नुवाकोट । नयाँ आर्थिक वर्ष २०७८/७९ सुरु भएसँगै जिल्लाको ककनी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास भएको छ ।
जग्गा उपलब्ध गराउन समस्या भएकोले ढिलाइ गरी भवन बनाउन सुरु भएको अध्यक्ष मानबहादुर लामाले ग्लोबल मिडियासँग बताउनुभयो । भवन प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री हितबहादुर तामाङले एक समारोहबीच शुक्रबार शिलान्यास गर्नुभएको हो । कार्यक्रममा नेता तामाङले स्थानीय तहलाई थप विकसित गर्ने क्रममा गाउँपालिका एक कदम अगाडि बढेको बताउनुभयो ।
गाउँपालिकाको वडा नम्बर ४ स्थित रानीपौवा स्वास्थ्य कार्यालय नजिकै बन्ने प्रशासनिक भवनको लागत कुल ९ करोड ५ लाख रहेको छ । शिलान्यास समारोहमा गाउँपालिका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता खतिवडा, ४ नम्बर वडाका अध्यक्ष दिपेश तामाङ लगायत स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मीहरुको सहभागिता रहेको थियो ।
भवन निर्माणको लागि गाउँपालिकाले गाउँसभाबाट बजेट सुनिश्चित गर्दै निर्माण कार्य अगाडि बढाइएको ककनी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर नेपालले बताउनुभयो ।
अध्यक्ष लामाले भवन निर्माणका लागि टेण्डर आह्वान भइसकेकोले अब छिट्टै निर्माण सुरु हुने विश्वास दिलाउनुभयो । ९ रोपनी क्षेत्रफलमा आधुनिक किसिमको भवन निर्माण हुने र १८ महिनामा सकाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।
८ वटा वडा रहेको ककनी गाउँपालिकामा ५ वटा वडा कार्यालयहरु भने निर्माण भइसकेको अध्यक्ष लामाले बताउनुभयो । बाँकी ३ वटा वडा कार्यालयहरु बनाउने चरणमा रहेको छ ।
जिल्लाको शिवपुरी गाउँपालिकाले प्रशासकीय भवन निर्माण गरिसकेको छ भने पञ्चकन्या गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको छ ।