४३ वर्षदेखि वामपन्थी राजनीतिमा सक्रिय पूर्वमन्त्री हितबहादुर तामाङ वाम-लोकतान्त्रिक गठबन्धनबाट नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा साझा उम्मेदवार बन्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तामाङ २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट भारी मतले विजयी बन्नुभएको थियो । फेरि पार्टीबाट निर्विरोध उम्मेदवार सिफारिस हुनुभई कांग्रेस-माओवादी-एकीकृत समाजवादीको साझा उम्मेदवार छनोटमा पर्नुभएका तामाङ पार्टीभित्र इमान्दार, कुशल संगठक र सालिन नेताका रुपमा परिचित हुनुहुन्छ । राज्यका उच्च ओहोदामा पुग्दासमेत जनता (मतदाता)सँग सहज पहुँच राख्ने र सरल शैलीका तामाङ स्पष्ट वक्ता पनि । जे सकिन्छ खुरु खुरु गर्ने, आश्वासन र विपक्षीलाई बिझाउने वचन लगाउन नचाहने व्यवहारले पनि उहाँ जिल्लामा जनप्रिय नेता बन्नुभएको निकटस्थहरु बताउँछन् । २०६३ सालमा अन्तरिम व्यवस्थापिका सांसद, २०६६ सालमा युवा तथा खेलकुदमन्त्री, २०७४ मा प्रतिनिधिसभा सदस्य बन्नुभयो ।
नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका ३ घलेगाउँ (साविक पञ्चकन्या गाविस १ नम्बर वडा)मा मध्यम वर्गीय किसान परिवारमा २०२० सालमा जन्मिनुभएको हो, निवर्तमान सांसद तामाङ । बुबा माइते तामाङ र आमा श्रीमाया तामाङको माइलो सन्तान हितबहादुर । उहाँका जेठो दाइ जीतबहादुर, कान्छा भाइ वीरबहादुर अनि तीन दिदीबहिनी । उहाँको बाल्यावस्था गाउँमै मेलापात, गोठालाका रुपमा बित्यो थियो । २ छोरी र १ छोराका पिता हितबहादुर हाल काठमाडौंको चण्डोलमा डेरामा सपरिवार बस्दै आउनुभएको छ । दाइभाइ सामान्य किसानी कर्ममा रहनु भए पनि हितबहादुर देशमा केही गरौं भन्ने भावनाले सानैदेखि सामाजिक काम र राजनीतिक गतिविधिमा रुचि राख्नुहुन्थ्यो ।
तामाङले नुवाकोटकै अमर ज्योति उच्च माध्यमिक विद्यालय खरानीटारमा औपचारिक शिक्षा सुरुवात गर्नुभएको हो । सोही विद्यालयबाट वि.सं. २०३९ सालमा प्रवेशिका (एसएलसी) उत्तीर्ण गर्नुभयो । एसलसीलगत्तै ०४० सालमा थप्रेक निम्न माध्यमिक विद्यालयमा करिब २ वर्ष अध्यापन गराउनुभएको थियो ।
राजनीतिक पृष्ठभूमि
पूर्वमन्त्री तामाङ २०३६ सालमा १६ वर्षको कलिलो उमेरमै मार्क्सवाद, लेनिनवाद, माओवादको दर्शनबाट प्रभावित भई कम्युनिष्ट राजनीतिमा लाग्नुभएको हो । २०३६ सालमा अनेरास्ववियुको छैटौं जिल्ला सम्मेलनबाट सदस्य बन्नुभएका उहाँले २०३८ सालमा नुवाकोट जिल्ला समिति सचिव पदको जिम्मेवारी पाउनुभयो । भ्रातृ संगठनहरुमा सक्रिय रहँदै गर्दा उहाँले ०४७ सालमा मात्रै नेकपा चौथो महाधिवेशन पार्टीको सदस्यता लिनुभयो । ०४८ मा नेकपा एकता केन्द्रको जिल्ला उपाध्यक्ष, ५१ सालमा नेकपा माओवादीको जिल्ला पार्टी प्रमुख (सेक्रेटरी), २०५८ सालमा नुवाकोट जिल्लाको जनसरकार प्रमुख, २०६० साल माघ १ गते ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख बन्नुभयो । २०४९ सालमा जनवादी युवा लिगको केन्द्रीय सदस्य पनि बन्नुभयो उहाँ ।
२०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि उहाँ भूमिगत हुनुभएको थियो । भूमिगतकालमा ०५३ सालमा क्षेत्रीय ब्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज भएर काम गर्नुभयो । खुला राजनीतिमा होस् वा युद्धकालीन कठिन दिनमा उहाँको नेतृत्वदायी भूमिकाका कारण २०५९ सालमा उहाँलाई पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी सुम्पियो । त्यसको अर्को वर्ष अर्थात् २०६० साल जेठमा देशद्रोहीको अभियोगमा भारतीय सरकारले गिरफ्तार गरी पटनास्थित जेलमा राख्यो । जब नेकपा माओवादी शान्ति प्रक्रियामा आयो, त्यसपछि २५ महिनाको जेलजीवनमुक्त हुनुभयो उहाँ ।
तामाङ समुदायभित्र आफूलाई अब्बल साबित गर्नुभएका पूर्वमन्त्री तामाङ माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संस्थापक । नुवाकोटमा वामपन्थी आन्दोलनका अगुवा हुनुका साथै वर्गीय र जातीय आन्दोलनका अथक योद्धा तामाङ २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायिका बन्नुभयो । जनयुद्धकै मूल एजेन्डा संविधानसभाबाट संविधान निर्माणको लागि २०६४ सालमा देशमा पहिलो संविधानसभा निर्वाचन भयो । उक्त निर्वाचनमा देशभर माओवादी उम्मेदवारको जितको लहर आयो । तर, साविकको नुवाकोट क्षेत्र नं २ बाट तामाङ झिनो मतले पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार रामशरण महतसँग जित्न सक्नुभएन ।
पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि फेरि २०७० मा दोस्रो संविधानसभा निर्वाचन भयो मुलुकमा । त्यस समयमा पनि पार्टी विभाजनलगायत कारणले उहाँको पक्षमा निर्वाचन परिणाम आएन । दोस्रो संविधानसभाबाट २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भयो । नयाँ संविधानअनुसार २०७४ मा भएको आमनिर्वाचनमा नेता तामाङ खुला राजनीतिपछि तेस्रोपटक प्रतिनिधिसभाको उम्मेदवार बन्नुभयो । त्यस समयमा माओवादी र एमाले गठबन्धन एकातिर, कांग्रेसलगायत दल अर्कोतिर । तामाङ वाम-गठबन्धनका साझा उम्मेदवारका रुपमा नुवाकोट क्षेत्र नं १ बाट कांग्रेसका प्रभावशाली नेता रामशरण महतलाई ८ हजार ८५७ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।अहिले वाम-लोकतान्त्रिक गठबन्धनबाट प्रत्यक्षतर्फ साझा उम्मेदवार बन्नुभएको छ ।