सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पालधाप गाउँपालिका-७ भोटेनाम्लाङ निवासी ४३ वार्षीय माया गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति, सामाजिक अभियान्ता, पर्यटन व्यवसायी, समाजसेवी र एक निडर, साहसिक पर्वतारोही महिला हुनुहुन्छ । नेता गुरुङ मंसिर ४ गते हुने संघ र प्रदेशको आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिन्धुपाल्चोक क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि हुनुहुन्छ।
संघर्षको कथा
आमाले बुझाएको शिक्षाको महत्वबाट प्रेरित माया गुरुङ, बुवाले तय गरिदिएको आफ्नो बालबिवाहको अघिल्लो रात विवाह नगर्ने तर आफ्नो पढाई पूरा गरेरै छाड्ने अठोटको साथ १४ वर्षको कलिलो उमेरमा घर छोडेर भाग्ने क्रान्तिकारी महिला नेता हुनुहुन्छ । उहाँले भोगेका जीवनका बेहिसाब संघर्षका व्यथा र सफलताका कथा विश्वका चर्चित टेलिभिजन कार्यक्रमहरुको विषयबस्तु बन्न सफल भएका छन् ।
संघर्षका बाबजुत समाजशास्त्र तथा राजनीतिशास्त्रमा स्नातक तहसम्मको अध्ययन गर्नुभएकी माया गुरुङले सिन्धुपाल्चोक जिल्ला र नेपाललाई विश्वसामु चिनाउने महान उद्देश्य बोकेर सन् २००८ को मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण तथा २००८ कै अक्टोबरमा एशियाकै पहिलो महिला एभरेस्ट स्काई ड्राइभर बनेर सगरमाथाबाट हाम्फाल्ने साहसिक खेल सफलतापूर्वक पूरा गरी एसियाकै साहसिक महिलाहरुको सूचीमा नाम लेखाउन सफल हुनुभएको थियो ।
सन् २०१० देखि सिन्धुपाल्चोक र नेपाललाई विश्वमा चिनाउँदै नेपालको पर्यटन विकासमा योगदान पुर्याउने उद्देश्यले मानव जीवन नै असम्भव रहेको अन्टार्टिका महादेशलगायत संसारभरका ७ वटै महादेशको सबैभन्दा अग्ला अग्ला चुचुराहरुको सफल आरोहण गरी नेपालको झन्डा फहराउने उद्देश्य पूरा गरेपछि अमेरिकाको ह्वाइट हाउसले जब सम्मान गर्न उहाँलाई निमन्त्रणा दियो त्यही बेला एयरपोर्टमा अमेरिकी अध्यागमन कर्मचारीले आफूलाई गरेको सम्मान र अन्य नेपाली दाजुभाइलाई गरेको भेदभावपूर्ण व्यवहार देख्नसाथ हाम्रो नेपाली सबैले विश्वको जुनदेशमा गए पनि मैले जस्तै सम्मानपूर्ण व्यवहार पाउनसके कति राम्रो हुन्थ्यो होला भन्ने भावना जागृत भएको बताउनुहुन्छ ।
अमेरिकामा कहिल्यै स्थायी बसोबास नगर्ने सोच लिएर आफ्नै देशमा समाज र राष्ट्रका लागि केही गर्ने अठोटका साथ नेपाल फर्किनु भएकी माया गुरुङले नेपालका राष्ट्रपतिबाट प्रदान गरिने 'प्रवल जनसेवाश्री पदक' समेतबाट सम्मानित हुनुको साथै नेपालका मन्त्री, प्रधानमन्त्रीलगायत थुप्रै राजनैतिक दल र विभिन्न सयौं संघ संस्थाबाट सम्मानित हुनुभएको छ ।
पछिल्लो समय ठाउँ ठाउँबाट सम्मान लिनको लागि बोलाउँदा समेत उतिसारो चासो नराख्ने, आफ्नो बारेमा धेरै बताइरहन नचाहने, सिन्धुवासी मात्रैको हैन समग्र नेपालकै युवा युवतीहरुको प्रेरणाको खानी माया गुरुङ आफू सम्मानित हुँदै गर्दा आम नेपालीहरु भने अपमानस्वरुप धक्का खाएको देखेर, विश्वमा नेपाल र नेपालीको अवस्था, देशमा व्याप्त व्यतिथि अनि जिम्मेवार निकाय तथा व्यक्तिका गैर जिम्मेवारीपनप्रति असाध्यै असन्तुष्टि प्रकट गर्नुहुन्छ ।
