नेपालमा संघीय शासन प्रणाली सञ्चालन भएसँगै निर्वाचित जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकाल यही वर्ष सकिँदै छ । स्थानीय सरकार बनेपछि धेरथोर विकास भएको देखिन्छ । पूर्वाधार निर्माणमा उल्लेख्य विकास नभए पनि नागरिकलाई झिनामसिना कामका लागि जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ । स्थानीय सरकार आएपछि भएका विकास, नागरिकले पाएका सेवा सुविधा र गाउँपालिकाको प्राथमिकताबारे सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) सिन्धुलीको सचिवालय सदस्य कार्साङ लामा थिङसँग अन्जु डिम्दोङले गर्नुभएको ग्लोबल संवादको सम्पादित अंश :
निर्वाचित हुनुभएको ५ वर्ष पुग्न लागेको छ । तपाईं नेतृत्वको स्थानीय सरकारले यसबीचमा के कति काम गर्यो ?
हरिहरपुरगढी गाउँपालिकामा हामी निर्वाचित भएपछि सडक निर्माणका योजनालाई पहिलो प्राथमिकताका साथ अगाडि सार्यौं । सुरुको वर्षमा हामीले प्रत्येक वडाबाट पालिकाको केन्द्रसम्म जोड्ने सडकलाई प्राथमिकतामा राखेका थियौं अहिले सडक खन्ने र स्तरोन्नतीका काम हुँदैछन् । बर्खामा भन्न सकिन्न हिउँदको समयमा राम्रोसँग चल्ने सडक संजालहरु छन् ।
हालसालै सबै वडाका अध्यक्षको बैठक राखेका थियौं । समय सकिनुभन्दा अगाडि नै ७५ प्रतिशत काम सम्पन्न गर्नुपर्छ भन्ने छलफल गरेका छौं ।
कार्यकालको हिसाबमा अब धेरै समय बाँकी छैन, यो छोटो अवधिमा के के काम गर्दै हुनुहुन्छ ?
सुरु गरेका कामहरु पूरा गर्नको लागि प्राथमिकता रहने छ । यो ४ वर्षको अवधिमा भएको कामहरुको बाँकी कामहरु सकेसम्म पूरा गर्ने छौं । बाँकी कामहरुलाई निरन्तरता दिएर सम्पन्न गर्नको लागि प्राथमिकता दिँदै आइरहेका छौं ।
कृषि, पशुमा विशेष ध्यान दिएका छौं । वडा ६,७ र ८ मा कृषि पेसालाई विशेष प्राथमिकताका साथ हेरेका छौं । बाँकी अन्य वडाहरुमा बाख्रा र बंगुरपालनको पकेट क्षेत्र घोषणा गर्दै आयआर्जनमा जनता प्रत्यक्ष जोडिने गरेर तालिम, गोठ सुधारदेखि धेरै विषयमा किसानलाई सहयोग गर्दै आइरहेका छौं ।
वडा नं ६,७ र ८ मा सय वटा गाई किसानलाई वितरण गर्ने गाउँपालिकाको तयारी थियो तर कोरोना महामारीको कारणले गर्दा यो काम अगाडि बढ्न सकेको छैन । किसाहरुसँग नै भएको पशुको स्तरोन्नति गराएर जस्तै उन्नत जातको पशुपालनलाई प्राथमिकता दिनुपर्छ भनेर तालिमसहितको कार्यक्रम ल्याउने योजना छ ।
वडा नं ६,७ र ८ लाई दूधमा आत्मनिर्भर बनाउने योजना रहेको छ । महेन्द्र राजमार्ग पूर्व–पश्चिम सडक जोड्न नजिक भएको र प्रशस्त घाँस अनि उपयुक्त ठाउँ भएको हुँदा यी वडालाई दूधमा आत्मनिर्भर बनाउन जोड दिँदै आइरहेका छौं ।
बाँकी १ देखि ५ वडामा बंगुर र बाख्रा पशुपालनमा जोड दिने गाउँपालिकाको योजना रहेको छ । विदेशिने युवाहरुलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने योजना रहेको छ अझै यो काम सम्पन्न हुन सकेको छैन । सामूहिक उत्पादनमा जोडिँदै भोलि युवाहरु पनि यस पेसाप्रति आकर्षिन हुनुहुने छ भन्ने विश्वास छ ।
हरिहरपुरगढी गाउँपालिकामा कृषि पेशामा निर्भर कति किसान छन् ?
परम्परागत कृषि पेसालाई भन्दा पनि व्यावसायिक र आधुनिक तरिकाले कृषि पेसामा लाग्नुपर्ने कुरालाई गाउँपालिकाले ध्यानमा राखेको छ । यसैअन्तर्गत बगरमा खर्बुजा, काक्रा, तरकारी लगाउने तालिमपश्चात् काम सुरु गर्ने कार्यक्रम रहेको थियो । एक दुई ठाउँमा यस्तो खेती गर्दा धेरै राम्रो पनि भएको पायौं । गाउँपालिकाको यो नितान्त नयाँ कार्यक्रम हो ।
परम्परागत कृषिलाई ब्रेक गराएर आधुनिकीकरण अर्थात् सबै कुरा मान्छेले गर्दा सम्भव नहुने रैछ र यान्त्रिकीकरणमा पनि जोड दिनुपर्ने पर्छ भन्ने कुरालाई आत्मसाथ गरेर किसानहरुलाई यन्त्र वितरण गर्ने काम पनि सम्पन्न गरेकाक छौं ।
संविधानले परिकल्पना गरेअनुसार काम गर्न सक्नु भयो कि छैन् ?
