काभ्रेपलाञ्चोक । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काभ्रेपलाञ्चोकमा छ पदका लागि ६७ ले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता भएकामध्ये चार प्रदेशसभा सदस्यभन्दा दुई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अधिक रहेको छ ।
आइतबार गरिएको मनोनयन दर्ताअन्तर्गत जिल्लाको दुई प्रतिनिधिसभा क्षेत्रमा ३३ जनाले उम्मेदवारी दर्ता गर्नुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा १७ र २ मा १६ ले उम्मेदवारी दर्ता गराउनुभएको हो । दुवै क्षेत्रको प्रदेशसभा (क) र (ख)मा उम्मेदवारी दिने उम्मेदवारको सङ्ख्या र प्रतिनिधिसभामा मात्रै उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या करिब बराबर छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् ।
यस्तै जिल्लाको प्रतिनिधिसभा–१ अन्तर्गतको प्रदेशसभा (क) र (ख) का लागि नौ–नौ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गतको प्रदेशसभा (क) का लागि छ र प्रदेशसभा (ख) का लागि आठ जनाले उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ ।
जिल्लाका दुवै क्षेत्रमा सत्ता गठबन्धनमा रहेका दल, एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपालगायतका नेताले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का सूर्यमान दोङ, एमालेका तर्फबाट रेशम लामालगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा (क) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रत्न ढकाल, एमालेका तर्फबाट दिलीप लामा, प्रदेशसभा (ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका तीर्थ लामा, एमालेका तर्फबाट चन्द्रबहादुर लामालगायतले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यसैगरी प्रतिनिधीसभा क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट कांग्रेसका शिवप्रसाद हुमागाईँ, एमालेका तर्फबाट गोकुलप्रसाद बाँस्कोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस क्षेत्रअन्तर्गत प्रदेशसभा (क)मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण लम्साल, एमालेबाट कुमार खकुरेल, प्रदेशसभा (ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका कञ्चनचन्द्र बादे र एमालेबाट कुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जिल्लामा हालै दर्ता नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा बसुनारायण श्रेष्ठ र २ मा दिनेश हुमागाईँले उम्मेदवारी दिनुभएको छ । केही साना दलका नेताले भने स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गर्नुभएको छ । काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि ३० दलले निर्वाचन चिह्नका लागि निवदेन दर्ता गरेका थिए ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार यही असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । जिल्लामा यही असोज १५ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन् । एक सय ९० मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।
हेर्नुहोस् सूची