काठमाडौं । 'संविधान मिच्न पाइँदैन' भन्दै राष्ट्रपतिविरुद्ध युवा संगठन सडकमा सत्तारुढ गठबन्धन दल निकट युवा संगठनहरुले नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
सार्वभौम संसदले दुई/दुई पटक बहुमतले पारित गरेको नगारिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि त्यसको विरोधमा बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको हो । विरोध र्याली माइतीघरबाट सुरु भएको र्याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो ।
प्रदर्शनकारीहरुले 'संविधान मिच्न पाइँदैन', 'संविधानको रक्षा गर', 'सार्वभौम सांसदको सम्मान गर', 'जनविरोधी राष्ट्रपति चाहिँदैन', 'हिमाल, पहाड, तराई, कोही छैन पराई', 'नागरिकको अधिकार रक्षा गर', 'राष्ट्रपति राजीनामा देउ' जस्ता नारा लगाएका थिए । उनीहरुले विभिन्न नारा लेखिएका ब्यानर, प्लेकार्डसमेत प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल, नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल), नेकपा एकीकृत समाजवादीको युवा संघ नेपालमा आबद्ध युवाहरु सहभागी थिए ।
सरकारको प्रस्तावमा संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गर्नुभएपछि गम्भीर संवैधानिक अन्योल देखिएको छ । राष्ट्रपतिको कदमविरुद्ध सत्तारुढ दल र तिनका भ्रातृ संगठनहरु उभिएका छन् भने प्रतिपक्षी दल एमाले र तिनका भ्रातृ संगठनहरुले राष्ट्रपतिको कदम बचाउ गरिरहेका छन् ।