काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित संघीय सांसद हितबहादुर तामाङले मन्त्रिपरिषद्मा पठाउने नेताको विषयमा पार्टी नेतृत्वले निर्णय गर्ने भएकोले जथाभावी नलेख्न आग्रह गर्नुभएको छ ।
पार्टीकै नेता, कार्यकर्ताले केही व्यक्तिलाई मन्त्रिपरिषद्मा पठाउन नहुने भन्दै सामाजिक सञ्चालमा लेखेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउनुहुँदै सांसद तामाङले उक्त आग्रह गर्नुभएको हो ।
'नेकपा (माओवादी केन्द्र) र म सँग नजिक देखिनुभएका केही साथीहरुमार्फत बन्दै गरेको मन्त्री परिषद्मा मलाई समावेश गर्नैपर्ने भन्दै पार्टीका केही नेताहरुको नाम नै उल्लेख गरी उहाँहरुलाई आगामी मन्त्रिपरिषद्मा समावेश गर्नै नहुने भन्ने जस्ता भनाइहरु सार्वजनिक भैरहेको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,' आइतबार आफ्नो आधिकारिक पेजमा मार्फत सांसद तामाङले लेख्नुभएको छ, 'कोही कसैलाई मन्त्री बनाउने एवम् कुनै पनि प्रकारको जिम्मेवारी तोक्ने कुरा सम्बन्धित व्यक्तिको योगदान र पार्टीको तत्कालको आवश्यताको आधारमा पार्टीले निर्णय गर्ने विषय भएकोले पार्टी र नेतृत्वको सवालमा यसरी अपमानपूर्ण र अशिष्ट ढंगले सामाजिक सञ्जालमा जथाभावी नलेख्नुहुन सम्बन्धित सबै साथीहरुलाई हार्दिक अनुरोध गर्दछु ।'
माओवादी केन्द्रमा लामो समयदेखि सक्रिय, दुई पटक नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फबाट निर्वाचित सांसद तामाङलाई यस पटकको मन्त्रिपरिषद्मा जसरी पनि समेट्नु पर्ने भन्दै पार्टीकै नेता, कार्यकर्ताहरुले सामाजिक सञ्जाल र विभिन्न फोरमबाट दबाब बढाइरहेका छन् । कतिपय नेताले यसअघि सरकारमा बसेका नेताहरुलाई पुन: दोहोर्याउन नहुने तर्क सार्वजनिक रुपमा अभिव्यक्त गर्ने गरेका छन् ।
सांसद तामाङ माओवादी पोलिटब्युरो सदस्य, वाग्मती प्रदेश समिति सहइन्चार्ज रहनुभएको छ । उहाँले २०६६ सालमा करिब ३ महिना मात्र युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ स्वयंको मन्त्री बन्ने आकांक्षा, वर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा मन्त्री बनाउने आश्वासन र माओवादी वाग्मती प्रदेशमा समेत तामाङले मन्त्रिपरिषद्मा प्रतिनिधित्व गरोस् भन्ने निर्विवाद कारणले कार्यकर्ताहरुले तामाङलाई मन्त्री बनाउन लबिइङ गरिरहेका छन् । माओवादी अध्यक्ष प्रचण्ड यही पुस १० प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँले ११ गते पद तथा गोपनियताको शपथग्रहण गर्नुहुँदै ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभयो ।
सत्तासमर्थित दलहरुबीच भागबन्डा मिलिनसकेकोले मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । प्रचण्डले यही महिनाको अन्त्यमा संसद्मा विश्वासको मत लिने तयारी गरिरहनुभएको छ । विश्वासको मत लिनु अगाडि वा पछाडि मन्त्रिपरिषद् विस्तार हुने एकीन भइसकेको छैन ।
माओवादी प्रधानमन्त्रीबाहेक उपप्रधान तथा भौतिक योजनामन्त्रीको रुपमा नारायणकाजी श्रेष्ठ मन्त्री बनिसक्नु भएको छ । अब उक्त पार्टीले ४/५ जना मन्त्री पाउन सक्ने अनुमान छ । मन्त्री बन्ने आकांक्षीहरु पनि थुप्रै देखिएका छन् । प्रधानमन्त्री दाहालको सचिवालय स्रोतका अनुसार माओवादी केन्द्रमा उपमहासचिव शक्ति बस्नेतले ‘महत्त्वपूर्ण’ मन्त्रालय पाउने अवस्थामा मात्र सरकारमा जाने मनस्थिति बनाउनुभएको छ । अर्का उपमहासचिव वर्षमान पुनले भने यो मन्त्रिपरिषद्मा नजाने स्पष्ट पारिसक्नुभएको छ ।
सांसदहरू महेन्द्रबहादुर शाही, अमनलाल मोदी, हितबहादुर तामाङ, माधव सापकोटा, सूर्यमान दोङ, हरि चौधरी, महेन्द्र यादव, सुदन किराती, उर्मिला अर्याललगायत सांसद मन्त्रीका लागि दाबेदार देखिनुभएको छ ।