घलेभञ्ज्याङ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (२) का वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रमेशकुमार महतले प्रतिनिधिसभामा हितबहादुर तामाङ र प्रदेशसभामा राधिका तामाङलाई जिताउने पहिलो दायित्व नेपाली कांग्रेसको भएको बताउनुभएको छ । पञ्चकन्या गाउँपालिकास्तरीय संयुक्त बैठकलाई बिहीबार घलेभञ्ज्याङमा सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेस नुवाकोटका सभापतिसमेत रहेका महतले क्षेत्र नम्बर १ मा हितबहादुर तामाङ र राधिका तामाङ र २ नम्बर क्षेत्रमा रामप्रासद ढुंगानालाई जिताउने कांग्रेसको जिम्मेवारी र दायित्व रहेको बताउनुभएको हो ।
उहाँले गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेताहरुलाई जिताउन पार्टीभित्र निर्देशन जारी गरिसकेको समेत जानकारी गराउनुभयो । 'नेपाली कांग्रेसका नेता कार्यकर्तालाई म भन्न चाहन्छु- यो क्षेत्रमा हितबहादुर तामाङ दाइलाई जिताउने पहिलो दायित्व कांग्रेसको हुन्छ ।
त्यसैगरी यस क्षेत्रमै राधिका तामाङलाई जिताउने पहिलो जिम्मेवारी नेपाली कांग्रेसका साथीहरुको हुन्छ । र, क्षेत्र नम्बर २ को २ मा रामप्रसाद ढुंगानालाई जिताउने पहिलो दायित्व कांग्रेसको हुनेछ । त्यो निर्देशन हामीले सबैलाई गरेका छौं,' उहाँले भन्नुभयो ।
गठबन्धनको खिलापमा कांग्रेस नेता, कार्यकर्ता गएको सुइँको पाएमा जानकारी गराउन आग्रह गर्दै नेता महतले त्यस्ताहरुलाई गठबन्धनमा भोट हाल्ने वातावरण बनाउने पनि प्रतिबद्धता जनाउनुभयो । 'कुनै कमीकमजोरी भेटाउनुभयो भने । कुनै कांग्रेसका साथीहरुले गठबन्धनको खिलापमा बोलेको थाहा पाउनुभयो भने । हाम्रो जिल्ला संयन्त्र र पार्टीमा सम्पर्क गर्नुहोला । ती साथीहरुलाई सम्झाउने, बुझाउने र गठबन्धनमा मत दिलाउने काम नेपाली कांग्रेसको हुनेछ,' नेता महतको भनाइ छ ।
जिल्लाको विकास र समृद्धिको लागि ३० वर्षदेखि राजनीतिमा रहेको उल्लेख गर्नुहुँदै महतले कसरी नुवाकोटलाई विकास र समृद्ध बनाउने भन्ने आफूहरुको साझा उद्देश्य हुने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, 'हामी तीन दलको भोट लिएर गएपछि सबैको काम गर्ने साझा जनप्रतिनिधि हुन्छौं । सबैको काम गरेर चित्त बुझाउने प्रतिबद्धता व्यक्त गर्छु ।'