पर्वत जिल्ला खाल्टे गाउँमा जन्मिएका कुसाङ गुरुङ १८ वर्षकै उमेरमा १९८३ सालमा ब्रिटिस सेनामा भर्ती हुनुभयो । विद्यालय जीवनबाट नै खेलकुदमा अब्बल कुसाङले स्थानीय र राष्ट्रिय प्रतियोगितामा धेरै खेलहरु जितिसक्नुभएको थियो । सेनामा भर्ती भएपछि भने उहाँको खेल अन्तर्राष्ट्रियस्तरमा फैलियो । संसारकै कठिन ठाउँहरुमा भएको दौडमा पनि जित हासिल गर्नुभयो । वास्तवमा उहाँ लामो दुरीका सफल धावक हुनुहुन्छ ।
मलेसियाको सावा राज्यमा पर्ने अतिप्रसिद्ध माउन्ट किनाबालुमा हुने अन्तर्राष्ट्रिय क्लाईम्बथनमा लगातार तीनपटक प्रथम हुनुभयो । संसारकै सबैभन्दा उच्च स्थानमा हुने एभरेष्ट म्याराथुन पनि जित्नुभयो । प्रसिद्ध म्याराथनहरु विभिन्न देशमा गएर दौडिनुभएको छ । १९८९ मा डबल ओलम्पिक च्याम्पियन कर्णेल ड्याम क्यलिहोम्स् सँगै हङकङमा तालिम पनि गर्नुभयो थियो । त्यस्ता अनुभव उहाँसँग अनगिन्ती छन् । त्यस्तै सामाजिक काममा पनि गुरुङ अग्रपंक्तिमा नै हुनुहुन्छ । सुईन्फेन च्यारिटेवल ट्रष्ट बेलायत र सहारा अक्षय कोष नेपालमा २१ सय पाउन्ड र ७ लाख रुपियाँ क्रमशः सहयोग गरिसक्नु भएको छ । अन्तर्राष्ट्रिय स्काइ रनर लेफ्टिनेन्ट कुसाङ गुरुङसँग प्रकाश गुरुङले गर्नुभएको अनलाईन संवादको संपादित अंश ।
तपाईंले १९९१ देखि १९९३ सम्म भएको माउन्ट किनाबालु ईन्टरनेसनल क्लाईम्बथन लगातार तीन पटक जित्नुभयो र विश्व रेकर्ड राख्नुभयो । अगाडिका रेकर्डहरु धेरै समयको अन्तर बनाएर तोड्नु भयो । विश्वभरी नेपालको नाम चिनाउनु भयो । त्यस्तो चुनौतीपूर्ण क्षणहरुको पुनः स्मरण गराइदिनुस् न ।
सबभन्दा पहिला मेरो माउन्ट किनाबालु यो दक्षिण पूर्वी एशियाको सबैभन्दा अग्लो हिमाल हो । तपाईंहरुलाई थाह नै छ, जब ११/११ फिटभन्दा माथि जाँदा खेरी हाई अल्टिट्युड सिकनेश, श्वासप्रश्वासमा समस्या हुन सुरु गर्छ । यो क्लाम्बाथोन गर्दा २०८७ मिटरदेखि सुरु भएको प्रतिष्पर्धा हो । यसको रुट भन्दा खेरी फ्ल्याट भेटाउँदैनौं । सुरुमा अलिकति दुई/तीन सय मिटरचाहिँ फ्ल्याटमा दौडिने हो । त्यसपछि सोझै ११ हजार फिटमाथि समिट हो, ४०९५ मिटर छ । त्यहाँ पुगेर फेरि स्ट्रेट त्यही बाटो फर्केर आउने हो । बाटोको स्वरुप नेपालको जस्तै ट्रयाक, गाउँघरमा हुने भर्याङजस्तै चढ्नु पर्ने हुन्छ । कुनै ठाउँमा डोरीको सहायताले चढ्नु पर्ने हुन्छ । माउन्ट किनाबालु अतिकति चुनौतीपूर्ण नै छ । यसको दुरी २६ किमि छ । मैले यो बटालियन ब्रुनाइँ बेस हुँदा १९९१ मा पहिलो पटक क्यामबथनमा भाग लिने अवसर पाएँ । त्यस बटालियनबाट हामी पाँच जना उत्कृष्ट रनरहरु गएका थियौं । त्यही समय हङकङ बेसबाट पनि दश गोर्खाका टप रनरहरु सहभागी भएका थिए ।
