विगत लामो समयदेखि सामाजिक, राजनीतिक, शैक्षिकलगायत विभिन्न कार्यमा संलग्न मोहनबहादुर बस्नेत एक हठी स्वभावका नेपाली राजनीतिज्ञ हुनुहुन्छ । २०१५ साल भदौ २७ गते सिन्धुपाल्चोकमा जन्मिनुभएका बस्नेत कोरोनाजस्तो महामारीको समय होस् अथवा बाढीपहिरोजस्ता दैवी प्रकोप, जनतालाई समस्या पर्दा जुनसुकै बेला पनि साथ र सहयोगको निमित्त अग्रसर हुँदै आउनुभएको छ । उहाँले त्रिभुवन विश्वबिद्यालयबाट राजनीतिशास्त्रमा एमए गर्नुभएको छ ।
नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै वि.स २०५६ र २०६८ को आमनिर्वाचनमा सिन्धुपाल्चोक-१ बाट प्रतिनिधिसभा र दोस्रो संविधानसभा सदस्यको रूपमा निर्वाचित हुनुभएको थियो । २०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो मन्त्रिपरिषद्मा सूचना तथा सञ्चारमन्त्रीका रूपमा काम गर्नुभएको उहाँले त्यसअघि २०५६ मा प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा स्वास्थ्य राज्यमन्त्री भई देश र जनताको सेवा गरिसक्नुभएको छ ।
मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लामा मात्र नभएर समग्र देशकै राजनीतिमा एक चिरपरिचित नाम हो । कहिले संसद्भित्र त कहिले बाहिर, कहिले मन्त्री, राज्यमन्त्री बनेर त कहिले कुनै पदमा नरहेर पनि, उही जोश, उही उर्जा र उही समर्पणका साथमा विकास, निर्माणका काम तथा जनजीविकाका विभिन्न समस्याहरुको समाधानमा जनताको नेताका रुपमा डटिरहनुभएको छ मोहनबहादुर बस्नेत ।
उहाँ भन्नुहुन्छ, “पदमा रहँदा मात्र काम गर्ने, तर पदमा नरहँदा जनताका पिरमर्का आफ्नो जिम्मेवारी हैन भनेर पन्छिने मान्छे असल नेता हुन सक्दैन । त्यस्ताले बरु राजनीति नगरेकै राम्रो हुन्छ । पदमा हुँदा अलि बढी सकिएला, नरहँदा स्रोत साधन र अधिकारको सिमितताले गर्दा अलि कम सकिएला तर मैले आफूलाई कहिल्यै पनि निष्क्रिय राखेको छैन ।”
बस्नेतले आफ्नो प्रारम्भिक शिक्षा गाउँकै प्राथमिक विद्यालयबाट लिनुभयो । जिल्लाकै माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरी उहाँ काठमान्डू आउनुभयो र पाटन कलेजबाट स्नातक गर्नुभयो । उहाँले स्नातकोत्तरको पढाई भने त्रिभुवन विश्वविद्यालयबाट सम्पन्न गर्नुभयो । शिक्षाकै कारण आफ्नो जिल्ला पछाडि परेको उहाँलाई सानैदेखि महसुस हुन्थ्यो । निरंकुश पंचायती व्यवस्थाले निम्त्याएको गरिबी, पछौटेपन र चेतनाको सवालमा अन्धकार युगमा उहाँले आफ्नो जिल्लाको समस्यालाई नजिकबाट अनुभव गर्नुभयो । त्यसबेला जाँडरक्सी, झैझगडा र चेलीबेटी बेचबिखनको कारण सबैतिर बद्नाम बन्दै थियो सिन्धुपाल्चोक ।
