काठमाडौं । नेपालको वैदेशिक व्यापारमा आएको गिरावटका कारण राजस्व संकलनमा गम्भीर चाप परेको छ । चालू आर्थिक वर्षका ७ महिनासम्ममा कुल वैदेशिक व्यापारमा २०.८४ प्रतिशतले गिरावट आएको छ । यो अवधिमा राजस्व संकलनमा पनि १५ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।
चालू आर्थिक वर्ष फागुन आधा सकिसक्दा सरकारी लक्ष्यको ३८ दशमलव ८ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा सरकारले लक्ष्यको ५४ दशमलव ७ प्रतिशत राजस्व संकलन गरिसकेको थियो ।
चालू आर्थिक वर्षका आठौं महिनाको आधा सकिदा अर्थात फागुन १२ गतेसम्मको तथ्यांकअनुसार सरकारी खातामा जम्मा ५ खर्ब ३५ अर्ब ७८ करोड ४३ लाख रूपैयाँ राजस्व संकलन भएको छ । सो अवधिमा सरकारले गरेको चालू खर्च मात्रै ५ खर्ब ५५ अर्ब ५७ करोड ५० लाख रूपैयाँ पुगेको छ ।
गत आर्थिक वर्ष सोही अवधिमा ६ खर्ब ३८ अर्ब ५१ करोड १८ लाख रूपैयाँ राजस्व संकलन भएको थियो भने सो अवधिमा सरकारले ५ खर्ब ७ अर्ब ३४ करोड ३९ लाख रूपैयाँ गरेको चालू खर्चबापत खर्च गरेको थियो ।
यो तथ्यांक केलाउँदा आयात केन्द्रित राजस्व भएकै कारण यो वर्ष सरकारले चालू खर्च धान्न नै धौ धौ परिरहेको देखिन्छ । सरकारले कर्मचारीको तलब र दैनिक खर्चका लागि पनि राजस्व उठाउन सकेको छैन । यसरी हेर्दा व्यापार घाटामा केही कमी आए पनि यो वर्ष राजस्वमा भने उच्च चाप परेको छ ।
तथ्यांअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा २० प्रतिशत घटेको छ । चालू आव २०७९/०८० को साउन देखि पुषसम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा डेढ खर्बभन्दा बढीले व्यापार घाटा घटेको छ ।
चालू आर्थिक वर्षको जेठसम्ममा नेपालले विभिन्न मुलुकबाट ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजार रुपैयाँ बराबरका मालबस्तु आयात गरेको छ भने सोही अवधिमा ८० अर्ब ८० करोड ७४ लाख २१ हजार रुपैयाँ बराबरको मालबस्तु विभिन्न देशमा निर्यात गरेको छ । समिक्षा अवधिमा नेपालको कूल राजश्ज संकलन १ खर्ब ८२ अर्ब ८४ करोड ४ लाख २५ हजार भएको छ भने व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रहेको छ ।
जति घाटा उती राजस्व !
चालू आर्थिक वर्षमा नेपालले व्यहोरेको व्यापार घाटामा भने कमी आएको छ । चालू आर्थिक वर्ष माघ महिनासम्ममा नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रूपैयाँ बराबरको मालबस्तु आयात गर्दा कूल व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रूपैयाँ व्यापार घाटा व्यहोरेको छ । सो अवधिमा नेपालले सबै भन्सार केन्द्रबाट २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख रूपैयाँ राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिमा (साउनदेखि माघ महिनासम्म) मा नेपालले ११ खर्ब ४७ अर्ब ४७ करोड ४४ लाख रूपैयाँ बराबरको मालबसतु आयात गर्दा कूल व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख भएको थियो । सो अवधिमा नेपालले भन्सार केन्द्रबाट संकलन गरेको राजस्व २ खर्ब ९३ अर्ब ६८ करोड ११ लाख थियो ।
गत आर्थिक वर्ष २०७८/०७९ भरीमा सबै भन्सार केन्द्रबाट ४ खर्ब ८२ अर्ब ४३ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो । उक्त राजस्व कुल राजस्वको करिब ४६ प्रतिशत छ । सो आर्थिक वर्षमा सरकारले कूल १० खर्ब ५९ अर्ब ५३ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो ।
पछिल्ला केही वर्षको तथ्यांक हेर्दा कुल राजस्वको ३५ देखि ५० प्रतिशत राजस्व भन्सार विन्दुबाट संकलन हुने गरेको देखिन्छ । निर्यात व्यापारमा राजस्व नलाग्ने हुँदा जति धेरै आयात हुन्छ त्यति धेरै राजस्व संकलन हुन्छ ।