ब्रुनाईबाट हामी दुई हप्ता अगाडिमात्र गएका थियौं । ब्रुनाईमा डाँडाकाँडा दौडिने मौका थिएन तर हामी केही तालिम पुक्की तिराजामा गरेर माउण्ट किनाबलु गएका थियौं । संसारका टप रनरहरु, विश्व रेकर्ड होल्डर रनरहरु, गोर्खालीको २ टीम थियो । गोर्खाली–गोर्खालीबीच नै मारामार पर्थ्यो । मेजर गजेन्द्र साबको टीम थियो । उहाँहरुसँग नै हाम्रो मुख्य प्रतिष्पर्धा हुनेवाला थियो । अरु संसारका रेकर्ड होल्डरहरु भए तापनि हामीभित्रै पर्छ भन्ने हामीलाई पहिले नै निश्चित थियो । त्यसमा भाग्यवश मैले देशको नाम, ब्रिगेड अफ गोर्खाज् र मेरो नाम लेखाउन सफल भएँ । त्यो नै गर्वको कुरा थियो । त्यो भन्दा अगाडिको बिजेताको नाम पछि देशको नाममा ब्रुनाई लेखिएको रहेछ । सुन्दरकुमार लिङथेप ब्रुनाई भनेर लेखेको थियो । त्यो पढ्दा, सुन्दर नाम त एशियाली नाम भन्ने बुझियो तर लिङथेप भन्ने नेपालीबाहेक नै होला भन्ने लाग्थ्यो । त्यसमा पनि उहाँले ब्रुनाई भनेर लेख्नु भएछ । त्यो देखेपछि मेरो पहिलो प्रश्न नै त्यो थियो कि किन नेपालको नाम लेखेन ? अनि मैले यदि मैले जित्यो भने त्यहाँ मेरो देशको नाम लेख्नु पर्छ भनेर अनुरोध गरेँ ।
ब्रुनाइबेस भएकोले विजेताको नाम लेख्दा देश ब्रुनाई भनेर लेखिएको थियो । पछि तपाईंले चाहिँ ब्रुनाईको ठाउँमा आफ्नो देशको नाम नेपाल भनेर लेखाउन सफल भयो भन्न खोज्नु भएको हो ?
हो, मैले आयोजकलाई भने म एउटा गोर्खाली हुँ, म ब्रिटिस आर्मीमा सेवा गर्छु । म नेपालबाट हो । त्यसैले मेरो देशको नाम लेख्नु पर्यो भनेर मैले बहस गरें । त्यसपछि उहाँहरुले लेखिदिनु भयो । यसले नेपालीलाई चिनाउने ठूलो मौका मिल्यो । मैले मेजर गजेन्द्र साहेबलाई के स्मरण गरें भने, उहाँलाई मैले १०० मिटरमात्र ओभरटेक गरेको, उहाँ र मेरो जम्मा नौ सेकेण्डको मात्र फरक हो । एक घण्टा ४२ मिनेटमा गजेन्द्रसाबलाई नौ सेकेण्ड फरकले जितेको हो । अरुहरु नौ, १० मिनेटको फरकमा आए तर उहाँ र म मारामार भएर जितियो । १९९१ को कुरा हो यो ।
यति ठूलो प्रतिष्पर्धामा तपाईं विजेता बन्नु भयो, विजेताले पाउने उपाधि, पुरस्कारबारे भन्न मिल्छ ?
किन नमिल्ने । १९९१ मा ब्रुनाईबाट गएको पहिलो वर्ष नै मैले जित्ने अवसर पाएँ । पहिलो पुरस्कार ५५ सय अमेरिकी डलर थियो । थप मलेसियन एयरलायन्सको लस एन्जलेस रिटर्न फ्लाइट । नगद पुरस्कारको ३० प्रतिशत पल्टनको पीआरआईले लग्यो । जुन हामीलाई यो अवस्थासम्म ल्याउन वातावरण तयार पारिदिएबापत केही त टिमलाई चाहिन्छ भने पछि दिइयो । अरु मैले नै पाएँ । १९९३ को ह्याट्रिक वर्षमा चाहिँ सबै मैले नै लिएँ ।
तपाईंलाई कोटा किनाबालु क्षेत्रमा बाघ भनेर चर्चा गरेको सुनिन्छ, २००२ डिसेम्बरसम्म पनि तपाईंको प्रशिद्धि कमी थिएन । ती दिनहरु सम्झिँदा कस्तो लाग्छ ?
