नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ का वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं पूर्वमन्त्री हितबहादुर तामाङले नेकपा एमालेका उम्मेदवार बद्री मैनाली र नारायणप्रसाद खतिवडाले सरकारी बजेटले कार्यकर्ता पोस्नमात्रै काम गरेको आरोप लगाउनुभएको छ । उहाँले ५ वर्षको बीचमा कतै आफ्नो निर्वाचन क्षेत्रमा ४ किलोमिटर बाटो कालोपत्रे भएको देखाउन मैनालीलाई चुनौती दिनुभयो ।
वाम-लोकतान्त्रिक गठबन्धनको शनिबार खरानीटारमा बसेको क्षेत्रीयस्तरको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै तामाङले निवर्तमान प्रदेशसभा सदस्य राधिका तामाङको क्षेत्रमा थुप्रै काम भए पनि मैनालीले देखिने काम गर्नै नसकेको ठोकुवा गर्नुभएको हो । 'बद्रीजीले के गर्नुभयो भने आफ्नो पहलमा जाने रकम टोल, टोलमा, वडा वडामा कतै ५० लाख, कतै ३० लाख, कतै ४० लाख, कतै ६० लाख दिएर कार्यकर्ता पोस्नमात्रै काम गर्नुभयो । देखिने खालको कुनै काम गर्नुभएन उहाँले,' उहाँले चुनौतीको शैलीमा भन्नुभयो, 'उहाँको पहलमा ४ किलोमिटरमात्रै कालोपत्रे भएको सडक देखाउनुस् त ? पैसा उत्तिनै आउने हो ।'
'यहाँ प्रदेश माननीय राधिका तामाङ हुनुहुन्छ । हामीले केही कामहरु गरेर देखायौं । त्यत्तिकै हैसियतामा जित्नुभएका बद्री मैनाली हुनुहुन्थ्यो । उहाँ (राधिका) को क्षेत्रमा जति काम देखाउनुभएको छ । उहाँ (बद्री)को क्षेत्रमा कतै देख्नुभएको छ ?,' उहाँले अगाडि भन्नुभयो, 'गुर्जेदेखि समुद्रदेवीको सिंगै तेर्सो भाग कालोपत्रे भएको छ । गुणस्तरीय कालोपत्रे । त्यसपछिको बाँकी कामलाई निरन्तरता दिनका निमित्त अहिले ७१ करोडको टेन्डर भाको छ । शेराबगर-कुख्रे-मानेभञ्याङ हुँदै दुप्चेश्वर आउनका निमित्त । हामीले शिवपुरीको ढलानघरबाट कुण्डला घलेभञ्ज्याङ हुँदै समुन्द्रटार जाने सडकको टेण्डर सम्पन्न गरिसक्यौं । हाम्रै पहलमा रानीपौवाबाट शेरा हुँदै विदुरमा जोड्ने सडक टेन्डर गर्दैछौं ।'
आफ्नो सिफारिसमा गुर्जे-छहरे सडकलाई १० करोड घर्लप्पै हालेको जानकारी दिनुहुँदै तामाङले क्षेत्र नम्बर २ बाट गत निर्वाचनमा निर्वाचित एमाले सांसद नारायणप्रसाद खतिवडाले पनि जथाभावी बजेट छरेको उल्लेख गर्नुभयो ।
'प्रत्यक्षतर्फ जितेका सांसदलाई १ पटक १०/१० करोड पैसा उहाँहरुको सिफारिसमा आयोजनालाई दिने भनेर सरकारले नीति बनायो । त्यो रकम एमालेबाट निर्वाचन सांसद नारायणप्रसाद खतिवडाले २/२ करोडको दरले बाँड्नुभयो होला सायद,' उहाँले भन्नुभयो, 'मैले १० सै करोड बजेट गुर्जेभञ्ज्याङ, ठानाभञ्ज्याङ हुँदै छहरे सडकलाई सिफारिस गरेँ । त्यसले केही सहजता प्राप्त गरेको छ । सडक बनिरहेको छ ।'
पछिल्ला वर्षमा सरकारलाई नुवाकोटमा अलि बढी रकम पार्न प्रेसर दिएको भन्नुहुँदै निवर्तमान सांसद तामाङले आफूहरु ३ जनाको उम्मेदवारी १ नम्बर क्षेत्रको विकासको निमित्त भएको प्रस्ट्याउनुभयो । उहाँले निर्वाचित भइसकेपछि विकास निर्माणका विषयमा सामूहिकरुपमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
'सन्तुलित हिसाबले कुन ठाउँमा के गर्ने, भौतिक पूर्वाधारको हिसाबले, कृषि क्षेत्रको हिसाबले पर्यटन प्रवर्द्धन कार्यक्रमको हिसाबले मतदाताले चाहेअनुसार सामूहिकरुपमा छलफल गरेर काम गर्न हामी संकल्परत छौं,' उहाँले भन्नुभयो ।
क्षेत्र १ (१) का उम्मेदवार एवं माओवादी केन्द्रकी केन्द्रीय सदस्य राधिका तामाङले पात्र मन पर्ला, नपर्ला तर पार्टी वा गठबन्धन हार्न नहुने र गठबन्धन जिताउनका निम्ति सबै नेता, कार्यकर्ता लाग्नेमा विश्वास व्यक्त गर्नुभयो । केही कमीकमजोरी भए चुनावपछि समीक्षा गर्ने भन्नुहुँदै उहाँले एकताबद्ध भएर चुनावमा लाग्न आग्रह गर्नुभयो ।
क्षेत्र १ (२) का उम्मेदवार एवं नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति रमेशकुमार महतले आफू उम्मेदवार भएको ठाउँमा माओवादीलाई प्राथमिकता दिने, हितबहादुर तामाङ र राधिका तामाङ उठ्नुभएको ठाउँमा कांग्रेसलाई प्राथमिकता दिने गरी संयुक्त अवधारणा ल्याउने जानकारी दिनुभयो । 'हामीसँग प्रतिस्पर्धा गर्न खोज्ने दलका साथीहरुले उम्मेदवारी दिएको दिन बोलेको मैले सुनेको छु, उहाँहरुलाई मेरो चुनौती हो, तपाईंहरु सक्नुहुन्छ भने काम गरेर देखाउनुस्,' उहाँले भन्नुभयो, 'हिजो निर्वाचित भएर उहाँहरुले के-के काम गर्नुभएको छ हामीले बुझेका छौं । उहाँहरुले कति दुरुपयोग गर्नुभएको छ । त्यो पनि बुझेका छौं । हिजो सँगसँगै हिँड्दा ठीक हुने आज अलग हुँदा बेठीक हुने ? त्यो राजनीतिक चरित्र होइन । त्यो चरित्र यो निर्वाचनले सदाका लागि परास्त गर्नेछ ।'
कांग्रेस क्षेत्र नम्बर १ का सभापति एवं लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ गठबन्धनका उम्मेदवारहरुमाथि एमाले उम्मेदवारले जथाभावी बोलेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले आफूहरु जाइ नलाग्ने र आइलागेमा नछोड्ने चेतावनी दिनुभयो । नुवाकोटमा बलियो शक्ति नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेको छ । स्थानीय तहको मत परिणामलाई मात्रै आधार मान्दा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा एमालेभन्दा गठबन्धनको मत ३६ हजारले बढी देखिन्छ ।