भाषविद् अमृत योन्जन तामाङले तामाङ भाषाबारे भाषा आयोगले पर्याप्त र यथार्थपरक सूचना संकलन गर्न नसकेको प्रतिक्रिया दिनुभएको छ । भाषा आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे धाराणा राख्दै भाषाविद् योन्जनले ‘भाषा विकासका लागि आवश्यक र आयोग आफैंले निर्धारण गरेको कतिपय सूचकलाई वेवास्ता गरेको’ प्रतिक्रिया दिनुभएको हो । फेसबुकमार्फत आफ्नो धारणा प्रस्तुत गर्दै भाषाविद् योन्जनले यसबारे सच्याउन आयोगलाई आग्रह गर्नुभएको छ । उहाँले प्रतिवेदनको सारंशको आधारमा यो प्रतिक्रिया दिएको भन्दै पूर्ण विवरण सार्वजनिक हुँदासम्म प्रष्ट भएर आउने आशा व्यक्त गर्नुभएको छ ।
भाषा आयोगले यही भदौ २१ गते तामाङ लगायत ११ भाषालाई प्रदेशगत सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न सिफारिससहित राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।
यसैगरी भाषविद् योन्जनले सम्पूर्ण तामाङ तथा मातृभाषाप्रेमीहरुलाई बधाई ज्ञापन गर्नुभएको छ । भाषा आयोगले तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा प्रयोगका लागि सिफारिस गरेको सन्दर्भलाई लिएर भाषाविद् योन्जनले तामाङ समुदायलाई बधाई तथा शुभकामना दिनुभएको हो । उहाँले तामाङ भाषालाई यो अवस्थासम्म ल्याई पुर्याउन भूमिका खेल्ने सम्बन्धित सबै र सरकारलाई प्रतिवेदनमार्फत सिफारिस गर्ने भाषा आयोगप्रति नमन प्रकट गर्नुभएको छ । 'हाम्रो प्राज्ञिक भाषिक अभियान र आन्दोलनलाई प्रत्यक्ष वा परोक्ष रूपमा सघाउनु हुने सबैमा 'फ्याफुल्ला' टक्राउँदछु। भाषा आयोगप्रति पनि म नमन व्यक्त गर्दछु' ।
योन्जनले उक्त सिफारिसलाई ‘निकै ठूलो उपलब्धि’ बताउँदै आयोगको सिफारिसबाट चरम खुशी मिलेको बताउनुभएको छ । 'तामाङ भाषाको सन्दर्भमा यो निकै ठुलो उपलब्धि हो । चरम खुसीको यस अवसरमा एकजना भाषिक अभियन्ताको हैसियतले म सबै तामाङहरूमा बधाई ज्ञापन गर्दछु' । उहाँले भन्नुभयो, 'यस अपूर्व उपलब्धिको लागि सबै तामाङहरू जो जस्ले आफुले बोल्ने भाषालाई तामाङ भाषा भनेर राष्ट्रिय जनगणनामा लेखाए, जो जसले तामाङ भाषालाई आफ्नो परिवार र परिवेशमा बोलेर, फलाकेर र गाएर जीवन्त राखे, अनि पुस्तान्तरण गरिरहे, जसले तामाङ भाषामा साहित्य रचना गरेर तामाङ साहित्यको भण्डार भरे, जो जसले लेखन प्रणाली (लेखन शैली, मानकीकरण)को आधार तयार गरेर भाषाको विकासमा सघाए, तामाङ कोश र तामाङ व्याकरण तयार गरे, भाषाको स्तरीकरण गरे, जो जसले माध्यम भाषाको रूपमा तामाङ भाषा विद्यालयहरूमा पठनपाठन गरे, गराए, जो जसले विद्युत र मुद्रण माध्यमबाट तामाङ भाषालाई सञ्चारमा प्रयोग विस्तार गरे, जो जसले तामाङ भाषालाई विविध प्रविधिमा प्रयोग गर्न सघाए, जो जसले तामाङ भाषामा अभिलेख तयार गरे, उहाँहरू सबैप्रति फ्याफुल्ला व्यक्त गर्दछु, आभार प्रकट गर्दछु ।
भाषा आयोगको परिभाषा उदृद गर्दै योन्जनले "सरकारी कामकाजको भाषा भन्नाले राज्यले कानुनी मान्यता प्रदान गरेको र स्तरगत योजना भएको भाषा सम्झनु पर्ने" बताउनुभएको छ । उहाँले भाषाले सरकारी कामकाजको मान्यता प्राप्त गरेपछि व्यवस्थापिका, न्यायपालिका (अदालती कामकार्यवाही) र कार्यपालिका (प्रशासन, अभिलेखन र सेवा सम्प्रेशण)मा भाषाको प्रयोग विस्तार हुने बताउनुभयो ।
भाषिक मानव अधिकारलाई स्थानीय स्तरसम्म कार्यन्वयन गर्ने काम जटील र झन्झटिलो हुने भन्दै भाषाविद् योन्जनले त्यसलाई सफल पार्नका निम्ति सबै तामाङहरुलाई जोस, जाँगर र विवेगको बृद्धि गर्न पनि आग्रह गर्नु भएको छ ।