काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु रोग नियन्त्रण गर्न देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताउनुभएको छ । डेङ्गु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत महाशाखा प्रमुखको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा वडासम्म नै उक्त अभियान सञ्चालन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खापुङले भन्नुभयो, “सबैभन्दा धेरै जनतासँग जोडिने स्थानीय तहको पनि वडामा जनप्रतिनिधिको नेतृत्वमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न सकेमा अझ बढी प्रभावकारी हुने हाम्रो बुझाइ छ । सोहीअनुसार नियन्त्रणका लागि अगाडि बढेका छौँ ।” प्रत्येक शनिबारको बिहान उक्त अभियान सञ्चालन गर्न आमनागरिकलाई पनि आह्वान गर्दै आएको उहाँले सुनाउनुभयो ।
“आफ्नो घर, छर–छिमेक, गमला, खाल्डाखुल्डी, पानी जमेका ठाउँ खोजेर नष्ट गर्ने अभियानमा सहभागिता जनाउन मन्त्रालयबाट सम्पूर्णलाई आह्वान गरिएको छ”, उहाँले भन्नुभयो । डेङ्गु नियन्त्रणका लागि विद्यालय, होटल एशोसिएशनसँग छलफल गरेर अभियान सञ्चालन गर्नेबारे छलफल भइरहेको उहाँको भनाइ छ ।
डेङ्गुका बिरामीलाई उपचार गर्न सबै अस्पताल ‘अपडेट’ गराएको उहाँले जानकारी दिनुभयो । सिटामोल अभावबारे औषधि उत्पादकसँग पटकपटक छलफल गरिएको र बजारमा औषधि अभाव हुन नदिन समझदारी निर्णय भएको उहाँले स्पष्ट पार्नुभयो । डेङ्गु रोग नियन्त्रणका लागि जनचेतना अभियान सञ्चालन भएका छन ।
डेङ्गुले बिहान र बेलुका बढी टोक्ने भएकाले विशेष गरि दिउँसो शरीर ढाक्ने लुगा लगाउन आग्रह गर्दै उहाँले भन्नुभयो, “लामखुट्टे नियन्त्रण गर्नु यसको सबैभन्दा पहिलो उपाय हो । घर बाहिर निस्कदा, यताउता हिँड्दा पूरै जीउ ढाक्ने लुगा लगाउनुपर्छ, सकेसम्म आफैँ सचेत हुनुपर्छ ।”