एजेन्सी । अफगानिस्तानबाट सन् २०२१ को अहिलेसम्ममा ६ लाख ३४ हजारभन्दा बढी मानीसहरु विस्थापित भएका छन् । यो सङ्ख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीहरुको भएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार कुल ६ लाख ३४ हजार ८०० भन्दा बढी विस्थापित भएको देखिएको छ । विस्थापित भएकामध्ये दुई लाख ८२ हजार २४६ जनालाई विभिन्न सहयोग पनि प्रदान गरिएको अधिकारीहरुले जनाएका छन् ।
देशमा भइरहेको आन्तरिक द्धन्द्धका कारण विस्थापित भएको जनाइएको छ । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि देशभन्दा बाहिर विस्थापित भएकाहरुको सङ्ख्यामा पनि एकाएक बृद्धि भएको पाइएको छ ।
देश बाहिर विस्थापित भएका मध्ये विदेशी नागरिकहरुको सङ्ख्या धेरै रहेको सरकारी अधिकारीहरुको भनाई छ । विस्थापित भएकामध्ये २८ हजारभन्दा बढी प्राकृतिक प्रकोपका कारण विस्थापित भएका पाइएको छ ।
अफगानिस्तानमा विस्थापित भएका र संकटमा परेकाहरुलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घले सबैलाई आह्वान पनि गरेको छ । अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन राष्ट्रसंघले विदेशी समुदायलाई आग्रह गरेको हो ।
संयुक्त राष्ट्रसङ्घको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए ।
ती देशले कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले भने अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै प्रतिबद्धता व्यक्त गरिएको सो रकम तत्कालै उपलब्ध गराउन प्रतिवद्धता जनाएको छ । अफगानिस्तानको आर्थिक अवस्था नराम्रोसँग बिग्रिएको र ठूलो मानवीय सङ्कट आउन लागेकोले सहयोगको आवश्यक परेको राष्ट्रसंघले जनाएको छ ।
हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराउनुभएको थियो । अफगानिस्तानका नागरिकलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।