जब प्रतिष्पर्धा सकेर तल सहरतिर झर्दा अंग्रेजी, मलेसियनलगायत विभिन्न भाषामा समाचारहरु प्रकाशित भएका थिए, सबैले चिन्थे । सडकतिर हिँड्ने बेलामा अटोग्राफ लिनेदेखि लिएर बच्चाहरु मिठाई माग्न आउने गर्थे । योचाहिँ मलाई चिनेको भन्दा पनि मैले मेरो देश र ब्रिगेडलाई चिनाउन सफल भएँ । म एकदमै गर्व गर्छु र जुन उपलब्धि त्यहाँ प्राप्त गरें, त्यो अविश्मरणीय छ ।
२००१ मा ब्रुनाईमा काम गर्दै हुनुहुन्थ्यो, त्यो बेला पनि तपाईं माउन्ट किनाबालु जानु भयो । त्यसबेला तपाईंलाई एयरपोर्टमा रिसिभ गर्ने र पुर्याउने काम भयो । प्रतिष्पर्धाको अवधिभरी नै त्यहाँको पर्यटनमन्त्रीसँगै बस्नुभयो । पुरै भिआइपी सम्मान पाउनु भयो । धेरै वर्षपछि मलेसियन सरकारबाट त्यो खालको सम्मान र व्यवहार पाउँदा तपाईंलाई कस्तो अनुभूति भयो ?
वास्तवमै गौरवपूर्ण क्षण थियो त्यो । त्यो क्षणको पुनःस्मरण गराईदिनु भएकोमा प्रकाश भाइलाई पुन: धन्यवाद छ । त्यो बेला २००१ मा हाम्रो बटालियनबाट ले. क्रु.साहेबको नेतृत्वमा पाँच जना उत्कृष्ट रनरहरु माउण्ट किनाबलु पठायौं । त्यो अवसरमा जि.एम. साहेब र अरु कामण्डरहरु जान भ्याउनु भएन । मैले जाने अवसर पाएँ । हाम्रो टीमले म आउने कुरा त्यहाँ भनेको रहेछ । तपाईंले भने जस्तै भिआइपी ट्रिट गरे । त्यहाँ मैले पुरस्कार वितरण गरें । पुरस्कार वितरण गरिसकेपछि जानु पर्यो भनेर अनुमति मागेको थिएँ, उहाँहरुले हैन, तपाईंको प्लेनको समय हामी मिलाउँछौं, गाडीको व्यवस्था गरौंला भन्नुभयो । तपाईंले भन्नुभए जस्तै त्यहाँका नगरको प्रमुखदेखि पर्यटनमन्त्री, खेलकुदमन्त्री सँगै बसेर डिनर खाने मौका मिल्यो । साँच्चै मैले आफूलाई भाग्यशाली संझिन्छु । त्यो अवसर अब मैले कहिल्यै पनि पाउँदिन होला, साँच्चै अविष्मरणीय क्षण थियो त्यो ।
३५ वर्षसम्म निरन्तर चलेको माउन्ट किनाबालु ईन्टरनेसनल क्लाईम्बथन २०१७ मा अन्तिम हुन पुग्यो । आफूले इतिहास रचेको गेम नै बन्द हुँदा कस्तो लाग्यो ?
एकदम दुःख लाग्यो । मैले २०१८ मा थाहा पाएँ, यो चालु छैन भनेर । किन बन्द भयो भनेर मैले बुझ्ने प्रयास गरें, उनीहरुको बेवसाइडमा पनि खोजें, त्यो वर्ष त्यहाँ केही भएर पो बन्द भयो कि भनेर खोजें, तर कहीं भेट्टाउन सकेन । मैले मेरो र नेपालीको नाम राख्न सफल भएको थिएँ, त्यो कम्पिटीसन नहुँदा दुःख लागिरहेको छ तर मसँग कुनै उपाय छैन ।
तपाईंले डबल ओलम्पिक च्याम्पियन कर्णेल ड्याम क्यलीहोम्ससँग एउटै टीममा तालिम पनि गर्नु भयो । केका लागि, कहाँ तालिम गर्नुभयो ?