उहाँलाई अब शिक्षाको क्षेत्रमा केही गर्नुपर्छ भन्ने लाग्यो । कलेज पढ्ने उमेरमै उहाँले जिल्लाका एसएलसी दिने विद्यार्थीहरुका लागि कोचिंग क्लासको सुरुवात गर्नुभयो । त्यसपछि साथीहरुसँग मिलेर देउसी, भैलो खेल्दै केही रकम जम्मा गरेर प्रौढ कक्षा र बाल कक्षासमेत संचालन गरेर आफ्नो अभियान संचालन गर्नुभयो । २०३९ सालमा विश्वविद्यालय प्रवेशपछि उहाँको विभिन्न प्राज्ञिक, बौद्धिक व्यक्तित्वहरुसँग सम्पर्क हुन थाल्यो । यसै अवसरलाई उपयोग गरेर उहाँले नि:शुल्क शिक्षा सेवा समितिको आफ्नो अभियानलाई प्रगतिका लागि अभियानको रुपमा फैलाउन लाग्नुभयो । यस पुनित कार्यका निम्ति कहिले कम पैसामा त कहिले नि:स्वार्थ सहयोग गर्नुहुने पुरुषोत्तम दाहाल, डा. तिर्थ खनिया, डा. तुलसी भट्टराई, प्रेमनारायण कोइराला लगायतका व्यक्तित्वहरुलाई उहाँ आज पनि सम्झिनु हुन्छ ।
आफ्नै पहलमा पहिलोपटक जिल्लामा एसएलसीको सेन्टर लैजानु भएको कुरा सम्झिँदा बस्नेतलाई अहिले पनि गर्व लाग्छ । सुरुको दुई साल निल भएपनि पछि कोचिंग कक्षाको सहायताले राम्रो नतीजा आउन थाल्यो । जनता शिक्षित र चेतनशील भएको निरंकुश शासनले कहाँ सहन सक्छ र । गरिबका छोराछोरीको चेतनाको झिल्को बनेर सुरु भएको नि:शुल्क शिक्षा सेवा समितिको उज्यालो चहकिलो गरेर बल्दै गरेको स्थानीय शासकहरुका लागि छटपटी र चिन्ताको विषय बन्न थाल्यो । यस कारण मोहनबहादुर बस्नेतले पटक-पटक प्रहरी प्रशासनबाट बाधा अड्चन झेल्नुपर्यो । झमेला दिन र दुर्व्यवहार गर्न शाही सेना पनि बेलाबेलामा आइपुग्थे ।
शिक्षा क्षेत्रमा काम गरेकै कारण बस्नेतले कहिले जेल बस्नु पर्यो त कहिले प्रशासनका आडमा भएको गुण्डागर्दीको सामना गर्नुपर्यो । सुरक्षाका लागि टेबलमा नाङ्गो खुकुरी राखेर कक्षा संचालन गरेका दिनहरु सम्झिँदा उहाँ आज पनि भाबुक बन्नुहुन्छ । भावुकतासँगै अनुहारमा सन्तुष्टिको मुस्कान त्यतिबेला दौडिन थाल्छ जतिबेला ३२ वर्ष लामो अभियानमा साँढे चौध हजार विद्यार्थीले कक्षाको लाभ लिएछन् भनेर थाहा हुन्छ । उनको अभियानमा जोडिएर कुनै सत्रमा त काठमाडौं र सिन्धुपाल्चोक दुवैतर्फ गरेर एकैचोटी ५७० जनासम्मले एसएलसी उत्तीर्ण गरेछन् ।
राजनीतिमा प्रवेशसँगै उहाँ नीति निर्माण तहमै पनि पुग्नुभयो । सांसद, मन्त्री बन्नुभयो । एक दुरदर्शी नेता जब नीतिनिर्माण तहमा पुग्छ, तब उसले वर्तमानलाई मात्र फाइदा पुग्ने काम गर्दैन । उसको भिजनले आउने कैयन् पुस्ताहरुको भविस्यको बाटो कोर्दछ । बस्नेतलाई सानैदेखि लाग्थ्यो, एसएलसीसम्म सबैले नि:शुल्क पढ्न पाउनु पर्दछ, उहाँको यो सपना पूरा भैसकेको छ । उहाँले आफ्नो जिल्लाका चार पालिकाहरुमा कक्षा बाह्रसम्म नै नि:शुल्क पढ्ने व्यवस्थाको सुरुवात गरिसक्नुभएको छ । अब यसलाई देशव्यापी बनाउने उहाँको योजना छ । त्यतिमात्र हैन आफ्नै ठाउँबाट सुरु गरेर स्नातक तहसम्मको अध्ययनलाई देशव्यापी रुपमा नि:शुल्क बनाउने उहाँको योजना छ ।
