काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेकपा (एमाले)का नेता भीमबहादुर रावलले छिमेकी र मित्र राष्ट्रले स्वाधिनताको कुरा गर्दा संसारकै अग्ला हिमाल र बुद्ध जन्मेको देश नेपालले किन स्वाधिन भएर बाँच्न नपाउने भनेर प्रश्न गर्नुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आर.आर) को प्रांगणमा आयोजना गरेको चाडपर्वको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रममा नेता रावलले अमेरिका, चीन, भारतले जस्तै आफ्नो देशको विषयमा आफैंले निर्णय गर्न नेपाल स्वतन्त्र हुनुपर्नेमा जोड दिनुभएको हो ।
'भारत, अमेरिका या कुनै देश प्रतिको विद्वेष होइन । जसरी भारतका प्रधानमन्त्रीले आसाममा बसेका ४० लाख नागरिकलाई नागरिकता दिन्न भन्न सक्नुहुन्छ भने, चीनका राष्ट्रपतिले बीआरआई म लागू गर्छु, म चन्द्रमा मानिसहरु पठाउँछु । मेरो देशमा खडेरी हुँदा कृत्रिम तरिकाले पानी पार्छु, अमेरिकाका राष्ट्रपतिले अंग्रेजी हाम्रो भाषा हो भन्न पाउँछ अनि बुद्ध जन्मेको देश, संसारकै अग्लो हिमाल भएको देश म स्वाधिन भएर बाँच्न चाहन्छु भन्न नपाउने ?,' उहाँको भनाइ थियो ।
'तपाईंहरुलाई थाहा छ, गाडीमा इम्बोस्ट नम्बर राख्ने कुरा आएको छ । विदेशीलाई ठेक्का दिइएको छ । उनीहरु भन्छन्, त्यहाँ नेपाली भाषा लेख्नु हुँदैन । किनभने उनीहरु हाम्रो भाषालाई मेट्न चाहन्छन्,' रावलले थप्नुभयो,'संविधानमा हामीले लेख्यौं देवनागरी लिपीमा सरकारी कामकाजको भाषा हुनेछ तर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जो आज निलम्बित भएर न्यायको कठघरामा उभिनुभएको छ ।
\उहाँले संविधानको प्रावधानलाई मिचेर गाडीमा अंग्रेजी नम्बर राख्नहुन्छ भनेर फैसला ठोकिदिनुभयो । हाम्रो प्रतिनिधिसभाले मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसी भन्ने अमेरिकाको कम्पनीसँग गरेको सम्झौता जस्ता १२ वटा सम्झौता थिए । प्रतिनिधिसभामा पेस गरेका सम्झौता त एउटामात्रै हो । तथ्य नबुझेर सत्यको प्रतिरक्षा गर्न सकिँदैन । मैले ती सबै सम्झौताहर पढेको छु ।' उहाँले थप्नुभयो, 'मैले प्रधानमन्त्री शेरबहादुर देउवाजी र त्यो सम्झौताका पक्षधरहरुलाई प्रतिनिधिसभाबाट चुनौती दिएँ, यो नेपालको हितमा छैन भनेर प्रमाणित गर्छु । तर उहाँहरुले स्वीकार गर्नुभएन । राति होहल्लाका बीचमा पारित भनेर जानुभयो । त्यसपछि उहाँहरुले व्याख्यात्मक घोषणाको कुरा गर्नुभयो । त्यो घोषणा अमेरिकाले मान्यो आजसम्म ? यसरी नेपाली जनता कुरा बुझ्दैनन्, हामीले जे गरे पनि हुन्छ भनेर सोच्न मिल्छ ?' नेता रावलले नेपालमा विदेशकी सैनिक अखडा, अग्निपथ नचाहिएको र शान्तिपथ चाहिएको बताउनुभयो ।
संस्कृति, भाषा, साहित्य देशको मुटु, कलेजो, मिर्गौला भन्दै त्यसलाई सरकारले विभिन्न सम्झौतामार्फत बेच्न खोजेको आरोप पनि रावलले लगाउनुभयो । 'जहाँको भाषा समाप्त हुन्छ, जहाँ साहित्य समाप्त हुन्छ । त्यो देश बाहिरबाट हेर्दा भूमि हुन्छ तर मुटु, कलेजो, मिर्गौला निकालेको अस्थिपञ्जर जस्तो हुन्छ । तपाईंहरु (कलाकार विद्यार्थी)ले दसैंको शुभकामना भन्दै हाम्रा भाका घन्काउनुभयो । गीतसंगीत घन्काउनुभयो । त्यो हाम्रो संस्कृतिक प्रवर्द्धन गर्ने हो, म अनेरास्ववियुलाई धन्यवाद दिन्छु ।' एमसीसी, एसपीपी सम्झौता गरेर देशको स्वाधिनतामाथि आँच आउने काम गर्न सरकारमा रहेका दलहरु उद्यत रहेको रावलको आरोप थियो । हामी अग्निपथ, सैनिक अड्डा हैन, शान्तिपथमा, स्वाधीनरुपमा बाँच्न चाहन्छु भन्न नपाउने भन्दै रावलले प्रश्न गर्नुभयो ।
उहाँले विजयादशमी, दिपावली तथा छठपर्वको शुभकामना दिनुहुँदै क्याम्पस भवन सुधार गर्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष मदन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख जीवनधर ज्ञावाली केन्द्रीय वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, केन्द्रीय उपमहासचिव गोविन्द गिरी, स्ववियु सभापति तपेन्द्रजङ शाही, क्याम्पस जिल्ला ईन्चार्ज नरेन्द्र न्यौपाने, क्याम्पस कमिटी अध्यक्ष मदन भण्डारीलगायतले शुभकामना दिँदै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले जित्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा अनेरास्ववियुका उपाध्यक्ष योगेशकुमार भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कलाकारहरु ममता गुरुङ, मुस्कान रानाभाट, लक्ष्मी आचार्यका साथै क्याम्पसका विद्यार्थीहरुले नाचगान गरेका थिए ।