नुवाकोट । शिवपुरी गाउँपालिकाले दुई दिने बृहत् स्वास्थ्य शिविर आयोजना गरेको छ । असोज २८ र २९ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष गोविन्द थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय निर्वाचनमा स्वास्थ्यलाई एजेन्डा बनाएअनुसार पालिकाले शिविर आयोजना गर्न लागेको हो ।
उहाँले भन्नुभयो, 'स्थानीय निर्वाचनमा स्वास्थ्यको विषयलाई पनि महत्वका साथ राखेका थियौं अहिले त्यो कुरा पूरा गर्न र आवश्यकता भएकैले नि:शुल्क शिविरको आयोजना गरिएको हो, यो क्रम निरन्तर चलिरहने छ, आँखाको थप समस्या भएका बिरामीलाई बीपी कोइराला नेत्र अध्ययन केन्द्रमा पठाउनेछौं ।' पालिका केन्द्र शेराबगरमा हुने शिविरमा आँखासम्बन्धी जाँच तथा मोतिबिन्दुको अप्रेसन, मेडिकल सामान्य चिकित्सा सेवा, महिला तथा स्त्रीरोग, पाठेघरसम्बन्धी जाँच तथा उपचार, दन्त सेवा (किराले खाएको दाँत उखेल्ने), सर्जरी सेवा प्रदान गरिने छ । साथै शरीरमा गाँठागुठी पलाएको, कोठी पलाएको, खिल पल्टेको पनि उपचार गरिने छ ।
हर्नियाको अप्रेशन, हाईड्रोसिल, अन्डाकोषमा पानी जमेको अप्रेसन गर्नुका साथै भ्यासेक्टोमी गरिने छ । शिविरमा देखिएको रोगको उपचार शिविरमा सम्भव नभए अन्य अस्पताल पठाइने र त्यसमा सहकार्यको कुरा भइरहेको अध्यक्ष थपलियाले जानकारी दिनुभयो । पालिका उपाध्यक्ष वीरबहादुर तामाङले पालिका भवनमा आयोजना हुने दुई दिने शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराउन नागरिकलाई आग्रह गर्नुभएको छ । शिविर बिहान ९ देखि अपराह्न ४ बजेसम्म चल्ने छ ।
पालिकाको आयोजना हुने शिविरमा नेपाल स्वास्थ्यकर्मी संघ त्रि.वि चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको संयोजकत्वमा त्रि.वि शिक्षण अस्पताल, बीपी कोइराला नेत्र अध्ययन केन्द्र, बीपी स्मृति महाराजगंजको विशेषज्ञ र प्राविधिकहरु सहभागी हुनेछन् ।