घलेभञ्ज्याङ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ का वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हितबहादुर तामाङले आफूहरुले जिल्लामा ६ वटै क्षेत्र जिताउने जिम्मा लिएर आएकाले खेलाँची नगर्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
पञ्चकन्या गाउँपालिकास्तरीय संयुक्त बैठकलाई बिहीबार घलेभञ्ज्याङमा सम्बोधन गर्नुहुँदै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तामाङले टिकट बाँडफाँटको अन्तिम समयमा गठबन्धनका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नुवाकोटमा गठबन्धन जिताउने जिम्मा माओवादीबाट आफू र कांग्रेसबाट अर्जुननरसिंह केसी, रामशरण महत, प्रकाशशरण महतले लिएको खुलासा गर्नुभएको हो ।
दुई निर्वाचन क्षेत्र रहेका नुवाकोटमा कांग्रेस र माओवादीबीच प्रतिनिधिसभा १/१ र प्रदेशसभामा २/२ वटा सिट भागबन्डा लगाएर उम्मेदवार उठाइएको छ । 'तपाईंहरुसँग म नयाँ कुरा भन्दैछु, जुन दिन उम्मेदवारहरुको नाम फिर्ता लिने र मिलाउने दिन थियो । त्यो दिन नुवाकोट २ को १ नम्बर प्रदेशमा रामप्रसाद ढुंगानालाई टिकट कायम गर्ने र २ को २ नम्बर प्रदेशमा बहादुरसिं लामाको उम्मेदवारी कायम गर्ने बेलामा शीर्ष नेताहरुको तहमा टुंग्याउन म आफैं गएर जिम्ला लिएर आएको छु,' पूर्वमन्त्री तामाङले भन्नुभयो,'उहाँले मलाई सोध्नु भएको थियो यसो गरेपछि जिताउन सकिन्छ होइन त ? मैले भने, जिताउन सकिन्छ । यसो भएमात्र जित्न सकिन्छ नुवाकोटमा । नत्र जित्न सकिन्न भनेर जिम्मा लिएर आएको छु ।' उहाँले थप्नुभयो,'नेपाली कांग्रेसका नेताहरु पनि त्यहाँ हुनुहुन्थ्यो । कांग्रेस सभापति शेरबहादुर देउवाले त, ल उसो भए यसै गरौं । जिताएर ल्याउनुपर्छ तपाईंहरुले भनेर सिधैं अर्जुननरसिंह केसीजीलाई भन्नुभएको थियो । बहादुरसिंलाई पनि भन्नुभएको थियो । त्यो निर्णय प्रक्रियामा हाम्रा प्रकाशशरण महतजी पनि जोडिनुभएको छ ।
रामशरण महतजी पनि जोडिनुभएको छ । यदि यो जिल्लामा हामीले चुनाव हार्यौं भने नेकपा माओवादी केन्द्रको मात्रै होइन । जिम्मा लिएर आउने हितबहादुर तामाङको मूल्यांकन शीर्ष नेताहरुले कसरी गर्लान् ? हामीले गम्भीरताका साथ सोच्नु पर्ने विषय । रामशरण महत, प्रकाशशरण महत, अर्जुननरसिंह केसीको पनि जीवनको अन्तिम कालखण्डमा आएर मूल्यांकनको विषय बन्नेछ ।' दुई पार्टीबीच मत एकले अर्कोलाई देलान् भन्ने आशंका रहे पनि विगतमा एमाले र माओवादी गठबन्धनमा जसरी ६ वटै सिट जिताउनु मत दिनु आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
उहाँले स्थानीय तहमा अलग-अलग चुनाव लडेकोले केही समस्या भए चुनाव अगाडि नै ती विषय मिलाउने निर्देशन समेत दिनुभयो । शान्तिप्रक्रियाका बाँकी काम सकाउने र मुलुकलाई समृद्धितिर लैजाने गरी गठबन्धन उद्देश्य बनेको भन्नुहुँदै उहाँले यो निर्वाचनबाट प्रतिगमनकारीलाई जरैदेखि परास्त गर्नुपर्ने बताउनुभयो ।
गठबन्धनमा समस्या पैदा निराकरण हुँदै गएको भन्नुहुँदै उहाँले निर्वाचनको दौरानमा भइरहेका संयुक्त बैठक एउटै पार्टीका बैठकजस्ता अनुभूत हुने गरेको सुनाउनुभयो । '९ वटा बैठक हुँदा एउटै पार्टी जस्तो अनुभूति भइरहेको छ । दायाँ-बायाँ रहेका रमेशकुमार महत र राधिका तामाङबीच भिन्नता लागेको छैन,' उहाँको भनाइ थियो ।
निर्वाचन जितिसकेपछि जनप्रतिनिधिको हैसियतमा कुनै पार्टीका नेता, कार्यकर्तालाई भेदभाव नगरिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।