बाढी, पहिरो, भूकम्पजस्ता दैवीप्रकोप, कोभिड, डेँगुजस्ता महामारीले देश सधैँजसो आक्रान्त बनिरह्यो । त्यसमा पनि सिन्धुपाल्चोक जिल्ला सधैं अग्रपंक्तिमा रहेर प्रताडित बनिरह्यो । यस्ता दुखको सामना गरिरहेको भएर होला मोहनबहादुर बस्नेत यी महामारी र बिपत्तिमा सधैं समाचार बनिरहनु हुन्छ । कहिले सरकार नपुगेको ठाउँमा सबभन्दा पहिले राहत बोकेर पुग्नु हुन्छ । कहिले हेलिकप्टर लिएर बिरामी, घाइतेको उद्दार गरिरहेको देखिनु हुन्छ, कहिले औसधि बोकेर जोखिमयुक्त ठाउँमा हिँड्दै गरेको देखिनुहुन्छ भने कहिले पिडितले गम्लंग अँगालो हालेर रोइरहँदा सान्त्वना र अभिभावकत्वको महशुस गराउन पिठ्युँ थप्थापाईरहेको देखिनु हुन्छ ।
जम्बुको पहिरोमा छ जनाको परिवारमध्ये पाँच जना एकै ठाउँमा पुरिए । त्यस कहालीलाग्दो घटनामा केवल छोरी छिरिंग गोलेमात्र बाँचिन् । उनका बाले मर्नुअघि छोरी तिमी नर्स बन्नु है भनेका रहेछन् । तर त्यस टुहुरीलाई कसले पढाइदिने ? न बाउ छ, न आमा छ, न सम्पत्ति न कुनै अभिभावक । तर त्यस बच्चीलाई अभिभावकको कमि महशुस हुन दिनुभएन मोहनबहादुर बस्नेतले । सिसिआरसि कलेजमा विज्ञान संकायतर्फ प्लस टू पढ्न पाएकी छिरिंगले कक्षा बाह्र पास गरेर नर्सिंगको लागि तयारि पनि गर्न थालिसकिन् ।
यो त केवल एउटा प्रतिनिधि घटना भयो । यस्ता कैयन् उदाहरणीय कामहरु गर्नुभएको छ बस्नेतले । बाढी, पहिरो, भूकम्प र अन्य प्राकृतिक बिपत्तिबाट प्रभावित करिब २०० भन्दा बढी विद्यार्थीहरुलाई पढाउँदै हुनुहुन्छ उहाँ । उहाँको पहलमा मेलम्ची र हेलम्बुका बाढीपीडित ५७ जना विद्यार्थीलाई लोयला कलेज एक्लैले आफ्ना शिक्षकको तलब कटाएरै क्षमताभन्दा बढी विद्यार्थी राखेरै पढाइरहेको छ ।
उहाँको पहलमा जिल्लामा धेरै नयाँ विद्यालयहरुले स्वीकृति पाएका छन् । यसरी शिक्षाको क्षेत्रमा काम गर्दै आउनु भएका बस्नेतले स्वास्थ्यका लागि गर्नुभएका कामहरु पनि उल्लेखनीय छन् । रोग लागेपछिको उपचार भन्दा रोग लाग्नै नदिनु सही उपचार हो भन्ने मूल मन्त्रका साथ बिहानको साढे एक घण्टा सधैं व्यायाम गर्नुहुने बस्नेत व्यायाम र खेलकुदलाई ज्यादा प्राथमिकता दिनुहुन्छ । आफू पनि जाँडरक्सी, चुरोट बिडीजस्ता कुलतमा नलागेको भएर उहाँ अरुलाई पनि स्वस्थ जीवनशैलीका लागि प्रेरित गर्नु हुन्छ । यति हुँदाहुँदै पनि मानिसको शरीर न हो अनेक कारणहरुले रोग लागिहाल्छ । त्यसका लागि आमजनताको स्वास्थ्यमा पहुँच हुन जरुरि छ भन्ने ठान्नुहुन्छ उहाँ ।
आफू स्वास्थ्य राज्यमन्त्री हुँदा गरेका कार्यहरुको महत्वपूर्ण अनुभवका आधारमा उहाँले स्वास्थ्यका क्षेत्रमा आफ्ना योजनाहरु अघि सार्नुभएको छ । उहाँकै सक्रियतामा स्थापना भएको मेलम्ची अस्पतालले विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीहरुको सहयोगमा त्यस क्षेत्रका ठूलो जनसंख्याको सेवा गर्दै आइरहेको छ । आफ्नो कार्यकालमा उहाँले सरकारी अस्पतालहरुको सुधारमा पनि विशेष योगदान गर्नुभएको छ ।
आफ्नो विद्यार्थीकालमै रक्तदान कार्यक्रमहरु आयोजना गर्नुहुने बस्नेतले सिन्धुपाल्चोक जिल्लामा रक्तदानका बखत प्रयोग हुने रेफ्रिजेरेटरको व्यवस्था गर्नुभएको छ ।
