काठमाडौं । नेपाली कांग्रेसका युवा दस्ता तरुण दलका केन्द्रीय अध्यक्ष विध्वान गुरुङले हिजोको तिक्ताता बिर्सेर गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने दायित्व आफूहरुको काँधमा रहेको बताउनुभएको छ ।
नुवाकोट क्षेत्र नम्बर १ का तरुण दलका युवाहरुसँग आइतबार भेट गर्नुहुँदै अध्यक्ष गुरुङले संविधान रक्षा, मुलुकको विकास र समृद्धिका लागि गठबन्धन बनेकोले गठबन्धनका उम्मेदवारहरुलाई जिताउने दायित्व युवाहरुको भएको बताउनुभएको हो । 'आज हामीले बनाएको संविधानको रक्षाका लागि फेरि पनि यो मुलुकको विकास र समृद्धिका लागि जसरी अहिले सरकारमा गठबन्धन बनेको छ । यो गठबन्धनका उम्मेदवारहरुलाई आउँदो चुनावमा जिताउने दायित्व हाम्रो रहन्छ ।'
उहाँले अगाडि भन्नुभयो, 'हिजोदेखि नेपाली जनताको विजयमा, सपना पूरा गर्न स्थापना भएको पार्टी भएकोले लोकतन्त्रका निम्ति राणाहरुकाविरुद्ध राजाहरुसँग मिल्यौं । राजाका विरुद्धमा वामपन्थीहरुसँग मिल्यौं र अहिले संविधान रक्षाका लागि वामपन्थी र लोकतन्त्रवादीहरुको गठबन्धन बनेको छ ।' विपक्षी पार्टी एमालेप्रति कुनै आपत्ति नरहेको भन्नुहुँदै अध्यक्ष गुरुङले उक्त पार्टी अध्यक्ष केपी शर्मा ओलीको विचार र सोचप्रति आपत्ति रहेको बताउनुभयो ।
२०७४ सालको चुनावमा जनतालाई ठूला ठूला सपना बाँडेर ओलीले धोका दिएको अध्यक्ष गुरुङको भनाइ थियो । अब ओली र उनको पार्टीले जनतासँग मत माग्ने अधिकार र नैतिकता नभएको उहाँले बताउनुभयो । मुलुकमा जति पनि परिवर्तनहरु भएका छन्, उपलब्धिहरु भएका छन् । त्यो नेपाली कांग्रेसका नेता र कार्यकर्ताको देन हो भन्नुहुँदै अध्यक्ष गुरुङले कांग्रेस बन्न र कार्यकर्ता बन्न झन् गाह्रो रहेको उल्लेख गर्नुभयो । नुवाकोट १ तरुण दल क्षेत्रीय समितिसँगै केन्द्रीय समितिको साथ रहेको उहाँले बताउनुभयो ।
नुवाकोट १ मा शक्तिशाली पार्टीहरु कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको छ । गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङ, प्रदेशसभा सदस्य १ (१) मा केन्द्रीय सदस्य राधिका तामाङ र १ (२) मा कांग्रेसका जिल्ला सभापति रमेशकुमार महत उम्मेदवार बन्नुभएको छ ।