काठमाडौं । २०६४ चैतमा भएको संविधानसभा निर्वाचनमा नेकपा (माओवादी) सबैभन्दा ठूलो दल बन्यो । २०६५ भदौमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । नेकपा एमाले र तत्कालीन मधेसी जनअधिकार फोरमको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा माओवादीका तर्फबाट बाबुराम भट्टराई, रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरूङ, मातृका यादव, हिसिला यमी, पम्फा भुसाल, गोपाल किराती, लेखराज भट्ट, जनार्दन शर्मा मन्त्री बन्नुभएको थियो ।
प्रधानसेनापति रूक्मांगद कटुवाल प्रकरणका कारण प्रचण्डले २०६६ वैशाखमा राजीनामा दिनुभयो । २०६६ जेठमा तत्कालीन एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुभयो । त्यसपछि २० महिना माओवादी प्रतिपक्षमा रह्यो ।
२०६७ माघमा माओवादी समर्थनमा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बन्नुभयो । त्यो सरकारमा पटक-पटक गरेर माओवादीबाट नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, वर्षमान पुन, अग्नि सापकोटा, शक्तिबहादुर बस्नेत, खड्गबहादुर विश्वकर्मा, जयपुरी घर्ती, प्रभु साह, पोष्टबहादुर बोगटी, पम्फा भुसाल, लोकेन्द्र विष्ट, विश्वनाथ साह, हितबहादुर तामाङ, ओनसरी घर्ती, देवी खड्का, धर्मशिला चापागाई सहभागी हुनुभएको थियो ।
२०६८ असोजमा माओवादीका तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्यो । नेपाली कांग्रेस र एमालेलाई बाहिर राखेर तराई केन्द्रित दलहरूको समर्थनमा भट्टराई सरकार बनेको थियो । त्यो सरकारमा माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, टोपबहादुर रायमाझी, वर्षमान पुन, दिनानाथ शर्मा, लोकेन्द्र विष्ट, गोपाल किराती, लेखराज भट्ट, प्रभु साह, भीमप्रसाद गौतम, रामकुमार यादव, कमला रोक्का, कल्पना धमला, सत्या पहाडी मन्त्री बन्नुभएको थियो । त्यस्तै दीलिप महर्जन, सूर्यमान दोङ, लिला भण्डारी, गोपी अछामी, ज्वाला साह, सुष्मा शर्मा, हिराराज लिम्बु, सुनिताकुमारी महतो राज्यमन्त्री बन्नुभएको थियो ।
२०६९ मा संविधानसभा विघटन भएपछि २०६९ चैतमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गैरदलीय सरकार बन्यो । त्यो सरकारमा समेत माओवादीका दुई जना प्रतिनिधि मन्त्री बनेका थिए।
२०७० मंसिरमा भएको दोस्रो संविधानसभा चुनावमा माओवादी तेस्रो दल बन्न पुग्यो । २०७० माघमा कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो । त्यो सरकारमा भने माओवादी सहभागी भएन । २०७२ असोजमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो । त्यो सरकारमा माओवादीका ७ जना मन्त्री थिए । टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल, रेखा शर्मा, उमेश यादव र गणेशमान पुन मन्त्री बन्नुभएको थियो ।
ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दै २०७३ साउनमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्न सफल हुनुभयो । त्यो सरकारमा माओवादीका तर्फबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा, गौरीशंकर चौधरी, दलजित श्रीपाली, हितराज पाण्डे, सुरेन्द्रकुमार कार्की, धनिराम पौडेल, अजयशंकर नायक मन्त्री बनेका थिए । त्यस्तै श्रीप्रसाद जवेगु, सत्यानारायण मण्डल, राधिका तामाङ, धनमाया बिकलगायत राज्यमन्त्री बन्नुभएको थियो ।
२०७४ जेठमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो भने मन्त्री र राज्यमन्त्री गरी माओवादीका १७ जना सरकारमा सहभागी हुनुभयो । देउवा सरकारमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु साह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार चौधरी मन्त्री बन्नुभएको थियो ।
त्यस्तै मोहम्मद जाकिर हुसेन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, शम्भुलाल श्रेष्ठ, कर्णबहादुर बिक, छमबहादुर गुरूङ, गोमा कुँवर र वाङ्दी शेर्पा राज्यमन्त्री बन्नुभएको थियो ।
देउवा नेतृत्वको सरकारमा भएकै बेला २०७४ असोजमा एमाले र माओवादीबीच चुनावी गठबन्धन भएपछि देउवाले माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोस्नुभएको थियो । राज्यमन्त्री बन्नुभएका शम्भुलाल श्रेष्ठ कांग्रेस प्रवेश गरेर मन्त्री बन्नभएको थियो ।
२०७४ को निर्वाचनपछि २०७४ फागुन ३ गते केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो । त्यो सरकारमा पटक/पटक गरेर माओवादीका तर्फबाट रामबहादुर थापा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, लेखराज भट्ट, शक्तिबहादुर बस्नेत, चक्रपाणी खनाल, बिना मगर, मातृका यादव, रामेश्वरराय मन्त्री बन्नुभएको थियो । त्यस्तै रामकुमारी चौधरी राज्यमन्त्री बन्नुभएको थियो ।
२०७५ जेठ ३ गते एमाले र माओवादी एकता भएर नेकपा गठन भयो । पार्टीभित्रको विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभयो । प्रतिनिधिसभा विघटन गरेसँगै माओवादीका ५ मन्त्रीले राजीनामा दिनुभयो । तर रामबहादुर थापा र लेखराज भट्ट सरकारमै रहनुभयो ।
२०७७ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्यो । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी एकता भंग गरिदियो । त्यसपछि पनि माओवादी पक्षधर मन्त्रीहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, दावा तामाङ, गौरीशंकर चौधरी र प्रभु साह ओली सरकारमा रहिरहनुभयो ।
२०७८ वैशाख ३१ गते ओलीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनुभयो । यो सरकारमा भने माओवादी सहभागी भएन । २०७८ असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो भने सरकारमा माओवादीका १ राज्यमन्त्रीसहित ६ जना मन्त्री थिए ।
देउवा सरकारमा पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री हुनुभएको थियो । बोधमायाकुमारी यादव राज्यमन्त्री बन्नुभयो ।
२०७९ पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार निर्माण भएको छ । पुस ११ गते गठन र माघ ३ गते सरकार विस्तारसम्ममा माओवादीबाट १ उपप्रधानमन्त्री, ३ मन्त्री र १ राज्य मन्त्री पुगेको छ । अहिले नारायणकाजी श्रेष्ठ, रेखा शर्मा, सुदन किराती
अमनलाल मोदी मन्त्री र सुशीला सिर्पाली ठकुरी राज्यमन्त्री बन्नुभएको छ ।
११ पटक सरकारमा सहभागी हुँदा तामाङ समुदायबाट दुई जना फुलमन्त्री र दुई राज्यमन्त्री बाहेक अवसर पाएका छैनन् । २०६७ मा छोटो कार्यकाल हितबहादुर तामाङ युवा तथा खेलकुदमन्त्री, २०६८ मा सूर्यमान दोङ उर्जा राज्यमन्त्री र २०७३ राधिका तामाङ कृषि राज्यमन्त्री बन्नुभएको थियो ।