कोभिड महामारीका बखत एकैपटकमा छ शय अठार जना स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकहरु लगायतको जनही एक लाखको बिमा गरिदिनु भएको थियो । देशभर अस्पतालहरु भरिंदा, स्वास्थ्य क्षेत्र नाजुक बन्दा, राज्य निरिह बनेको अवस्थामा पनि रत्तिभर बिचलित नभई सिन्धुपाल्चोकका स्वास्थ्यकर्मी, पत्रकारहरु तथा अन्य फ्रन्टलाइनमा काम गर्नेहरुका लागि उहाँले चिनबाट मगाएर आफ्नै तत्परतामा पिपीई सेटहरु वितरण गर्नु भएको थियो । देशभरमा अभाव भएका बेला सबभन्दा पहिले नै जिल्लामा अक्सिजन सिलिन्डरहरु उपलब्ध गराउनु भएको थियो । आफ्ना साथीभाइहरुसँग मिलेर दश-दश लाख उठाएर ठोकर्पामा अक्सिजन प्लान्टको स्थापना गर्नु भएको थियो । त्यस हाहाकारको बेलामा हरेकका हात हातमा मास्क र स्यानिटाइजर पुर्याउनु भएको सम्झना आज पनि हरेक सिन्धुपाल्चोकबासीको स्मृतिमा ताजै छ ।
बिपत र महामारीका लागि तयारी अवस्थामा रहनेगरि स्रोत साधनसहितको स्वास्थ्य संयन्त्र खडा गर्ने उहाँको आगामी योजना रहेको छ । भैरहेका अस्पतालहरुको स्तरोन्नति र जनशक्तिसहितको नयाँ स्वास्थ्य केन्द्रहरुको स्थापना गर्ने पनि उहाँको योजना रहेको छ ।
विकासका लागि पूर्वाधार नभई नहुने कुरा हो । त्यसमा पनि पक्की र फराकिला सडक नै सर्वांगिण विकासको जग हुन सक्छ । यसै कुरालाई मध्यनजर गरेर आफू सांसद हुँदा एकै वर्षमा, वा भनौं एकै दिनमा तिन अर्ब अठार करोडको बजेट सडकका योजनामा बिनियोजन गर्नु भएको छ । आफूले सुरु गरेका सडक योजनाहरु आफू पराजित भएपछि त्यसै अलपत्र परेको उहाँको भनाइ छ । आफू हारेको पाँच वर्ष खासै काम नभएकाले अब जितेर गएपछि ती अधुरा कामहरु पुरा गर्ने उहाँको अठोट छ । सिन्धुपाल्चोकका सबै गाउँ र सबै वडाहरुलाई जोड्ने फराकिला सडकहरु बनाउने उहाँको सपना हो । कुनैबेला सबै ठाउँमा बाटो नपुगी आफ्नो घरमा लैजान्न भनेर प्रतिज्ञा गर्नुभएको उहाँसँग पछि आफ्नो घरमा लैजाने बेलामा भने अरुको केही कित्ता जग्गा किनेर सडक लैजानु परेको रोचक अनुभव पनि रहेको छ ।
देशकै नमुना योजनाको रुपमा सुनकोशी गाउँपालिकाको ठोकर्पामा रहेको खानेपानी योजनाले सुक्खायाममा कुवामा पनि पानी नदेखिने ठाउँमा करिब आठ शय धाराहरुमा बाह्रैमास पानी पुर्याएको छ । यस्ता योजना मोहनबहादुर बस्नेतज्यु जिल्लाका सबै वडाका साथै पूरा देशमै लैजान चाहनु हुन्छ । विकासका लागि भौतिक पूर्वाधारका साथै जनताको जीवनस्तर उकास्ने खालका रोजगारी, उद्यमशीलता, कृषि, पर्यटन र अन्य आयमुलक कामहरुको व्यवस्था पनि जरुरि हुन्छ । यसका लागि पनि बस्नेतसँग पहिले गरेका सफल कामहरुको अनुभव र आगामी दिनका सम्भावनायुक्त योजनाहरु छन् । फुर्सदका समयमा आफैँ खेतीपातीमा कस्सिने बस्नेतले घरमै गाइ, कुखुरा पाल्नुभएको छ भने अर्गानिक तरकारीहरु फलाएर खाइरहनु भएको छ । कृषिसँग नजिकै रहनुभएको उहाँलाई किसानहरुले सधै भोगिरहेको सिंचाई, मल र बिउबिजनको अभावको समस्या थाहा छ । यसका समाधानका लागि उहाँको सातै प्रदेशमा मल उद्योग खोल्ने योजना छ ।
