नुवाकोट । शिवपुरी गाउँपालिकाको ३ नम्बर वडा प्रशासनिक भवन उद्घाटन गरिएको छ । वडा अध्यक्ष नाती तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले भवनको उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख तामाङले जनप्रतिनिधि र कर्मचारीलाई नागरिकले गुनासो गर्ने अवस्था नाआउने गरी सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । कार्यक्रममा विशेष अतिथि शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्द थपलियाले जुन पार्टीको भएपनि निर्वाचित जनप्रतिनिधिले सबै नागरिकलाई समान रुपमा हेर्नुपर्ने र हेरिने स्पष्ट पार्नुभयो । जनताको नाममा आएको विकासको बजेट दिगो विकास कार्यमा प्रयोग गर्नुपर्ने अध्यक्ष थपलियाले बताउनुभयो । उहाँले
शासक भन्दा पनि सेवक बनेर काम गर्ने र आफ्नो कार्यकालमा सुशासन प्रदान गरिने बताउनु भयो ।
गाउँपालिकाका उपाध्यक्ष बिरबहादुर तामाङले सङ्घीयताले नागरिकमा धेरै सहज भएको बताउनु हुँदै एक क्वाईल पाइप किन्नको लागि सिंहदरबार पुग्नुपर्ने बाध्यता हटेको बताउनुभयो । विकास बजेट ल्याउने काममा धेरैले फोस्रा आश्वासन दिनेगरेको र धमिलो पानीमा माछा मार्ने काम भएको भन्दै उपाध्यक्ष तामाङले शिवपुरीमा बजेट ल्याउने महत्त्वपूर्ण भूमिका उपसभामुख राधिका तामाङले गर्नुभएको बताउनुभयो ।
उहाँले प्रदेश र केन्द्रबाट प्राप्त बजेटमा कसैको मानमर्दन हुन्छकी भन्ने कुराहरु आईरहदा गाउपालिकाले यस्ता कुरामा ध्यानमा राखेर काम गर्ने बताउनुभयो । नीति तथा कार्यक्रम पनि नागरिकको चाहाना अनुसार ल्याएको भन्दै उहाँले नागरिकको मन दुखाएर अहिलेको जनप्रतिनिधिले काम नगर्ने र जुन उदेश्यले भोट दिनुभएको छ, त्यस्ता कामहरु पूरा गरेरै छाड्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत बसन्त कार्कीले स्थानीय नागरिकको सहयोगले वडाको भवन बन्न सम्भव भएकोले यो राम्रो काम भएको बताउनु भयो । कार्यक्रममा पुर्व वडाध्यक्ष रामहरी थापा, वडा नम्बर १ का अध्यक्ष सुकुराम तामाङ, ७ का अध्यक्ष बिरबहादुर तामाङ, ८ का अध्यक्ष केशव रिजालले मन्तव्य राख्नुभएको थियो । त्यस्तै वडाध्यक्षका प्रत्यासी दिलिप ओझा, माओवादी नेता शिव खाती, शम्भु थापा, पूर्व कार्यपालिका सदस्य तथा नेपाली कांग्रेस प्रदेश सचिव सिर्जना तामाङ लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
सो अवसरमा जग्गादाता काइला तामाङ र करजुङ तामाङलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । उहाँहरु दुवैले गरी चार आना जग्गा वडा कार्यालयभवन निर्माणका लागि दान गर्नुभएको थियो । जग्गादाता काइला तामाङले आफूले गाउँ देखि हिंडेर काठमाडौंमा मजदुरी गरी कमाएको पैसाले किनेको जग्गा दिएको भन्दै आफूमाथि अपमान हुने काम वडा कार्यालयबाट नहोस भन्नुभयो । त्यस्तै, अर्का दाता करजुङ तामाङले आफूलाई धेरै भएर भन्दा पनि वडाको माझमा पर्ने र सम्पूर्ण नागरिकको आवश्यकतालाई हेरेर जग्गा दिएको बताउनुभयो । उहाँले आफूले दान गरेको जमीनबाट कुनै पनि वडावासी माथि अन्याय नहोस भन्दै जनप्रतिनिधि र कर्मचारीलाई सचेत गराउनु भयो ।
तीन तलाको ८ कोठे भवन रु. ७९ लाखमा निर्माण सम्पन्न भएको इन्जिनियर केदार प्याकुरेलले जानकारी दिनुभयो ।