नेकपा माओवादी केन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभाका लागि संघर्षशील नेता अन्जना विशंखेलाई मैदानमा उतारेको छ । काठमाडौंमै जन्मी हुर्की मुलुक परिवर्तनको आन्दोलनमा होमिएका विशंखे एक परिचित नाम हो ।
विशंखेको जन्म २०३१ साल असार २८ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका- १० सतुङ्गलमा भएको थियो । उहाँका बुबा चन्द्रबहादुर विशंखे र आमा आशा पुरकोटी हुन् ।
नेपालको वामपन्थी आन्दोलनमा समाहित महिला दलित उत्पीडित जाति/जनजातिहरूको अधिकार प्राप्तिको आन्दोलनमा सदैव अग्रमोर्चामा रहने विशंखेले ३ वर्ष शिक्षण पनि गर्नुभएको थियो । स्नातक तहसम्म अध्ययन गरेकी उहाँलाई नेपाली, अंग्रेजी, हिन्दी, नेवारी भाषाको ज्ञान छ ।
विशंखेले जनएकता साप्ताहिकको स्तम्भकारका रूपमा पनि कलम चलाउनुभयो । विभिन्न पत्रपत्रिकाहरूमा उहाँका थुप्रै लेख रचनाहरू प्रकाशित छन् । चीन, बंगलादेश, श्रीलङ्का, भारत, अमेरीका, ब्राजिल, सिंगापुरको भ्रमण गरेकी विशंखेमा ती देशको जस्तै विकास र समृद्धि नेपालमा पनि ल्याउने हुटहुटी छ । सोही उद्देश्य पूर्तिका लागि आफू चुनावी मैदानमा होमिएको उहाँ बताउनुहुन्छ ।
विशंखेले वि. सं. २०४५ सालमा नेकपा मालेनिकट अखिल नेपाल महिला सघंबाट राजनीतिक जीवन सुरु गर्नुभएको थियो । उहाँ २०४७ मा नेपाल क्रान्तिकारी विद्यार्थी संघको सदस्य, २०४८ अनेरास्ववियु पद्मकन्या कलेजको उपाध्यक्ष, २०४८ अखिल नेपाल महिला संघ जिल्ला सदस्य, २०५० अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुँदै २०५२ सालमा नेकपा (एकता केन्द्र) को सदस्यता प्राप्त गर्नुभयो ।
विशंखे २०५३ मा पूर्णकालीन कार्यकर्ता भइ कम्युनिष्ट आन्दोलनमा होमिनुभयो । २०५४ अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य, २०५६ नेकपा (एकता केन्द्र) को एरीया समिति, २०५७ मा जिल्ला समिति सदस्य हुदै २०५७ अखिल नेपाल महिला संघ महासचिव हुनुभयो ।
नेकपा (एकता केन्द्र मसाल) पार्टीको २०५७ देखि २०५९ सम्म चितवन जिल्ला समिति सदस्य तथा पूर्वी क्षेत्रीय समिति इन्चार्ज भएकी विशंखे २०५९ मा नेकपा (एकता केन्द्र) की केन्द्रीय सदस्य बन्नुभयो । केन्द्रीय सदस्य भएपछि २०५९ देखि २०६३ सम्म मकवानपुर जिल्ला समिति सेक्रेटरी बन्नुभयो ।
ऐतिहासिक २०६२/६३ को जनआन्दोलनमा काठमाडौंमा विशंखे घाइते तथा गिरफ्तार हुनुभयो । उहाँ नेकपा (एकता केन्द्र) र नेकपा माओवादी एकतापछि २०६४ मा एकीकृत नेकपा माओवादीकी केन्द्रीय समिति सदस्य बन्नुभयो ।
२०६४ देखि २०७० भोजपुरा राज्य समिति सेक्रेटरी र २०६४ देखि २०७३ सम्म अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को कार्यालय सदस्य तथा २०७३ मा नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सचिवालय सदस्य बन्नुभयो । २०७१ सालमा अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी महासंघको फ्र्याक्सन इन्चार्ज बन्नुभएकी विशंखे २०७३ देखि २०७४ सम्म प्रदेश नं ३ को कार्यालय सदस्यसँगै ललितपुर जिल्ला इन्चार्ज र २०७४ मा सम्पर्क समितिको फ्र्याक्सन इन्चार्ज हुनुभयो ।
२०७४ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचमा एकता भएपछि उहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सहईन्चार्ज बन्नुभयो । २०७८ मा नेकपा विभाजनपछि विशंखे माओवादी केन्द्रको छोटो समय वाग्मती प्रदेश समिति सचिव बन्नुभयो । विशंखे २०७८ मा भएको नेकपा माओवादी केन्द्रको महाधिवेशनबाट स्थायी समिति सदस्यसहित वाग्मती प्रदेश सहईन्चार्ज बन्नुभयो ।
उहाँ २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद् सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्य बनिसक्नुभएको छ ।