मेरो सैनिक जीवन सुरु भइसकेपछि आफ्नो बटालिएनको प्रतिनिधित्व गर्दै धेरै प्रतिष्पर्धाहरुमा सहभागी भएँ र मेरो बटालियनलाई एक नम्बरमा ल्याउन सफल भएँ । आर्मी क्रस कन्ट्री टीम एथलेटिक्स टिमहरुमा मैले भाग लिएँ ।
हङकङमा स्थानीयहरुसँग एउटा प्रतिष्पर्धा भएको थियो, त्यसमा हाम्रो आर्मीको प्रोफेसनल ट्रेनरहरुले हामीलाई तालिम गराएको थियो । कर्णेल क्यली होम्ससँगै तालिम गरेका थियौं । आ–आफ्ना विशेषज्ञहरुले हामीलाई ट्रेन गराउँथ्यो । हामी गोर्खालीहरु नेपालमा जन्मेर आफ्नै मिहेनतले ब्रिगेडकका थुप्रै बक्सरहरुदेखि ताइकण्डो, मार्सल आर्टस् प्रशिक्षकहरु भएर प्रशिक्षण दिइरहनुभएको छ । उहाँहरुको योगदानप्रति म गर्व गर्दछु । त्यो बेला नेपालीहरुबाट भाग्यवश म एउटा छनोट भएँ । १५०० मिटर र पाँच हजार मिटर गरी दुइटा प्रतिष्पर्धामा भाग लिने मौका पाएँ । हङकङमा दोस्रो र चाइनामा तेश्रो भएँ ।
संसारको सबैभन्दा उचाईमा हुने कठिन मानिने एभरेष्ट म्याराथन पनि कुदेर दोस्रो स्थानमा आउनु भो । माइनस २१ डिग्रीमा पाँच हजार मिटरभन्दा माथिको उचाईमा कुद्नु पर्छ । त्यो अन्तर्राष्ट्रिय गेममा पनि तपाईंले जितेर मेडल ल्याउनु भो, त्यसको अनुभव पनि बाँडिदिनु न ।
एभरेष्ट म्याराथुन १९८९ मा भाग लिएको थिएँ । यो चाहिँ संसारकै सबभन्दा उचाईमा हुने कठिन म्याराथन हो । यो भन्दा माथीको उचाईमा संसारमा कहीं पनि छैन । यसको सुरुवातको बिन्दु सगरमाथा बेस क्याम्पभन्दा अलि तल गोरक्ष भन्छ, कालापत्थर नजिक हो । त्यो भन्दा माथि चिया पसल पनि छैन । गोरक्ष नै अन्तिम चिया पसल हो । आफैं टेन्ट लिएर जानु पर्ने हुन्छ । त्यो बेलामा मैले अरु दुईवटा म्याराथन दौडिसकेको थिएँ । राम्रो ट्रेनिङ पाएको थिए । त्यसपछि म नेपाल गएर जुन लन्डन म्याराथन हाम्रो बटालियनले राम्रोसँग व्यवस्थापन गरेको थियो । हामी नेपाली हाम्रो पल्टनको दस जनाले भाग लिएका थियौं । सत्र हजार फिट (पाँच हजार मिटर) बाट सुरुवात हुँदै नाम्चे बजार समापन बिन्दु हो । एकदम जाडो, झण्डै माइनस २१ डिग्रीमा दौडिनु पर्छ । त्यसमा आफ्नो एकसरो सामान बोकेको हुनुपर्छ । जस्तै, आउटर ग्लब, इनर ग्लब, हेड ओभर, बिबि ब्यागदेखि विण्ड फ्रुफ, सन ग्लास लगाएर आँखामात्र देखाएर दौडिनु पर्थ्यो । बिहान घाम लागेर एकदम टल्किने हुन्थ्यो । एकदम कठिन प्रतिष्पर्धा थियो । त्यसमा ज्याक माक्लान् भन्ने स्कटिस रनर थियो, संसारको १०–११ वटा विश्व रेकर्डहरु भएको, उहाँले जित्नुभयो । म उहाँभन्दा तीन मिनेटपछि पुगेको थिएँ । चार घण्टा दुई मिनेटमा मैले एभरेष्ट म्याराथन पूरा गरेको थिएँ । मेरो टीमको बिर्खा पुर्जा तेस्रो भएका थिए । उनी म भन्दा नौ, १० मिनेट पछाडि थिए ।
यस्तो कठिन प्रतिष्पर्धा पनि तपाईंले सजिलै जित्नु हुन्छ, के खानु हुन्छ ?
म पर्वत जिल्लाको चारभञ्ज्याङ, खाल्टेमा जम्मेको हुँ । मेरो प्राथमिक शिक्षा त्यही भएको हो र हाईस्कुल दरुङ शिरुबारी पन्चमूल श्री त्रिसहिद स्कुलबाट १० कक्षा पास गरेको हो । गाउँघरको त्यही बिहान बेलुकी उकाली ओराली हिँडेर नै सेनामा भर्ती भएँ । नेपालमा हामीले के खान्छौं भन्ने कुरा सबैलाई थाह नै छ । पछि यता आएर पनि सामान्य दाल, भात, मासु नै खाएर प्रतिष्पर्धामा भाग लिएको हुँ । नर्मल खाना, सुप र फलफूल खाएर नै प्रतिष्पर्धा गरेको हो ।
भनेपछि तपाईंको शरीर यस्ता कठिन प्रतिष्पर्धा गर्नका लागि डिजाइन गरेको भनेर बुझ्न सकिन्छ ?
