काठमाडौं । छिमेकी भारतका केही स्थानमा निपाह भाइरसको सङ्क्रमण देखा परेको विवरण सार्वजनिक भएसँगै नेपालमा पनि सावधानी अपनाउन सरकारको आग्रह छ ।
विश्व स्वास्थ्य संगठनले समुदायको लागि उच्च जोखिम मानिएका ९ संक्रामक रोगहरूमध्ये निपाह भाइरसलाई पनि समावेश गरेको छ ।
चिकित्सकको अनुसार निपाह भाइरस उच्च घातक संक्रामक रोग पनि हो । धेरै जनसंख्या भएको काठमाडौं उपत्यका पनि यो भाइरसको उच्च जोखिममा रहेको स्वास्थ्यविज्ञहरु बताउँछन् ।
तर हाल सम्म नेपालमा यस्तो बिरामी देखा नपरेको सरकारको दाबि छ भने देशका ११८ सरकारी अस्पताल र स्वास्थ्यसंस्थामा शङ्कास्पद बिरामीहरू देखिए बेलैमा जानकारी गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।
के हो निपाह भाइसर ?
निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । यस भाइरस प्राकृतिक रुपमा ‘फु्रट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ ।
निपाह भाइरस कसरी सर्दछ ?
निपाह भाइरस जनवारबाट जनावर पनि सर्दछ भने जनावरबाट मानिसमा पनि सर्ने भाइरस हो ।
यो भाइरस संक्रमित चमेराबाट सुंगुर,गाई,गोरु जस्ता जनावर हुँर्दै मानिसमा सर्दछ ।
संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा पनि यो भाइरस सर्ने सम्भावना हुन्छ ।
संक्रमित व्यक्तिको रगत,दिसा,पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने सम्भावना हुन्छ ।
निपाह भाइरसका लक्षणहरु –
ज्वरो आउँने,टाउको दुख्ने,मांसपेशी दुख्ने,वाकवाक लाग्ने,रिङ्गटा लाग्ने,श्वासप्रश्वासमा कठिनाई हुने र टन्सिलाइटिस् हुने लगायत निपाह भाइरसका लक्षणहरु हुन् ।
यस्ता लक्षण देखा पर्ने बिरामीले निपाह भाइरस हो या होईन भन्ने बारे जान्नको लागि चिकित्सकको सम्र्पकमा जाँदा राम्रो हुन्छ ।
निपाह भाइरसको रोकथाम कसरी गर्ने ?
–फलफूल राम्रोसँग पखालेर मात्रै खानुपर्छ ।
– तरकारी सकेसम्म पकाएर खाने ।
– गाईवस्तुको गोठ वा फार्म सफा राख्ने ।
– मासु काट्दा र पकाउँदा पन्जा र मास्कको राम्रोसँग प्रयोग गर्ने ।
– सकेसम्म पानी उमालेर मात्रै पिउने ।
– बेलाबेलामा साबुनपानीले हात धुने ।
– भिडभाडमा जादा मास्क अनिवार्य प्रयोग गर्ने ।
हामीले यो सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रको सहयोगमा तयार पारिएको हो ।