काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले दिवंगत नेता एवं पूर्वमन्त्री पोष्टबहादुर बोगटी ‘दिवाकर’को सातौं स्मृति दिवस मनाएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार एक समारोह आयोजना गरी दिवंगत नेता बोगटीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेताहरु हरिबोल गजुरेल, वर्षमान पुन 'अनन्त', गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, बोगटीपत्नी तथा संविधानसभा सदस्य राममाया बोगटीलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले दिवंगत बोगटीको तस्बिरमा माला तथा फूल चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेता बोगटीको २०७१ भदौ ३० गते हृदयघातका कारण मृत्यु भएको थियो । दुई छोरी र एक छोरा रहेका बोगटीले जनयुद्धमा छोरा रबी बोगटीलाई गुमाउनुभएको थियो । माओवादी जनयुद्धको बेला पश्चिम कमाण्डको नेतृत्व सम्हाल्नुभएका नेता बोगटी शालीन र भद्र स्वभावको नेताको रुपमा चिनिन्थ्यो ।
सादा जीवन र कम्युनिष्ट आचारणका नेता बोगटी राष्ट्रकै आदर्श व्यक्तिको रुपमा स्थापित हुनुहुन्छ । माओवादी शीर्ष नेतृत्वमध्येका एक बोगटी २०६४ को निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो । उहाँले नेपाल सरकारको मन्त्रीका रुपमा सूचना तथा संचार, उर्जा तथा जलश्रोत र पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी वहन गर्नुभएको थियो । यही व्यक्तित्व र योगदानको कदर गर्दै उहाँलाई अन्त्येष्टिको बेला राज्यले सलामी अर्पणसहित सम्मान प्रदान गरेको थियो ।
बुधवार सातौं स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दिवङ्गत नेता बोगटीलाई परिवार र पार्टीको कुशल अभिभावक रहेको बताउनुभयो । पार्टीका अन्य सदस्यहरुले आफ्नो परिवारको बारेमा आफू र अन्य नेतालाई खुलेर बताउन नसक्ने तर नेता उहाँलाई सबै कुरा खुलेर राख्ने गरेको भन्दै बोगटी सिंगै पार्टीको कुशल र आत्मीय अभिभावक रहेको बताउनुभएको हो । पार्टीभित्रको समस्या र राष्ट्रकै समस्यामा समन्वय र सहजीकरण गरी समाधान गर्न सक्ने विशिष्ट क्षमता उहाँमा रहेको प्रचण्डले बताउनुभयो ।