काठमाडौं । नेपाल तामाङ कलाकार संघको अध्यक्षमा विश्व दोङ चयन हुनुभएको छ । शनिबार काठमाडौंमा भएको संस्थाको १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट दोङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो । मुख्य पदाधिकारीहरु र महिला सदस्य सर्वसम्मत रुपमा चयन गरिएको थियो भने अन्य पदहरुमा निर्वाचन भएको थियो ।
'सम्पूर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको विकास, संरक्षण तथा प्रवर्द्धन हाम्रो प्रतिबद्धता' नाराका साथ सम्पन्न अधिवेशन रोमाञ्चक रह्यो । संघको १४ वर्षे इतिहासमा पहिलोपटक कार्यसमिति छनोट निर्वाचन प्रक्रियाबाट भएको छ । यसअघिका छ वटा अधिवेशनमा सर्वसम्मत तरिकाले कार्यसमिति चयन भएको थियो ।
यसपटक २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित १३ जना सर्वसम्मत र बाँकी ८ खुल्ला सदस्यका लागि मतदान भएको हो । जसमा दोङको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष शशिकला मोक्तान, उपाध्यक्ष विशाल काल्तान, महासचिव रोशन फ्युबा, सचीव सुभाष मोक्तान, कोषाध्यक्ष खेम मोक्तान र ७ महिला सदस्य सर्वसम्मत निर्वाचित भएको थियो । निर्वाचन प्रक्रियाबाट खुल्ला सदस्य पदमा बुद्ध लामा, जीवन बम्जन, योगेश लामा, आस्मान लोप्चन, बैरागी मोक्तान, अनिल लामा, अशोक लामा, रमित लामा निर्वाचित हुनुभएको छ । मतदानमा ३८ प्रतिनिधिले मताधिकार प्रयोग गरेका थिए ।
निर्वाचन मण्डलका अध्यक्षमा काजीमान तामाङ, सदस्यद्वय प्रतीक ङेसुर र दिपेन्द्र दोङ रहनुभएको थियो । उहाँहरुले सर्वसम्मतका लागि अन्तिम क्षणसम्म प्रयास गरे पनि सहमति नजुटेपछि मतदान प्रक्रियामा गएको थियो । सातौं अधिवेशनबाट निर्वाचित अध्यक्ष दोङले सन्तुष्ट अनि असन्तुष्ट सम्पूर्ण कलाकारहरुलाई एकताबद्ध गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
नयाँ कार्यसमितिको सूची
अध्यक्ष : विश्व दोङ
वरिष्ठ उपाध्यक्ष : शशिकला मोक्तान
उपाध्यक्ष :बिशाल काल्तान
महासचिव : रोशन फ्युबा
सचिब : सुवास मोक्तान
कोषाध्यक्ष : खेम मोक्तान
सदस्यहरु : बुद्ध लामा, जीवन बोम्जन, योगेश लामा, निर्मला घिसिङ, मिङ्स लामा, अश्मान लोप्चन, कुमार स्याङ्बा, बैरागी मोक्तान, जितु लोप्चन, अशोक तामाङ, अनिल लामा, रेश्मा बोम्जन, अन्जु थोकर, लक्ष्मी स्याङ्तान, रमित लामा