काठमाडौं । सरकारले कृषि बाली तथा पशु बिमाका लागि दिइँदै आएको बिमा प्रिमियम अनुदान वृद्धि गरी ८० प्रतिशत पुर्याएको छ । प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक प्रस्तुत् गर्नुहुँदै अर्थमन्त्री जनार्दन शर्माले बाली तथा पशु बिमाको दायरा विस्तार गरी दिइँदै आएको बिमा प्रिमियम अनुदान साविकको ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत पुर्याएको जनाउनुभएको हो । यसअघि ७५ प्रतिशत दिँदै आएको अनुदान घटाएर केपी शर्मा ओली सरकारले ५० प्रतिशतमा झारेको थियो ।
अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्दै ल्याएको बजेटमा कृषि तथा पशुपन्छी मन्त्रालयले थप ८।०५८ प्रतिशत अर्थात् तीन अर्ब ९५ करोड २७ लाख बढी पाएको छ । नयाँ बजेटमा मन्त्रालयको बजेट ४९ अर्ब पाँच करोड १६ लाख पुगेको छ । यसअघि मन्त्रालयले ४५ अर्ब नौ करोड ८९ लाख रुपैयाँ बजेट पाएको थियो ।
अर्थमन्त्री शर्माले कृषिलाई उद्योगसँग जोड्ने साना प्रशोधन केन्द्रहरूको स्थापना गर्ने पनि जनाउनुभएको छ । नयाँ बजेट अनुसार केन्द्रमा साना मझौला तथा ठूला उद्योगहरू र स्वदेशी कच्चा पदार्थमा आधारित अन्य उद्योगहरू स्थापनाका लागि विभिन्न किसिमको छुट सुविधा तथा सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । यसैगरी सहकारी संस्थाहरूले भगिनी कम्पनी खडा गरी आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै कृषि उत्पादनका लागि उपलब्ध जमिन, हावापानी, बजारको दुपयोग गर्दै कृषि उत्पादनमा तीव्रता ल्याउन किसानहरूका लागि कृषि सामग्री, प्रविधिको प्रयोग एवं ज्ञान, तालीम, ढुवानी एवं बजार व्यवस्था लगायतका समस्यालाई सहजीकरण गरी कृषि क्षेत्रमा लाग्नेहरूलाई प्रेरित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत प्रदेश स्तरमा एक एक वटा बृहत् उत्पादन, प्रशोधन, अनुसन्धान, तालीम एवं प्रसार कार्य नमुनाको रुपमा संचालन गर्न सरकार, निजी क्षेत्र, सहकारी र कृषि सहकार्य समूहहरूको संयन्त्र निर्माण गरी कार्यान्वयन गर्ने प्रबन्ध मिलाएको छ ।