गंगानारायण श्रेष्ठ ३७ वर्षदेखि नेपाली राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले २०४३ सालदेखि अहिलेसम्म राजनीतिको महत्वपूर्ण पाटोमा भूमिका निर्वाह गर्नुभएको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई नेकपा माओवादीबाट अलग भएर नयाँ शक्ति खोल्दा उहाँ पनि त्यतै लाग्नुभयो । अहिले नेसपाको सहअध्यक्षको जिम्मेवारीमा रहनुभएका श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ ।
वाग्मती प्रदेशसभाका लागि सिन्धुली क्षेत्र नम्बर २ (२) बाट निर्वाचनमा होमिनुभएका श्रेष्ठ जनप्रतिनिधि भएर जनसेवा गर्ने आकांक्षामा हुनुहुन्छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा नेकपा एकीकृत समाजवादी पार्टी सम्मिलित वाम–लोकतान्त्रिक पार्टीमा साझा उम्मेदवार हो उहाँ ।
कमलामाई नगरपालिका वार्ड नम्बर ५ मा वि.सं २०२६ सालमा जन्मिनुभएका श्रेष्ठले स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । विद्यार्थीकालमै राजनीतिक यात्रामा होमिनुभएका श्रेष्ठ कुनै पनि विषयलाई सुक्ष्म अध्ययन गर्ने र अब्बल प्रस्तुति राख्ने नेतामा पर्नुहुन्छ । नेसपाका सहअध्यक्ष पार्टी निर्णय अनुसार माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडामा निर्वाचन लड्दै हुनुहुन्छ ।
माओवादीले सञ्चालन गरेको १० वर्षको जनयुद्धमा सहअध्यक्ष श्रेष्ठ अग्रमोर्चामा खटिनुभयो । जनयुद्ध सुरुवातमै सिन्धुलीगढीको प्रहरी चौकी कब्जा गर्दा श्रेष्ठ आफै कमान्डर हुनुहुन्थ्यो । बुलेटबाट ब्यालेटको मैदानमा रहनुभएका श्रेष्ठको आउँदो मंसिर ४ मा परीक्षा हुँदैछ ।
५ वर्ष ३ महिनाको कहालीलाग्दो जेलजीवन
जनयुद्ध सुरु भएको वर्षदिनपछि अर्थात् २०५३ साल वैशाख २४ गते सिन्धुलीको अमलेबाट उहाँ गिरफ्तार हुनुभयो । त्यसबेला उहाँले ५ वर्ष ३ महिना जेलजीवन बिताउनुभयो । सहअध्यक्ष श्रेष्ठ गिरफ्तार हुँदा देशमा जनयुद्ध निकै चर्किएको थियो । सो समयमा सरकारले त्यो उहाँलाई विभिन्न जेलमा सारियो र निकै कष्टकर जीवन बिताएको सम्झनुहुन्छ । जेलमुक्त भएपछि पनि श्रेष्ठ जनताको हक र हितको निम्ति विचलित हुनुभएन । पुनः जनयुद्धमै होमिनुभयो । जसको परिणाम केही हदसम्म भए पनि नागरिकले प्राप्त गरेको अनुभूति उहाँले गर्नुभएको छ ।
जनयुद्धकै जगमा देशमा राजतन्त्रात्मक व्यवस्था ढल्यो भने संघीयता, समानुपातिक, समावेशीसहितको संविधान जारी भएको छ । नागरिकले भनेजति समान तरिकाले हक प्राप्त गर्न नसके पनि अधिकार माग्न सक्ने बनेका छन् । ०६३ मा अन्तरिम विधायिकाको रुपमा ११ महिना भूमिका निर्वाह गर्नुभयो ।
बाबुराम भट्टराई प्रधानमन्त्री बन्दा प्रमुख स्वकीय सचिवको भूमिकामा हुनुहुन्थ्यो । जुन समयमा उहाँले १८ महिना सरकारको कामलाई निकै नजिकबाट नियाल्ने र बुझ्ने मौका प्राप्त गर्नुभएको थियो ।