यात्रीको रुपमा आनन्दानुभूतिको उद्देश्य लिई पैदलै लामो यात्रामा जाने कार्यलाई ट्रेकिङ भनिन्छ । यस्तो यात्रा पहिले-पहिले हप्तौं वा महिनौंको हुन्थ्यो भने हिजोआज दुई/तीन दिनको पैदल यात्रालाई पनि ट्रेकिङ नै भन्ने चलन छ । एक दिनमै टुङ्गिने पैदल यात्रालाई भने हाइकिङ भन्ने चलन छ । नेपालमा पर्यटनको श्रीगणेश यही लामो पदैल हिँडाई अर्थात् ट्रेकिङ गतिविधिबाट सुरु भएको थियो ।
मुलुकबाट जहानियाँ राणा शासन फ्याँकिएको वि.सं. २००७ सालको क्रान्तिभन्दा दुई वर्षअघि सन् १९४९ मै ब्रिटिस पर्वतारोही, पदयात्री तथा अन्वेषक एच डब्ल्यू तिलम्यानले राणा सरकारबाटै अनुमति लिई पहिलो पटक नेपालको लाङटाङ, गणेश हिमाल तथा जुगल क्षेत्रमा चार महिना लामो ट्रेकिङ गरेका थिए । त्यसलगत्तै उनी दोलखा तथा सोलुखुम्बुतर्फ पनि ट्रेकिङ गर्दै पुगेका थिए । उनको यात्राको उद्देश्य खोज अन्वेषण आदि भनिए तापनि उनको उक्त ऐतिहासकि पदयात्राको पाइलामा टेकेर नै नेपालमा पर्यटनको सुरुवात भएको थियो ।
वि.सं. २००७ सालको परिवर्तनसँगै नेपाल विदेशीहरुको भ्रमणको लागि खुल्ला भएको थियो । लगत्तै सन् १९५३ को ऐतिहासिक सगरमाथा आरोहणको कार्यक्रम नेपालबाट तय भएको थियो । उक्त आरोहण अभियानका दुई सदस्य तेञ्जिङ नोर्गे र सर एडमण्ड हिलरी सगरमाथाको शिखरमा पुगेर इतिहास रचेको कुरा विदितै छ । सगरमाथाको सफल आरोहण हुनुभन्दा अघि सन् १९५० मा अन्नपूर्ण र त्यसको एक दशक आसपासमा विश्वका आठ हजार मिटरभन्दा माथिका धेरै जसो हिमालको सफलतापूर्वक आरोहण भएको थियो । संसारकै अग्ला हिमालहरु आरोहण गर्दै इतिहास रच्ने काम हुँदै गर्दा थुप्रै विदेशी पर्यटकहरु नेपालका हिमाल हेर्नका लागि पदयात्रा गर्दै तिनको फेदी वा नजिकको दृश्यावलोकन स्थल (View Point) सम्म पुग्न थाले । सुरुमा नेपाल आउने पर्यटक भनेकै यस्तै हिमाल आरोहण गर्न वा हेर्न आउनेहरु थिए र उनीहरुको लागि हिमालको नजिक पुग्ने विकल्प ट्रेकिङ नै थियो ।
हिजोआज नेपालमा ट्रेकिङ वा पर्वतारोहणको लागिमात्र नभई अरु विविध प्रयोजनका लागि पनि पर्यटकहरु आउँछन् । पशुपति, लुम्बिनी, जनकपुरजस्ता तीर्थस्थलमा तीर्थाटनको लागि वा खोलामा र्याफ्टिङ गर्नको लागि वा अन्य पर्यटकीय गतिविधिको लागि पनि पर्यटकहरु आउँछन् । विश्वव्यापी कोभिड महामारी सुरु हुनु अघिल्लो वर्ष सन् २०१९ को तथ्याङ्कअनुसार नेपालमा झण्डै १२ लाख पर्यटक आएकामध्ये १६ प्रतिशत (दुई लाख) ले मात्र ट्रेकिङ गर्न नेपाल आएको उल्लेख गर्नुले ट्रेकिङभन्दा अन्य उद्देश्य लिई नेपाल आउने पर्यटकको संख्या बढी भैसकेको देखाउँदछ । मुलुकमा ट्रेकिङको अलावा अरु पर्यटकीय गतिविधिहरु पनि पहिचान र विकास भई पर्यटकको संख्या वृद्धि भइरहेको छ । देशमा पर्यटनको इतिहाससँग जोडिएको ट्रेकिङ गतिविधिलाई समयानुकूल परिमार्जन, विकास र संरक्षण गर्न सरोकारवाला सरकारी निकाय र व्यावसायिक संघसंस्थाहरुले बेवास्ता गरिदिँदा ट्रेकिङ गतिविधि र यसमा आश्रित ठूलो जनशक्तिको रोजीरोटी भने संकटमा परिसकेको अवस्था छ ।