उहाँका संघर्षका व्यथा र सफलताका कथाहरु पूरा हुनको लागि त ३ वटा पुस्तक लेख्दा पनि कमी हुन्छ होला, भन्नुहुने गुरुङ हाल राजनीतिलाई पेसा बनाई अकुत सम्पत्ति आर्जन गरेका राजनीतिज्ञहरुलाई देख्दा असाध्यै चित्त दुखाउनुहुन्छ । हिमाल र हिमाली वातावरण विज्ञ माया गुरुङ आफू चैं जीविकोपार्जनको लागि पैसा कमाउने चाहना राख्दा आफ्नो समाजसेवा र उद्यमशीलताबाट बचेको समयमा देश तथा विदेशमा रहेका ट्रेकिङ कम्पनी तथा संघ संस्थाहरुमा उत्प्रेरक वक्ताको रुपमा कक्षा लिएर आफ्ना अनुभव शेयर गरेबापत न्युनतम १० हजार देखि १ लाख रुपैयाँप्रति घण्टासम्म आर्जन गर्न सक्नुहुन्छ ।
माया गुरुङका समाजसेवाका कामहरु
हाल देशमा व्याप्त व्यतिथि, अराजकता, अविकास, भ्रष्टाचार र बेरोजगारी आदिको समस्या देखेर आजित माया गुरुङले पछिल्लो समय आफ्नो पर्यटन उद्यम संचालनको साथ साथमा उहाँको 'विश्व समावेशी साहसी संस्था' नामको गैरसरकारी संस्था मार्फत आफ्नै पहल र प्रयत्नमा
- २०० भन्दा बढी महिलालाई नेतृत्व तथा उद्यमशिलता विकास तालिम प्रदान गरिसक्नुभएको छ ।
- १०० भन्दा बढी विद्यार्थीहरुलाई विभिन्न तहमा शैक्षिक छात्रवृत्ति प्रदान गरी अध्ययन गराइरहनुभएको छ ।
- २ वर्षसम्म २ हजारभन्दा बढी विपन्न विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्दै आउनुभएको छ ।
- महाविनाशकारी भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाका ७ वटा विद्यालयको अस्थायी सिकाई केन्द्र, २ वटा विद्यालयको पक्की सरहको भवन र २ वटा विद्यालयको खानेपानी तथा शौचालयको व्यवस्थासहित पूर्ण पक्की भवन निर्माण गरी हस्तान्तरण गरिसक्नुभएको छ ।
- लिदी पहिरो पीडितलाई तत्काल १ हेलि राहत सामग्री र ३२ वटा अस्थायी घर निर्माण गरिदिनुका साथै पाँचपोखरी र हेलम्बुका थुप्रै बाढीपीडितहरुलाई राहत सामग्री सहयोग गर्नुभएको छ ।
- एउटा बच्चाले राम्रो शिक्षा हासिल गर्न सक्यो भने उसले समाजको अँध्यारो हटाउन सक्दछ भन्ने मान्यतामा विश्वस्त भएर उहाँले ग्रामीण बस्तीका ३ वटा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न सघाउने उद्देश्यले केही क्षमतावान शिक्षक व्यवस्थापन गर्न आर्थिक सहयोग गर्नुभएको थियो ।
- थुप्रै बेचबिखनमा परेका दिदीबहिनीहरुलाई ट्रेकिङ तथा पर्वतारोहण तालिम गराई आत्मनिर्भर गराउनुभएको छ ।
- सिन्धुपाल्चोकको पर्यटन प्रवर्द्धनमा मद्दत पुर्याउने उद्देश्यले प्रथम पाँचपोखरी म्याराथन आयोजना गरिसक्नुभएको छ ।
- सिन्धुपाल्चोकमै पर्यटन विकासको माध्यमबाट थप रोजगारी सिर्जना गर्ने महान् उद्देश्यले यसअघि कोही आरोहण नगरेको र खुला नगरिएको जुगल हिमाल, ग्याल्जेन पिक, युवा पिक, टिलमान पासजस्ता साहसिक पर्यटकीय गन्तव्यको राष्ट्रिय पहिचान दिलाउनुको साथै प्रथम सफल आरोहण गर्दै अन्य साहसिक पर्यटकहरुका लागि पनि रुट खोलेर सिन्धुपाल्चोकवासी र समग्र नेपालकै पर्यटन क्षेत्रलाई अमूल्य गुण लगाउनु भएपश्चात् आज जुगल हिमाल बेस क्याम्पमा सयौं युवा तथा स्थानीयहरुले रोजगारी प्राप्त गरिरहनुभएको छ ।
