडेको छ । विभागका कम्प्युटर इन्जिनियर सुरजप्रशाद अर्यालद्धारा मद्रास सेक्युरिटी प्रिन्टर्स चेन्नइलाई पठाएको पत्रमा सिस्टममा धेरै समस्या आइरहेको र समाधानका लागि प्राविधिक टोली खटाइदिन लेखेको छ । कम्पनीले त्यसलाई वेवास्ता गर्दै आएको आरोप लागेको छ ।
विभागले कम्पनीलाई लेखेको पत्रमा टीएमओ÷टीएमएसओ, मोडुअल्स पनि राम्रोसँग काम नगरेको, लेभल पनि पुर्णरुपमा नरहेको, कर तथा बीमाको अनलाइन पेमेन्ट नहुने, सिस्टममा बगहरु अझै रहेको र सेक्युरिटी सिस्टममा लुपहोल समेत रहेको बताइएको छ । साथै विद्युतीय ड्राइभिङ लाइसेन्सको लागि पनि अहिलेसम्म सेक्युरिटी अडिट नभएको उक्त पत्रमा उल्लेख गरिएको छ ।
त्यसले गर्दा विभागले सुरु गरेको अनलाइन सिस्टम (ईडीएल र भीआरएस) मा काम हुन नसकेको बताइएको छ । यस्तै विभागका अनुसार उक्त कम्पनीले सम्झौता बमोजिम प्राविधिक सहयोगका लागि दक्ष जनशक्तिसमेत नपठाएका कारण १८ वटा टीएमएसको काम हुन नसेको जनाइएको छ ।
कम्पनीले सफ्टवयर प्रोजेक्ट म्यानेजर, सिनियर र जुनियर वेभ जाभा प्रोग्रामर, डेटावेस स्पेसियालिस्ट तथा क्वालिटी यासुरेन्स स्पेसियालिस्ट विभागमा उपलब्ध गराउन पर्ने भए पनि त्यो प्रक्रिया अहिलेसम्म पुरा नगरेको जनाइएको छ । यतिमात्र नभइ अनलाइन सिस्टममार्फत हुँदै आएको सवारीचालक अनुमति पत्र र सवारी दर्ता नवीकरणसम्बन्धी कामका लागि लागि चाहिने सफ्टवेयर तथा हार्डवेयर उक्त कम्पनीले पूर्णरुपमा जिम्मा लगाउन नसकेकाले यसैमा सधै समस्या आउने गरेको यातयात व्यवस्था विभागको आरोप छ ।