हो, यो दौडको लागि चाहिँ अलिकति प्राकृतिक बरदान हुनै पर्छ । प्राकृतिक रुपमै बलियो भएन भने जति बनाए पनि हुनेवाला छैन । भन्नुपर्दा, मैले अलिकति जन्मसिद्ध नै पाएँ, त्यसमा आफ्नो मिहेनेतले गर्दा यो स्टेजमा आएँ जस्तो लाग्छ ।
तपाईंले १९८६ मा लन्डन म्याराथन नेपालका चर्चित धावक बैकुठ मानन्धरकै समयमा दुई घण्टा ३१ मिनेटमा पूरा गर्नु भयो । त्यस्तै म्याराथनहरुमा सहभागी हुनुभएको ठाउँ र समय याद छ भने बताइदिनुस् न ?
मैले १९८५–०८६ बेलायतमा बस्ने बेलामा तीनवटा म्याराथुन दौडिने मौका पाएको थिएँ । पेरिस म्याराथुन, लन्डन र ग्लास्गो । ग्लासको मैले दुई घण्टा ४९ मिनेटमा पूरा गरेको थिएँ, पेरिस हाफ म्याराथुन एक घण्टा छ मिनेट र फूल दुई घण्टा ४६ मिनेटमा पुरा गरेको थिएँ । त्यसपछि हङकङ, न्यूयोर्क, मकाउ म्याराथनमा भाग लिएको थिएँ । त्यो बेला तीन घण्टाभन्दा कम समयमा बाह्रवटा म्याराथनहरु सम्पन्न गरेको छु । हाफ म्याराथनको वेष्ट चाहिँ पेरिसको हो, एक घण्टा छ मिनेटको । २२ वटा जति फूल म्याराथन दौडेको छु । क्रसकन्ट्री त गणना नै छैन । लन्डन म्याराथन र कहिल्यै बिर्सिन नसक्ने आफ्नै देशमा भएको एभरेष्ट म्याराथन हो ।
अहिले तपाईं बेलायतमा सपरिवार सेवानिवृत्त जीवन बिताइरहनुभएको छ । अवश्य पनि तपाईंले विभिन्न च्यारिटीहरुमा उल्लेखनीय कामहरु गर्नुभएको छ । सहारा यूकेको उपाध्यक्ष पदमा पनि हुनुहुन्छ । तपाईंले गर्नुभएको उल्लेखनीय च्यारिटीहरु के के छन् ?
अवकाशपछि मैले ठुल्ठूला संस्थाहरुमा आबद्ध भएर काम गरेँ । म चारभञ्ज्याङको एउटा सदस्यको रुपमा २०१५ सालमा गाउँमा स्थापना भएको टेली मेडिसिन अक्षय कोषको लागि ग्रेट साउथ रन दौडेर हामी पाँच जनाको टीमले पाएको रकमबाट २१ सय पाउन्ड दिने मौका पायो । दोस्रो, सहारा पोखराको पवित्र उद्देश्यलाई सहकार्य गर्दै अगाडि बढिरहेका छौं । त्यसमा संस्थापक अध्यक्ष नविन गुरुङज्यू, दिलीपज्यू, मीन गुरुङज्यू र अहिले कुमार गुरुङहरुले जग्गा किन्नेदेखि घर बनाउने र अक्षय कोष निर्माण गर्ने कामहरु गरिरहनु भएको छ । आफू आबद्ध भएको संस्थाले झण्डै ७० लाखको जति सहयोग गरिसकेको अवस्था छ ।
अध्यक्ष र मैले २०१८ मा झण्डै चार हजार पाउन्ड संकलन गर्यौं । यूकेमा हरेक वर्ष च्यारिटी डिनर गर्छौं । त्यो वर्ष २०१८ को च्यारिटी डिनरबाट पनि अलिकति जम्मा गरेर सात हजार पाउन्ड अक्षय कोषका लागि गएको वर्ष हामीले हस्तान्तरण गर्यौं । यसमा अति खुसी छु । अरु पनि स–साना थुप्रै कार्यहरुमा जोडिरहेका छौं ।