देशको ८० प्रतिशतभन्दा बढी भाग पहाड र उच्च हिमाली भेगले ढाकेको, विश्वका ८ हजार मीटर माथिका १४ उच्च हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित अधिकांश नेपालमै रहेको र विश्वको सबैभन्दा लामो पर्वतमाला हिमालयको मुख्य भाग पनि यहीँ रहेकाले ट्रेकिङको लागि नेपाल विश्वकै अद्वितीय गन्तव्यको रूपमा परिचित छ । आउटडोर अर्थात खुला प्रकृतिमा घुम्ने कृयाकलाप सम्बन्धि प्रकाशित हुने अन्तर्राष्ट्रिय लेख, समाचार तथा सर्वेक्षणहरुमा ट्रेकिङ लगायत आउटडोर गतिविधिको लागि नेपाल विश्वकै सबैभन्दा रमणीय देशको रुपमा गणना हुँदै आएको छ । देशको पर्यटनको इतिहासदेखि वर्तमानसम्म पर्यटनको प्रमुख पाटो र मुलुकको पहिचानको रुपमा रहेको ट्रेकिङ बारे राज्यले चासो नराख्नु साँचिकै दुखद पक्ष हो ।
राज्यले ट्रेकिङ पर्यटन क्षेत्रलाई कसरी बेवास्ता गर्दै आएको छ भन्ने दृष्टान्त हरेक वर्ष प्रस्तुत गर्ने सरकारको नीति तथा बजेट वक्तव्यलाई हेरे पुग्छ । घण्टौं लामो बजेट भाषणमा पर्वतीय पर्यटनसँग सम्बद्ध ट्रेकिङ पदमार्ग, पर्वतारोहण, आरोही, पथप्रदर्शक, पर्वतीय पर्यटन व्यवसायी जस्ता शब्दावली सुन्न दुर्लभ हुन्छ । पछिल्ला बजेट तथा कार्यक्रमहरूमा महामारीबाट सबैभन्दा बढी पीडित यस क्षेत्रका आश्रितहरूलाई राहत वा सहुलियतको कुनै ठोस कार्यक्रम नल्याउनुले पनि यो क्षेत्रप्रति राज्यको बेवास्ता थप प्रमाणित गर्छ ।
देशको पर्यटन नीति निर्माणको तहमा रहेकाहरूबाट ट्रेकिङ तथा पर्वतीय पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई कतिसम्म हेयको दृष्टिले हेरिन्छ भन्ने एक उदाहरण महामारीकै बीच नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बीबीसी नेपाली सेवामा दिएको एक अन्तरवार्तामा ट्रेकिङ वा पर्वतीय पर्यटन व्यवसायीहरूलाई सम्बोधन गर्न गरेको शब्द चयनले पनि इंगित गर्छ । २०२० अगस्त २८ मा बीबीसीको नेपाली सेवामा प्रसारित अन्तरवार्ताका क्रममा उनले ट्रेकिङ तथा पर्वतारोहण व्यवसायीलाई अपमानजनक शब्द प्रयोग गरेका थिए । राज्यलाई रोजगारी वा करको माध्यमबाट टेवा नदिने (पर्वतीय पर्यटनकर्मी) लाई झोले भन्ने शब्द प्रयोग गर्दै महामारी पीडित नै भए पनि उनीहरुलाई राहत र सहुलियत दिन सजिलो नभएको उनको भनाइको सार थियो । पर्वतीय पर्यटन क्षेत्रमा आबद्धहरूले विरोध गरेपछि आफ्नो आशय त्यस्तो नरहेको भनाई सार्वजनिक गरे पनि उनी र उनी जस्तै पर्यटनक्षेत्रका नीति निर्माण तहमा रहेकाहरूले यस क्षेत्रलाई सही पहिचान गर्न नसकेको विडम्बना कायमै छ ।
वास्तवमा धेरै कर तिर्ने भनिएको ठूला तारे होटलमा बस्ने, नेपालका दुर्गम ठाँउहरुमा नेपालीले भन्दा कम्तीमा तीनगुणा बढी हवाई भाडा तिरेर पुग्ने र त्यसो गर्दा होटल वा एयरलाइन्स मार्फत कर तथा आर्थिक योगदान दिनेमा ट्रेकिङ गर्ने पर्यटकको नै उल्लेख्य योगदान हुन्छ । यता महंगा रेष्टुरेन्टहरुमा खाना खान पुग्नेमा पनि उल्लेख्य संख्यामा उनीहरु नै हुन्छन् । विना गाइड ट्रेकिङमा जाने पर्यटकले दुर्गम क्षेत्रका स्थानीय लज तथा रेष्टुरेन्टहरुमार्फत आर्थिक योगदान दिन्छन भने गाइड तथा अन्य स्टाफ सहित जाने ट्रेकरले एजेन्सीमा आवद्ध व्यवसायी, गाइड, पोर्टर आदि गरी धेरैको रोजिरोटीमा योगदान दिइरहेको