काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीले सबैभन्दा धेरै रक्तदान कार्यक्रम आयोजना गर्ने संस्था, समन्वयकर्ता र रक्तदातालाई सम्मान गरेको छ ।
रक्त सञ्चार सेवाले शुक्रबार अस्पतालको लाइबेरी हलमा कार्यक्रम आयोजना गरी आर्थिक २०७८/०७९ मा अत्यधिक रगत संकलन गर्ने संस्था, समन्वयकर्ता र रक्तदातालाई खादा, माला र सम्मानपत्रसहित सम्मान गरेको हो । सम्मानित हुने संस्था र व्यक्तिलाई अस्पतालका निर्देशक डा पवनजंग रायमाझीले खादा, माला र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रसूति अस्पतालका वरिष्ठ चिकित्सक डा श्रीप्रसाद अधिकारी, डा कल्पना सुवेदी, प्याथोलोजी विभाग प्रमुख डा करिष्मा मल्ल वैद्य र अन्य चिकित्सक र अस्पतालका कर्मचारीलगायतको उपस्थिति थियो ।
रक्त सञ्चार सेवाका इञ्चार्ज परशुराम दाहालका अनुसार सम्मानित हुने संस्था र व्यक्तिमा महालक्ष्मी एकता समाज रामेछाप सिन्धुलीका अध्यक्ष हरिबहादुर श्रेष्ठ, ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) केन्द्रीय समिति, ५/६ पटकमा ३ सय ७९ युनिट रगत संकलन गर्न समन्वय गर्ने ब्लोदान ललितपुर टीकाथलीकी तुल्सादेवी श्रेष्ठ, ब्लड डोनर एसोसिएसन (ब्लोदान) काठमाडौं जिल्ला मध्य क्षेत्र, सिद्धेश्वर योग साधना केन्द्र कपनलगायत छन् ।
महालक्ष्मी एकता समाज रामेछापले एकैपटक १५४ युनिट रगत संकलन गरेकोले सम्मान गरिएको इञ्चार्ज दाहालले प्रस्ट पार्नुभयो । त्यस्तै एकैपटक १०३ युनिट रगत संकलन गर्ने भद्रावती ऋण सहकारी संस्था लिमिटेड र त्यसको समन्वयकर्ता विक्रम श्रेष्ठलाई सम्मान गरिएको थियो ।
यस्तै आरएच नेगेटिभ रगत प्रसूति अस्पताललाई नियमित र सबैभन्दा धेरै पटक दान गर्ने अनिल अर्यालयसहित ५ जनालाई समेत सम्मान गरिएको छ । ती व्यक्तिहरुले ३० देखि १०५ पटकसम्म रक्तदान गरिसकेका छन् ।
कार्यक्रम रक्त सञ्चार सेवा इञ्चार्ज दाहालको संयोजकत्वमा भएको थियो ।