जनताको ज्यादै नजिकको राम्रो गर्दा ताली दिने नराम्रो गर्दा गाली दिने सरकार भनेकै हामी हौं अथवा स्थानीय सरकार हो । जनतालाई कसरी सेवा प्रदान गर्ने आवश्यकअनुसार माथिल्लो निकायसम्म जनआवाजलाई कसरी पुर्याउने भन्ने विषयमा स्थानीय सरकारको एकदमै ध्यान गएको छ । स्थानीय सरकारमा सबैको पहुँच पुगेको छ । कुनै पनि नागरिक सेवाबाट बञ्चित हुनुपर्ने अवस्था छैन । यदि गाउँपालिकाको कार्यालयसम्म आउन नसकेको खण्डामा वडा कार्यालयबाट पनि सेवा लिन सक्नुहुने छ ।
नागरिकको समस्यालाई वडाका कर्मचारी साथीहरुले पालिकासम्म ल्याउनुहुने छ र उहाँको समस्या हामीले पनि हल गर्न नसकेको खण्डमा माथिल्लो निकायसम्म हामी आफै साथमा गएर पनि नागरिकको समस्याको हल गर्दै आइरहेका छौं । यी यस्ता कुराले गर्दा पनि तपाईंको प्रश्नअनुसार गाउँगाउँमा सिंहदरबारको अनुभूति गर्नुभएको छ । गाउँपालिकाबाट नागरिकले पाउनुपर्ने सबै सेवाहरु पाउनु भएको छ । गाउँपालिकाको बिकासको स्पिड बढाउँदै जाँदा कोभिडले गर्दा समस्या देखिएको छ ।
समुदायको भाषा संस्कृति लोप नदिनको लागि के-के गर्नुभएको छ ?
हरिहरपुरगढी गाउँपालिकाले स्थानीय भाषालाई प्राथमिकता दिने उद्देश्यले पाठ्यक्रममा पनि समेट्ने तयारीमा छौं । लोप हुन लागेको कुन कुन भाषा छन् र कसरी संरक्षण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । ०६८ को जनगणनाअनुसार हरिहरपुरगढी गाउँपालिकामा २८ हजार जनसंख्या भएको पालिका हो । सबैभन्दा धेरै ६७ प्रतिशत तामाङ, १२ प्रतिशत राई, लिम्बु दनुवार, ६ प्रतिशत मगर र माझी, पहरी, दलित जातिको बसोबास छ ।
यी समुदायको भाषा संस्कृति लोप हुन नदिन लागि पाठ्यक्रममा समेट्नका लागि गाउँपालिका लागि परेको छ ।
अन्य समुदायभन्दा पनि न्यून संख्यामा रहेको पहरी जातिको भाषा संस्कृति संरक्षणका लागि खोजी गर्ने काम भइरहेको छ । पाठ्यक्रम बनाउने संस्थाको सहयोगमा हामीले यस्ता लोप हुँदै गरेको जातिको भाषा, धर्म, संस्कारलाई संरक्षणका लागि पाठ्यक्रम विकासमा लागेका छौं । पाठ्यक्रमअनुसार हामी चल्नेछौं ।
यो काम गर्न पाएको भए अझ राम्रो हुन्थ्यो कि भन्ने केही छन् ?
सुरुवातको अवस्थामा निकै अन्योल थियो । स्थानीय सरकारको चुनाव भए पनि प्रदेश र संघको भएको थिएन । हामीले बनाएको नीति नियम कानुन संघ र प्रदेशसँग बाझिन नमिल्ने हुँदा अन्योलमा परेका थियौं । बजेट, पैसा भए पनि नीति नियमको कुराले सुरुको एक वर्ष सक्रिय रुपमा काम पाएन ।
गाउँपालिकाको सबै नागरिकलाई सहज हुने ठाउँमा कार्यालय बनाउनु पर्ने भनव निर्माणको काम भयो । फेरि कर्मचारी फूलफिल भएन लगायत धेरै समस्या,बाधा, अड्चनबाट यहाँसम्म आइपुगेका छौं ।
अझै पनि प्रदेशले बजेट निर्माणदेखि हरेक कुरामा हाम्रो पालिकामा काम गर्नुपर्छ तर पालिकाको कर्मचारीलाई नै थाहा हुँदैन । पालिकाको भन्दा साना साना बजेटहरु पठाउनुहुन्छ यस्ता समस्या भएका विषयहरु हुन् । जनताले चाहेको जस्तो काम गर्न खासै सकेका छैनौं । विभिन्न कारणले गर्दा भएका श्रोत साधन पनि प्रयोग गर्न सकेनौं । बिस्तारै जनताले चाहेको शिक्षा ,स्वास्थ्य, विकासका योजनाहरु अघि बढ्ने छन् ।