देशभरी प्रसिद्ध आलु उत्पादन हुने ठाउँ सिन्धुपाल्चोकको मुरेमा पर्दछ । स्वाद र पौष्टिकताले भरिपूर्ण यस उत्पादनलाई ब्रान्डीन्ग गरेर विदेशसमेत निर्यात गर्न सकिने प्रचुर सम्भावना रहेको छ । यसक लागि उहाँ केहि विदेशीहरुसँग पनि सम्पर्कमा हुनुहुन्छ । सिन्धुपाल्चोकका मुख्य उत्पादनहरु चिया, अलैंची, जडिबुटी आदिको बजारीकरणका योजनाहरु पनि बस्नेतसँग छन् ।
जंगल, पहाड, लेक, घाँसे मैदान आदिले भरिपूर्ण सिन्धुपाल्चोक जिल्लामा चौंरी र च्यांग्रापालनमा अथाह सम्भावना छ । एसियाकै पहिलो चिज उद्योग पनि यसै जिल्लामा पहिलोपटक स्थापना भएको हो । यसलाई प्रबर्धन गर्नुपर्ने उहाँको धारणा छ । उहाँसँग हरेक पालिकामा चिस्यान केन्द्रको स्थापना गर्ने योजना छ । यसका साथै टिबेटन म्यास्टिभ भनिने उन्नत जातको भोटे कुकुर यसै ठाउँको रैथाने हो । मानिसप्रति इमान्दार र सुरक्षा र आकर्षणले चर्चा पाएको भोटे कुकुरका लागि ब्रिडीन्ग केन्द्रको स्थापना गर्न सके यसले त्यस क्षेत्रको अर्थतन्त्रलाई टेवा दिन सक्छ भन्ने उहाँको बिचार छ ।
बेलायत बस्ने उहाँका साथीहरुको सहयोगमा करिब एक करोड एघार लाखको लगानीमा भूगर्भविदहरुका लागि अध्ययन केन्द्रजस्तो पनि हुने तरिकाले हाइस्कुलमा एउटा लाइब्रेरी स्थापना गरिएको छ । यसले सिन्धुपाल्चोकको जटिल भूगोलको अध्ययन गर्दै वस्ती बस्न मिल्ने ठाउँहरुबारे अनुसन्धान पनि गर्नेछ ।
बाढीपहिरोमा बिस्थापितहरुका लागि एकीकृत बस्तीहरुको निर्माण त भए तर जीवनयापन र रोजीरोटीका लागि व्यवस्था नहुँदा पीडितहरु फेरि जोखिमयुक्त थातथलोमै फर्किन थालेका छन् । यसकारण पूर्ण रोजगारीको ग्यारेन्टी सहित प्याकेजमै बस्तीको व्यवस्था गर्ने उहाँको योजना छ । यस अन्तर्गत आफ्नै पहलमा निर्माण भएका बीस घर उहाँले हस्तान्तरण समेत गरिसक्नु भएको छ ।
यीबाहेक शतप्रतिशत बिजली पुर्याउने, हाइड्रोपावरमा लगानी भित्र्याउने, युवा स्वरोजगारका कार्यक्रमहरु ल्याउने, ढाका र अल्लो उद्योगहरुलाई प्रोत्साहन गरि महिलाहरुको आय र सशक्तिकरण बढाउने उहाँका योजनाहरु छन् । निडर, हक्की, केहि गर्ने ठानेपछि निष्कर्षमा नपुर्याई नछाड्ने बानी छ मोहनबहादुर बस्नेतको । आफ्नो पार्टी नेपाली कांग्रेसभित्र त लोकप्रिय भएरै केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको थियो नै । उहाँसँग समाजसेवामा काम गर्न फरक क्षेत्र, दल वा बिचारधारामा आबद्ध व्यक्तित्वहरु पनि सधैं लालायित हुनुहुन्छ । बिपत्ति होस् या बिकास, महामारी होस् या महोत्सव, उद्धारमा होस् या उपकारमा, दुखमा होस् या सुखमा, राज्यमा रहेर होस् या व्यक्तिगत तहमा जहिले पनि जनतासँगै उभिनु हुन्छ मोहनबहादुर बस्नेत । जुनसुकै जातको होस्, सम्प्रदायको होस्, समुदायको होस्, चाहे त्यो फरक दलको नै किन नहोस् सबैलाई समस्या पर्दा निस्वार्थ साथ दिनुहुन्छ मोहनबहादुर बस्नेत । त्यसैले त उहाँले सधैंभरि जनताको माया र विश्वासको मत अनुमान गरेभन्दा बढी पाउँदै आउनुभएको छ ।
मोहनबहादुर बस्नेत डटकमबाट