नुवाकोट । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले आफूले अहिलेसम्म कुनैपनि गलत काम नगरेको बताउनु भएको छ । स्वच्छ भावनाले नागरिकको सेवामा निरन्तर लागिरहेको उहाँले बताउनु भयो ।
मंगलवार शिवपुरी गाउँपालिकाको ३ नम्बर वडा प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपसभामुख तामाङले आफूले भने जति काम गर्न नसकेता पनि शिर निहुरिने गरी कुनै काम नगरेको बताउनु भएको हो । 'यहाँ मेरा थुप्रै शिक्षक, गुरुहरु हुनुहुन्छ, आफन्तहरु हुनुहुन्छ, तपाईंहरुले भने जति सबै काम गर्न सकेन हुँला तर तपाईंहरुको शिर झुक्ने काम मबाट आजसम्म भएको छैन' । उहाँले भन्नु भयो, 'अहिलेसम्म कसैले पनि तिमीले यो काम गलत ग¥यो भनेको सुन्नु परेको छैन' ।
आफू अलि बढी गाली गर्ने जनप्रतिनिधिमा परे पनि बेइमान गर्नुहुन्न भन्ने सोंच भएको हुँदा कुनै पनि कार्यमा समस्या नआएको भन्दै उपसभामुख तामाङले स्थानीय जनप्रतिनिधिहरूलाई पनि स्वच्छ रूपमा काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो 'जनप्रतिनिधि र कर्मचारीले राम्रो सँग सेवा प्रदान नगरेको तथा लेनदेनको आधारमा काम गर्ने गरेको गुनासो पाएको छु, यस्ता कुरामा ध्यान दिइएन भने तपाई हामीलाई पदमा बस्न नैतिकताले दिंदैन र कसैलाई छुट पनि छैन' ।
गाउँका नागरिकले समस्या बोकेर आउँदा भाषिक कारणले पनि समस्या पर्न सक्छ, विभिन्न कारणले समस्या परेको अवस्थामा समस्यालाई गाँठो पारेर राखिरहनु भन्दा उपाय खोजेर समाधान गर्ने तिर ध्यान दिन उपसभामुख तामाङले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “शिवपुरी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले कुनै पनि कार्यमा जनतालाई सास्ती दिने काम नहोस्, उहाँहरुको मतको कदर गर्नुपर्छ । फाइदा र हिसाबकिताब भन्दा पनि निरन्तर सेवामा लाग्नुपर्दछ ।”
आफूले सबै वडामा बराबरी नै बजेट पहल गरेको र कतिपय योजनालाई पूरा गर्न नसके पनि आगामि दिनमा पुरा गर्ने बताउनुभयो । अहिलेको बजेटमा पनि पालिकामा एम्बुलेन्स, सडक, स्वास्थ, शिक्षालाई प्राथमिकतामा राखेर बजेट आएको जानकारी गराउनुभयो । शिवपुरी ६, अशोकको पसलदेखि दुप्चेश्वरको मानेभञ्ज्याङसम्मको सडकको लागि रु.७१ करोड बजेट बिनियोजन गरिएको र सो सडकको दुई खण्ड गरेर टेन्डर आह्वान भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले आउँदो निर्वाचनमा जनप्रतिनिधि चुन्दा दलभित्र बाटै राम्रो काम गर्ने व्यक्ति छान्न नागरिकलाई आग्रह गर्नुभयो । पछिल्लो दिनमा दलहरुमाथि केही प्रश्न उठे तापनि दलीय व्यवस्थाको विकल्प स्वतन्त्र उम्मेदवार नहुने भन्दै उहाँले दलभित्रैबाट इमान्दार र सक्षम व्यक्तिलाई जनप्रतिनिधि बनाउनु पर्ने बताउनुभयो ।