अवधारणा
आफ्नो साथ, सपोर्ट र सहयोगले सयौंलाई टुर गाईड, ट्रेकिङ गाईड तथा रिभर गाईड ट्रेडिङ गराई आत्मनिर्भर बन्न मद्दत पुर्याउनुभएको उहाँलाई हाल शैक्षिक उन्नति कुनै डक्टर, नर्स, पिएचडी, इन्टरनेसनल रिभर गाईड बन्दै गरेर सफलता हासिल गरेको देखेर आनन्द मान्ने माया गुरुङ राज्यका जिम्मेवार निकायका जिम्मेवार व्यक्तिहरुको अनभिज्ञताका कारण थुप्रै विदेशी युवाहरु रोजगारीको लागि नेपाल आएर टुर, ट्रेडिङ तथा माउन्टेन गाईडको काम गरिरहेको र थोरै पैसाको लागि नेपाली दाजुभाइहरु चाहिँ अरबमा भासिनुपरेको देख्दा उहाँको चित्त फिटिक्कै नबुझ्ने बताउनुहुन्छ । राज्यले जिम्मेवार भएर थोरै सपोर्ट गरिदिने हो भने यहीँ पर्वतारोहण प्रशिक्षण केन्द्रहरु खोलेर युवाहरूलाई तालिमदिई थुप्रै रोजगारी सिर्जना गर्न सकिने उहाँको अवधारणा छ ।
मनास्लु र धवलागिरि हिमाल सरसफाई अभियन्ता माया गुरुङई विश्वको सर्वोच्च शिखर हाम्रो सगरमाथामा चुलिँदै गएको मानव मलमुत्र, दुर्घटनाग्रस्त आरोहिको लास र अन्य फोहोरको डङ्गुरले अन्तर्राष्ट्रिय पर्यटन बजारमा हाम्रो सगरमाथाबारे नकारात्मक सन्देश प्रवाह हुन थालेको विषयले भने उहाँलाई सधैं दुखी तुल्याउँछ । तथापि, विश्वका सातै महादेशको भ्रमण गरिसक्नु भएकी माया गुरुङ, हाम्रो देशको नेतृत्व गर्ने ठाउँमा एउटा सक्षम र इमान्दार व्यक्ति पुग्ने हो भने, धेरै हदसम्म समस्या समाधान गर्न सकिने साथै हाम्रो देश जत्तिको स्वर्ग र संभावना तथा अवसरको खानी अन्त कतै नदेखिएको बताउनुहुन्छ ।
राजनीतिक यात्रा
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कार्यशैली र उहाँको नवगठित पार्टीको विचारबाट असाध्यै प्रभावित उहाँ 'इमान्दार तथा सक्षम युवाहरुले राजनीतिमा हस्तक्षेप नगरी हुँदैन' भन्ने निष्कर्षका साथ काठमाडौंमा बालेन शाहलगायत देशैभरी स्वतन्त्र उम्मेदारी दिन प्रोत्साहन गर्ने टिमको एउटा सदस्य हुनुहुन्थ्यो ।
काठमाडौंलगायत कतिपय ठाउँका प्रायः शिक्षित मतदाताहरुलाई राम्ररी कुरा बुझाउन सकिएकोले उहाँहरुको अभियानले सार्थकता पायो भने साम, दाम, दण्ड, भेद सबै प्रयोग हुने दुरदराजका कतिपय स्थानमा उहाँहरुको उम्मेदारीले धेरै कुरा सिक्ने मात्रै अवसर प्राप्त गर्नुभएको उहाँको भनाइ छ ।
यसअघि स्थानीय चुनामा उहाँ गाउँपालिकाको अध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई उभ्याउनुभएको थियो ।
देशमा व्याप्त बेतिथि र भ्रष्टाचारलाई घुँडा टेकाएरै छोड्ने अभियानबाट उत्प्रेरित माया गुरुङ हाल आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन-२०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ को प्रत्यक्षतर्फको उमेदवारको रुपमा अगाडि आउनुभएको छ ।