काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हितबहादुर तामाङले पार्टीभित्र गुटबन्दी त्यागेर पार्टी र क्रान्तिप्रति इमानदार बन्न अपिल गर्नुभएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बेलाबेलामा पार्टी विघटनको धम्की दिएको सन्दर्भमा नेता तामाङले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो । उहाँले गुटबन्दी तथा गैरसर्वहारावादी आचरणले पार्टी र क्रान्तिलाई बिसर्जनको बाटोमा लैजान खोजेको समेत उल्लेख गर्नुभएको छ ।
'केही दिनयता अध्यक्ष कमरेड प्रचण्डको लगातारको अभिव्यक्तिहरु सुनिरहँदा पार्टीभित्र देखा परिरहेको गुटबन्दी तथा गैरसर्वहारावादी आचरणले पार्टी र क्रान्तिलाई विसर्जनको बाटोमा लैजान खोज्दै छ,' उहाँले लेख्नुभएको छ, 'उहाँको यो अभिव्यक्तिले पार्टी र क्रान्तिप्रतिको चिन्तामात्रै होइन, उहाँले क्रान्तिप्रतिको आफ्नो विश्वास एवम् प्रतिबद्धता पनि दर्शाईरहनुभएको छ ।'
गुटबन्दी गर्ने, गुटीय नेताको फुर्को समातेर हिँडे र क्रान्तिकारी कुरा गर्नु आफ्नो कमजोरीलाई ढाकछोप गर्ने र मूल नेतृत्वलाई असहयोग हुने उहाँको भनाइ छ ।
'हामीमध्ये कोही, कसैले गुटबन्दी गरेर वा गुटीय नेताको फुर्को समातेर हिँडेका छौं र क्रान्तिको भजन गाउँदै छौं भने त्यो पार्टी र क्रान्तिप्रतिकै विश्वासघात हो । आफ्नो कमजोरीलाई ढाकछोप गर्ने चालबाजी हो, निजी स्वार्थ सिद्ध गर्ने बाहनाबाजी हो, र मुल नेतृत्वलाई असहयोग हो,' उहाँको अपील छ, 'त्यसैले आउनुहोस् गुटबन्दी गरेर होइन पार्टी र क्रान्तिप्रति इमानदार बनौं र पार्टीको मूल नीति र नेतृत्वलाई सहयोग गरी क्रान्तिको बाँकी कार्यभार पूरा गरौं ।'