काठमाडौं । नेपालमा विभिन्न कार्यक्रम गरी ४३ औं सामाजिक सेवा दिवस मनाइएको छ ।
समाज कल्याण परिषद्ले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बिहीबार भृकुटीमण्डपमा एक समारोह आयोजना गरी सामाजिक सेवा दिवस मनाएको हो । कार्यक्रम प्रमुख अतिथि प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले समाज कल्याणको माध्यमबाट मुलुकका उत्पीडित पिछडिएका समुदायको उत्थान र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सेवामार्फत पछि परेका उत्पीडित असाहय वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सकिने भन्दै यसले समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले दिगो विकास र आवधिक लक्ष्य प्राप्तिका लागि सरकार गैरसरकारी सङ्घसंस्थासँग समन्वयात्मक ढङ्गले काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक संस्थाको लगानी र भूमिकालाई व्यवस्थित र पारदर्शी बनाउँदै प्राथमिकताका क्षेत्रमा सक्रियतापूर्वक परिचालन गरिनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री देउवाले सामाजिक सङ्घसंस्थाहरू नतिजामुखी हिसाबले सञ्चालन गर्नु आवश्यक रहेको भन्दै परिषद्लाई आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
परिषद्ले आयोजना गरेको कार्यक्रमका अध्यक्ष एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सामाजिक संघ संस्थाहरुको कामलाई समयसांपेक्ष सहजीकरण गर्दै परियोजना लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा लाग्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहको सहकार्य र समन्वयमा प्रभावकारी, जवाफदेही, उत्तरदायित्व, पारदर्शी र मितव्ययीत किसिमले काम गर्न पनि संघ संस्थालाई आग्रह गर्नुभयो ।
मन्त्री रेग्मीले गरिब, विपन्न समुदायको सामाजिक, आर्थिक रूपान्तरण गर्दै समुन्नत समाज निर्माण गर्न सबै गैरसरकारी संस्थाहरु जुट्नुपर्ने आजको आवश्यक औंल्याउनुभयो । प्राप्त सहयोग समुदायहरु लक्षित कार्यक्रम तर्जुमा गरेर अगाडि बढाएको समेत उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा परिषद्को हालसम्म २ वटा नयाँसहित ३७ वटा सम्झौताहरु नवीकरण भएको, स्वीकृति १४ सय ५४ वटा परियोजनाबाट ७६ अर्ब ५१ करोड ३ लाख १९ हजार ४१४ बराबरको रकम सामाजिक क्षेत्रमा प्रयोग गर्न स्वीकृति गरेको, गैर संस्थाहरुको कार्य मूल्यांन, अनुगमन गर्न समिति गठन गरेको, परिषद्को बजेट १५ करोड ३३ लाख ८ हजारमध्ये १४ करोड ६२ लाख १६ हजार खर्च भएको र प्रत्यक्षरुपमा १० हजार २५८ जनाले रोजगार पाएको प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो ।
साथै कार्य्रकममा परिषद्मा २५ वर्षसम्म कार्यरत ३ जनालाई सम्मान गरेको छ । सम्मानित हुने कर्मचारीमा सहायक प्रथमतर्फ विमलादेवी दाहाल लुइँटेल, सहायक द्वितीयतर्फ राधा पोख्रेल र लालबहादुर विश्वकर्मलाई सम्मान हुनुहुन्छ ।
दिवसका अवसरमा 'दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान समावेशी समाज निर्माणमा संघ संस्थाको योगदान' भन्ने नारा' तय गरिएको थियो । समाज कल्याण परिषद् गैरसरकारी सामाजिक क्षेत्रलाई संगठितरुपमा सञ्चालन, व्यवस्थापन गर्ने उद्देश्यले २०३४ असोज ६ गते स्थापना भएको हो ।