काठमाडौं । सातौँ सविधान दिवस स्वदेश र विदेशमा आइतबार विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनुहुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानकारुपमा रहेको ख्याख्या र विश्लेषण गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको छ ।
जनताको हितका खातिर संविधानमा मौलिक हकका रुपमा अनेकौँ प्रावधान राखिएको छ । नेपालको संविधानले मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तहको राज्यसमयन्त्र सुनिश्चिता गरेको छ । निर्वाचनका माध्यमद्वारा तीन तहका सरकार कार्यान्वयनमा गएसँगै जनताले सिंहदरबारको अधिकार घरदैलोबाटै प्राप्त गरेको अनुभूति गरिरहेका छन् ।
यद्यपि मुलुकमा दलबीचका सत्तास्वार्थका कारण यसपटक संविधान दिवस मनाइरहँदा सार्वभौम सम्पन्न जनताको प्रतिनिधिमूलक संस्था संसद् भने अवरोधको स्थितिमा छ । नेकपा (एमाले )भित्रको आन्तरिक घर झगडा र विवादले मुलुकमा नयाँ सरकार गठन गर्न पर्ने स्थिति निम्त्याएको हो ।
उक्त घटनाक्रमले सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्धलाई तिक्ततापूर्ण बनाएको हो । प्रमुख राजनीतिक दलभित्र देखिएको सत्ता सङ्घर्ष जोडिएर आएका निर्णय र प्रकट भएका विचारले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ओज घटनाएको गुनासा सुनिएको छ ।
संविधानको भावनाविपरीत राजनीतिक दल विभाजनका खेलतर्फ पुनःउन्मुख भएको घटनाले जनतालाई दुःखित तुल्याएको छ । लोकतन्त्र स्थापनाको ठूलो सङ्घर्ष गरी योगदान पुर्याएका राजनीतिक नेतृत्वलाई संविधान दिवसले मुलुक र जनताका पक्षमा ठिक निर्णय गर्दै अघि बढ्न संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।
नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्न आवश्यक भएको उल्लेख गर्नुभएको छ ।
नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भएकामा सम्मान र त्यस दिनको स्मरणस्वरुप आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ भन्दै उहाँले देशभित्र तथा बाहिर रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन बलिदान गर्नुहुने सहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपतिले मुलुकमा लोकतान्त्रिक प्रणाली स्थापना गर्न मार्गदर्शन गर्नुहुने अग्रजप्रति सम्मान प्रकट गर्नुभएको छ ।
लामो समयको सङ्क्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरू संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट आफ्ना राजनीतिक उद्देश्य हासिल गर्न सकिने दृष्टिकोणसहित राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल भइरहेका तथा नयाँ संविधान जारी भएयताका वर्षमा संविधानप्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान पुगेको राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ ।
नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध जल, जमिन र जङ्गलजस्ता प्राकृतिक स्रोत र साधनको दिगो सदुपयोग गर्दै उद्यमशीलताको विकासमार्फत उत्पादन वृद्धि, कृषिको आधुनिकीकरणसहित स्वदेशी उत्पादनद्वारा आयात प्रतिस्थापन गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संविधानको मर्म र भावना व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआफ्नोतर्फबाट इमान्दार प्रयास जारी राख्न उहाँले सबैमा आह्वान पनि गर्नुभएको छ ।