काठमाडौं । वाग्मती प्रदेशमा एक हप्ताभित्रै नयाँ सरकार बनाउनका लागि विपक्षी गठबन्धनले गृहकार्य सुरु गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले आइतबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नरहने निर्णय गरेसँगै नयाँ सरकार बन्ने अवस्था बलियो बनेको हो ।
नेकपा (एस) संसदीय दलको आइतबार बसेको बैठकले दलको नेतामा राजेन्द्र पाण्डे चयन र मुख्यमन्त्री शाक्यलाई समर्थन नरहेने निर्णय गरेको थियो । जुन निर्णयपछि नेपाल कांग्रेस, नेकपा (माओवादी केन्द्र) गठबन्धनले अल्पमतमा रहनुभएकी मुख्मन्त्री शाक्यविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको हो ।
माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक वसन्त माझीले केही दिनभित्र मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने र एक हप्ताभित्र नयाँ सरकार बन्ने ग्लोबल मिडियालाई बताउनुभयो । उहाँका अनुसार ११० सदस्यीय प्रदेशसभामा दोलखाका सांसद पशुपति चौलागाईंको निधन भएपछि १०९ जना रहेका छन् । यो अंकगणितका आधारमा प्रदेशसभामा ५५ जना सांसद भए बहुमत पुग्ने छ ।
माओवादी २३, कांग्रेस २२ र नेकपा (एस) को १३ गरी ५८ सांसद पुगेका छन् । प्रमुख सचेतक माझीले विवेकशील पार्टी लगायतले पनि समर्थन गर्ने अवस्था छ । वाग्मतीमा अविश्वासको प्रस्ताव अघि बढाउने तयारी भए पनि कांग्रेस र नेकपा (एस) कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा कुरा मिलेको छैन ।
अहिले कांग्रेसबाट इन्द्रबहादुर बानियाँ र नेकपा (एस) का राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार देखिनु भएको छ । 'मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा शीर्ष तहमा छलफल भइरहेको छ, यो हामीले मिलाउने होइन,' प्रमुख सचेतक माझीले भन्नुभयो, 'उपयुक्त व्यक्तिलाई नेताहरुले अघि सार्नु होला ।'