काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सूसुचित मतदाताको सहभागिता बढाइ बदर मत प्रतिशत घटाउन र सदर मत प्रतिशत बढाउन यस पटक मतदाता शिक्षा कार्यक्रमलाई घनिभूतरुपमा अघि बढाउने भएको छ । आयोगले स्वास्थ्य स्वयंसेविका परिचालन गरी निर्वाचनका लागि तयार गरिएको पम्प्लेट र पोष्टरलगायत सामग्री मतदाताको घर–दैलोमै पु¥याएर मतदाता शिक्षा प्रदान गर्ने तयारी गरेको छ । निर्वाचनका लागि तयार गरिएका त्यस्ता पम्प्लेट र पोष्टर सबै जिल्लामा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
मतदातालाई मतदानका लागि तयारी अवस्थामा राख्न निर्वाचन व्यवस्थापन गर्ने निकायद्वारा सञ्चालन गरिने शिक्षालाई मतदाता शिक्षा भनिन्छ । मतदातालाई लक्ष्य गरी मतदानमा तिनको अधिक सहभागिताका लागि शिक्षा प्रदान गरिने उद्देश्य रहेको यस कार्यक्रमले मतदान गर्ने सही तरिका र मतदानको महत्वबारे बोध गराउँछ । छापा माध्यम, रेडियो, टेलिभिजन, घरदैलोलगायत आम पहुँचयोग्य सञ्चारमाध्यमबाट पनि सवै मतदाता समेटिने गरी बृहत्रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।
आगामी निर्वाचनका लागि यस पटक १८ भाषामा तयार गरिएको सामाग्रीलाई केन्द्रीयस्तरबाट प्रचार प्रसार गरिने भएको छ । आयोगले यही कातिक १८ गतेदेखि मङ्सिर १ गतेसम्म प्रभावकारीरुपमा मतदाता शिक्षा कार्यक्रम अघि बढाउन लागेको हो । मतदाताको सहभागिता अधिक बृद्धि गराउन, सदर मतप्रतिशत बढाउन तथा हर तवरले सूसूचित मतदाता तयार गर्ने उद्देश्यले मतदाता शिक्षा सञ्चालन गर्न लागिएको हो ।
विगतका निर्वाचनदेखि नै यस कार्यक्रममा स्वास्थ्य स्वयम्सेवीकाको योगदान महत्वपूर्ण रहदैआएको थियो । यस पटक पनि स्थानीय तहले उहाँहरुलाई नै न्यूनतम १० हजार भत्ता उपलब्ध गराउन आयोगले निर्देशन दिइसकेको छ ।
स्वास्थ्य स्वयमसेवीले प्रत्येक वडाका बस्तीमा पुगेर मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतपत्रमा कसरी छाप लगाउने भनी जानकारी दिने र आफूले चाहेको उम्मेदवारलाई दिएको मत बदर नहुने गरी स्वस्तिक छाप लगाई मतपेटिकामा खसाल्ने विषय मुख्यरुपमा मतदाता शिक्षासँग जोडिएको छ । यस कार्यक्रमबाट मतदानमा सहभागी हुन प्रेरणा प्रदान गर्न, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा मितव्ययी बनाउन, सुसूचित मतदाता तयार गर्न, अर्थपूर्ण सहभागिता जनाउन, बदरमत न्यूनीकरण गर्न, अमूल्य मतको महत्व बुझाउन र योग्य प्रतिनिधि चयन गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक करोड, ७९ लाख ८८ हजार पाँच ७० मतदाता सूचिकृत छन् । प्रतिनिधिसभा सदस्य २७५ र प्रदेशसभा सदस्य ५५० सिटका लागि निर्वाचन हुन लागेको हो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ र प्रदेशसभा सदस्यमा ३३० तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य ११० र प्रदेशसभा सदस्यमा २२० सदस्यका लागि बालिग मताधिकारका आधारमा निर्वाचन हुन लागेको छ ।
सह–प्रवक्ता सूर्यप्रसाद अर्याल भन्नुहुन्छ, ‘‘प्रत्येक मतदातालाई किन मतदान गर्दैछु, मतको मूल्य कस्तो हुन्छ, कस्तो प्रतिनिधि चयन गर्नुपर्छ, त्यसले लोकतन्त्रको सुदृढीकरणका लागि कस्तो फरक पार्छ भनी अर्थपूर्ण र गुणस्तरीय मतदाता तयार गर्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिन लागिएको छ ।’’
विस २०७४ मा एक करोड ५४ लाख २७ हजार नौ सय ३८ मतदाता रहेकामा एक करोड पाँच लाख ९४ हजार ४४ अर्थात ६८ दशमलव ६७ प्रतिशत मतदान भएको थियो । उक्त मतदानमा एक करोड ४५ हजार चार सय ७४ अर्थात ९४ दशमलव ८२ मत सदर भएकामा पाँच लाख ४८ हजार पाँच सय ७० अर्थात पाँच दशमलव१८ प्रतिशत मत बदर भएको थियो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वासनीय र मितव्ययी तुल्याउन त्यस्ता मतदाताको महत्वपूर्ण भूमिका हुन्छ । उहाँ भन्नुहुन्छ, “सूसुचित मतदाताले नै निर्वाचन आचारसहितालाई कहाँ, कसले, कसरी पालना वा उलङ्घन ग¥यो भनी बुझने र मूल्याङ्कन गर्ने काम गर्छ ।”
पछिल्लो समय आयोगले निरन्तर शिक्षाका रुपमा मतदातालाई सूसुचित तुल्याउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । निर्वाचनका माध्यमद्वारा देशमा लोकतान्त्रिक संस्था सवल हुने, जनताको आवाज मुखरित हुने र नागरिकले राजनीतिक छनोटको अधिकार पाउने हुनाले निर्वाचनलाई लोकतन्त्रको मेरुदण्डका रुपमा लिने गरिन्छ । मुलुकको निर्वाचनसँग जोडिएका सरोकारवालासँगको छलफल, परामर्श, समीक्षा र अन्तक्र्रियामा प्राप्त सुझाव र पृष्टपोषणका आधारमा आयोगले आसन्न निर्वाचनलाई लक्ष्य गरेर विभिन्न नीति तथा रणनीति बनाएर मतदाता शिक्षा कार्यक्रम तयार गरेको हो । आयोगले यस पटकको निर्वाचनमा केही सुधार परिमार्जनका साथै केही नवीन मतदाता शिक्षा कार्यक्रम पनि बनाएको छ ।
निर्वाचनको तयारीका लागि आयोगले तीव्र गतिमा तयारी गरिरेहको छ भने राजनीतिक दल पनि आफ्ना चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा प्रवेश गरिसकेका छन् । मौसमका हिसाबले वातावरण चिसो हुँदै गए पनि चुनावी राजनीतिक सरगर्मीले टोल, वडा, पालिका, निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र समग्रमा देशकै माहोल तातेको छ ।
राजनीतिक सरगर्मी बढेसँगै राजनीतिक दल र उम्मेदवारबाट आचारसंहिता उलङ्घनका घटना सुनिन थालेका छन् । आयोगले त्यस्ता गतिविधिबारे के कसो भएको हो भन्नेबारेमा स्पष्टिकरण सोध्ने र जानकारी लिने काम निरन्तररुपमा गरिरहेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो,“दल वा उम्मेदवारले आचारसंहिता बाहिर गएर गरिएका गतिविधिबारे अनविज्ञता प्रकट गर्न मिल्दैन । आचारसंहिताविपरीत गरिएका गतिविधिलाई रोक्न तत् तत् उम्मेदवार र दल अग्रसर हुनैपर्छ ।”