हुन्छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालमा रहेको तथ्याङ्कले देशमा २००० हाराहारी सक्रिय ट्रेकिङ एजेन्सी रहेको देखाउँछ । अधिकांश एजेन्सीमा एक भन्दा धेरै शेयरधनी संलग्न हुने हुँदा कम्तीमा तीन हजार ट्रेकिङ व्यवसायी रहेको अनुमान गर्न किन्छ भने मुलुकमा बाह्रहजार हाराहारी गाइड र ३० हजार हाराहारी ट्रेकिङ मजदुरहरु छन् । देशमा ठूला उद्योगधन्दाहरु नगन्य रहेको अवस्थामा एउटै क्षेत्रमा यत्ति धेरै जनशक्तिले काम पाइरहेको तथ्य पक्कै नजरअन्दाज गर्न मिल्ने कुरा होइन । तर यी तथ्य तर्फ ध्यान दिई यो क्षेत्रले पुर्याउन सक्ने थप योगदान सिर्जना गर्न र विद्यमान ट्रेकिङ रुटको संरक्षण र संलग्न जनशक्तिलाई प्रोत्साहन दिन नीति निर्माणर्् तहबाट कुनै ध्यान पुगेको देखिँदैन ।
ट्रेकिङ क्षेत्रमा संलग्न व्यवसायी, पथप्रदर्शक र मजदुरहरुको रोजिरोटी संकटमा पर्नुको मुख्य कारण र त्यसमा नीति निर्माण तह कसरी पनि जोडिएको छ भन्ने केलाउन विकास निर्माणको क्रममा मासिदै गएको ट्रेकिङ रुटहरु अवलोकन गर्दा हुन्छ । कुनै समयमा विश्वकै १० उत्कृष्ट हिडाँइहरुमा पर्ने अन्नुपूर्ण सर्किट ट्रेकको त्यो साख् गुमेको धेरै भइसक्यो । अहिले अन्नपूर्ण सर्किटको मुस्ताङ तथा मनाङ दुवै तर्फको फेदीसम्म मोटर पुगिदिँदा पहिले तीन हप्ता लाग्ने ट्रेकिङ अहिले एक हप्ता भन्दा कम समयमै गरिन्छ । पक्कै पनि सुविधाजनक सडकको निर्माण हुनु राम्रो कुरा हो तर त्यस्ता विकास निर्माणको काम हुँदा देशको पर्यटन र स्थानीय पर्यावरणसंग अन्योन्याश्रित सम्बन्ध रहेको पदमार्गहरु मासेरै छाड्नु दिगो विकास होइन । तर अन्नपूर्णका अलावा मुस्ताङ, लाङटाङ, हेलम्बु, रोल्वालिङ लगायतका सबै ट्रेकिङ क्षेत्रमा सडक निर्माणको काम हुँदा ट्रेकिङ रुटलाई नै पछ्याएको पाइन्छ । जताजता ट्रेकिङ रुट छन् त्यतै डोजर चलाइएको पाइन्छ । यस्ता विकास निर्माणको कामहरु गर्दा स्थानीय पर्यावरणलाई असर नगरी, विद्यमान धरोहर वा व्यवसाय र अवसरहरुलाई विस्थापित नगरी यथेष्ट अध्ययन गरेर मात्र गर्ने विश्वव्यपि चलन छ । तर नेपालमा त्यस्तो अभ्यास नभईदिदाँ ट्रेकिङ रुटहरु ध्वस्त त भईरहेका छन् नै, वर्षेनी बाढी, भूक्षय र पहिरोको घटनाहरु पनि बढिरहेको छ । यस तर्फ सरोकारवाला निकायले ध्यान दिनु पर्दछ । नत्र पूर्वाधार निर्माणमा भएका गल्तिले पुस्तौंसम्म अपजस र नोक्सान बाहेक केही पाउने छैन ।
आज ४३ औं विश्व पर्यटन दिवसका अवसरमा विश्वभरी नै पर्यटनसम्बन्धी अनेक कार्यक्रमहरु आयोजना भइरहँदा नेपाल अछुतो रहने छैन । यस्ता पर्यटनसम्बन्धी विशेष दिवस वा अवसरहरुमा आयोजित हुने कार्यक्रम र मन्थनहरुमा देशको पर्यटनका अनेक पक्षको चर्चा गरिएको पाइन्छ । तर मुलुकमा पर्यटनको बिजारोपण हुँदादेखि अहिलेसम्म निरन्तर योगदान दिइरहेको र देशको पहिचान बोकेको हिमाल, पहाडलगायतसँग जोडिएको ट्रेकिङसहित हिमाल आरोहण तथा पर्वतीय पर्यटनबारे पनि बहस हुनु र त्यसैका आधारमा नीति निर्माण हुन सकेमात्र देशको पर्यटनले सही मानेमा न्याय पाउने छ । यसतर्फ सरोकारवालाहरुको ध्यान पुगोस् ।
(लेखक विगत २० वर्षदेखि ट्रेकिङ पथप्रदर्शक तथा व्यवसायीको रुपमा कार्यरत)